बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सौतेनी आमा भित्र्याउन बाबुले ‘खुत्रुके’ रित्याएपछि १० वर्षीय बालक पुगे अदालत

आइतबार, १७ फागुन २०८२, १६ : ०९
आइतबार, १७ फागुन २०८२

सारांश

  • झेङझाउका एक १० वर्षीय बालकले बाबुविरुद्ध मुद्दा हालेर आफ्नो बचत फिर्ता पाए।
  • बाबुले छोराको खाताबाट रकम निकालेर दोस्रो विवाहमा खर्च गरेपछि विवाद भएको थियो।
  • अदालतले बाबुलाई रकम फिर्ता गर्न आदेश दिँदै छोराको सम्पत्तिमा हस्तक्षेप गर्न नमिल्ने फैसला सुनायो।

झेङझाउ । चीनको झेङझाउ सहरका एक १० वर्षीय बालक सियाओहुईले आफ्नै बाबुविरुद्ध अदालतमा मुद्दा हालेर आफ्नो बचत फिर्ता लिन सफल भएका छन्। 

बाबुले छोराको मन्जुरीविना उसको बैंक खातामा रहेको सबै रकम आफ्नै दोस्रो विवाहमा खर्च गरेपछि यो विवाद कानुनी कठघरासम्म पुगेको हो। यो घटनाले अहिले चिनियाँ सामाजिक सञ्जालमा ठूलो बहस छेडिदिएको छ।

दुई वर्षअघि आमाबाबुको सम्बन्धविच्छेद भएपछि सियाओहुई आफ्ना बाबुसँग बस्दै आएका थिए। बाबुले छोराको नाममा बैंक खाता खोलिदिएका थिए, जहाँ बालकले नयाँ वर्षमा उपहारस्वरूप पाउने रातो खामको रकम र अन्य बचत जम्मा गरिन्थ्यो। तर, केही समयअघि बाबुले अर्की महिलासँग विवाह गर्ने निर्णय गरे र छोरालाई आमासँग बस्न पठाए।

छोरा आमाकोमा सरेपछि बाबुले बालकको खातामा रहेको ८० हजार युआनभन्दा बढी रकम निकालेर आफ्नो विवाहको भोज र अन्य खर्चमा प्रयोग गरेको खुलासा भयो। सियाओहुईले आफ्नो पैसा फिर्ता माग्दा बाबुले ‘यो पैसा