एमाले भर्सेस कांग्रेस : सुर्खेतका चुनावी कार्यक्रममा रक्सीका ग्यालेन र दोहोरी साँझको ‘बात’
सारांश
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसको समर्थनमा मुख्यमन्त्री भएर पनि कांग्रेसको आलोचना गरेका छन्।
- कँडेलले कांग्रेसले रक्सीको ग्यालेन लिएर सुकुम्बासी बस्तीमा जाने गरेको टिप्पणी गरेपछि कांग्रेस नेताहरूले प्रतिवाद गरेका छन्।
- कांग्रेस नेताहरूले एमाले नेताहरूले पनि रक्सी खाएको प्रमाण रहेको भन्दै मुख्यमन्त्रीको आलोचना गरे।
सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कँडेल नेपाली कांग्रेसको समर्थनमा यतिबेला कर्णाली सरकारको मुख्यमन्त्री छन् । अघिल्लो वर्ष सत्ता सञ्चालनमा कांग्रेस-एमालेबिच केही विवाद थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले समर्थन फिर्ता लिनेसम्मका चेतावनी दिएका थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि कांग्रेसले सरकारमाथि न प्रश्न उठाएको छ, न कुनै विवाद नै । तर मुख्यमन्त्री यामलाल कँडेल भने खुलेर कांग्रेसमाथि टिप्पणी गर्न थालेका छन् ।
सुर्खेत-२ मा उनी निकट कुलमणि देवकोटा एमालेबाट उम्मेदवार छन् । देवकोटाका हरेकजसो चुनावी कार्यक्रममा मुख्यमन्त्री कँडेल सहभागी हुन्छन् । एमाले कर्णालीको चुनावी कमान्डर समेत रहेकाले उनी एमालेतर्फ जनमत आकर्षित गर्न र उम्मेदवार जिताउन तम्सिएका छन् । ती कार्यक्रमहरुमा पुग्दा उनका हरेक भाषणहरुमा प्रमुख आलोचनाको केन्द्रमा हुन्छन् नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।
विशेषगरी कांग्रेसकै समर्थनमा प्रदेश सरकारको नेतृत्व गरिरहेका कँडेलले एक पुरानो प्रसंग झिकेर चुनावमा कांग्रेसले रक्सीको ग्यालेन लिएर सुकुम्बासी बस्तीमा जाने गरेको टिप्पणी गरे ।
‘अहिले त यस्तो छैन, तपाईंलाई सुनाऊँ । ४९ सालतिर हामीले चुनाव लड्दा सुकुम्बासी बस्ती भएको ठाउँमा, वनको किनारमा बसेको बस्तीको ठाउँमा कांग्रेस नाम गरेको पार्टीले विचार लिएर होइन, सिद्धान्त लिएर होइन, रक्सीको ग्यालेन लिएर जान्थ्यो,’ उनले दाबी गरे ।
उक्त ग्यालेन खोस्नका लागि प्रतिस्पर्धा नै हुने गरेको सार्वजनिक भिडिओमा उल्लेख छ । उक्त भिडिओ वीरेन्द्रनगरभित्रकै एक चुनावी कार्यक्रमको हो ।
उनले अगाडि भने, ‘अहिले त जनता सबै चेतिएका हुनाले ग्यालेन देखिने गरी बोक्दैनन्, अहिले पैसा बाँड्न हिँडिरहनु पर्दैन, तपाईंको मोबाइलमै पैसा आउने व्यवस्था भइसक्यो ।’ उनले किनबेचको वस्तुका रूपमा मतदानलाई लिने चलन रहेको उल्लेख गरेका थिए ।
उनको उक्त टिप्पणी सार्वजनिक भएसँगै कतिपय कांग्रेस कर्णालीका नेताहरु चकित परे । उक्त कुरा सेलाउन नपाउँदै वीरेन्द्रनगरकै अर्को चुनावी कार्यक्रममा कांग्रेस लक्षित कँडेलको टिप्पणी आयो ।
‘अर्को कांग्रेस पार्टी छ अहिले धेरै भन्नु हुन्न, कांग्रेस पार्टीका जेनजीहरुले त्यही कांग्रेस पार्टी कब्जा गरे, शेरबहादुर देउवा, हाम्रो जिल्लाको पूर्णबहादुर खड्का कांग्रेसका जेनजीहरूले हामीलाई अपदस्थ गरेर भनेर अदालत मुद्दा गएको पार्टीले के गर्छ ? केही भन्नुपर्ने जरुरी आवश्यकता देख्दिनँ ।’
कँडेलले कांग्रेस अहिले एमालेजस्तो सडकमा नआएको बताए । ‘सबै कांग्रेसजनहरू एमाले जस्तै सडकमा निस्केर रुख चिह्नकै प्रचार गर्नुस् म आपत्ति ठान्दिन,’ उनले भनेका छन्, ‘त्यसको अभियानले हाम्रो संविधानको रक्षा हुन्छ, गणतन्त्रको रक्षा हुन्छ । त्यो दायित्व र कर्तव्य एमालेको मात्रै होइन, त्यो दायित्व र कर्तव्य कांग्रेसको पनि हो ।’
आफ्नै समर्थनमा मुख्यमन्त्री रहेका कँडेलले सार्वजनिक मञ्चमा कांग्रेसमाथि टिप्पणी गरेपछि बिहीबार आयोजित कांग्रेसको प्रदेशस्तरीय चुनावी आमसभामा कांग्रेसबाट सुर्खेतका दुई क्षेत्रमा उम्मेदवार बनेका विष्णुकुमार खड्का र नारायण कोइरालाले काउन्टर जवाफ दिए ।
कांग्रेस सुर्खेतका उपसभापति समेत रहेका सुर्खेत—१ का उम्मेदवार खड्काले कडा प्रतिवाद गरे । एमालेकै नेता सांसद बनेर काठमाडौँका दोहोरी साँझहरुमा रक्सीले पल्टिएको प्रमाण आफूसँग रहेको बताए । उक्त प्रमाण देखाउन नपरोस् भन्दै खड्काले चेतावनी नै दिए ।
‘मुख्यमन्त्रीले विभिन्न खालका आरोप लगाउनु भाछ, एउटा कुरा तपार्इंले के बुझ्नुस् भने कांग्रेसकै समर्थनमा मुख्यमन्त्री हुनुहुन्छ,’ उनले कँडेललाई भने, ‘जुन खालका अपशब्द प्रयोग गरेर कांग्रेसका व्यक्तिहरुले जर्किनमा रक्सी बोकेर हिँडेको भन्नुभयो, एमालेका विगतमा जितेर सांसद बनाएर पठाउँदा खेरि काठमाडौँको दोहोरी रेस्टुरेन्टमा नाचेर, रक्सी खाएर पल्टेको पनि हामीसँग प्रमाण छ ।’
‘त्यो प्रमाण हामीले खुला गर्न नपरोस्,’ उनले चेतावनी दिए । उनले उक्त सङ्केत सुर्खेतबाट नै चुनाव जितेर सांसद बनेकाप्रति लक्षित भए पनि नाम भने खुलाएनन् । बरू मुख्यमन्त्रीले यस्ता ‘अपशब्द’ प्रयोग नगर्न र मुख्यमन्त्रीको मर्यादामा बस्न आग्रह गरे । ‘यस्तो खालका कुराले तपाईंले चुनावमा जनतालाई भड्काउने अवस्था छैन,’ उनले भने ।
लामो समय एमालेले नेतृत्व गरेको सुर्खेत उपत्यका खानेपानी संस्थामाथि प्रश्न उठाउँदै उनले झुप्रा खानेपानी कसरी बन्द भयो ? त्यो आफूहरुले बुझेको बताए ।
क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार रहेका नारायण कोइरालाले पनि कँडेलमाथि उल्टै प्रश्न उठाए । ‘एक जना मुख्यमन्त्री हुनुहुन्छ, ग्यालेनका कुरा धेरै गर्नुहुन्छ, ग्यालेनको जिम्मा तपाईंहरुको हो, तपाईं बोक्नुस्,’ उनले भने, ‘अरुलाई अपमान गर्ने जिम्मा तपाईंको नेताको हो, तपाईंहरुको हो, हामी सबैको सम्मान गर्छौं ।’
कांग्रेसप्रति किन आक्रामक कँडेल ?
विगतमा कांग्रेस-एमालेबिच केन्द्रमा भएको गठबन्धन सम्झौता अनुसार कर्णालीमा कांग्रेसको समर्थनमा कँडेल मुख्यमन्त्री छन् । प्रदेशमा कुनै छुट्टै सम्झौता छैन । केन्द्रीय सम्झौता अनुसार कँडेल चैत महिनासम्म सरकारको नेतृत्वमा रहनेछन् । त्यसपछि कांग्रेसले नेतृत्व लिनेछ । तर जेनजी आन्दोलनपछि केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भइसकेपछि प्रदेशमा त्यसको औचित्य नरहेको उनले ठानेको देखिन्छ ।
एमालेका एक सांसदले नाम नखुलाउने सर्तमा भने, ‘जनमत प्रभावित गर्न उहाँले सार्वजनिक मञ्चमा कांग्रेसप्रति टिप्पणी गर्दा केही फरक पर्दैन, कांग्रेसले निहुँ खोजे, नेकपा छँदै छ नि ।’
कांग्रेसका एक सांसदले चुनावपछि सरकारको नेतृत्व र कँडेलको भनाइप्रति छलफल गर्नुपर्ने बताए । ‘अहिले हामी सबै चुनावमा छौँ, उहाँले पनि चुनावी मैदानमा जाँदा कसको समर्थनमा मुख्यमन्त्री छु भन्ने कुरा बिर्से जस्तो छ,’ ती सांसदले भने, ‘प्रतिनिधिसभाको चुनावपछि छलफल हुन्छ होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
-
इराकविरुद्ध फ्रान्सको गोल वर्षा
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण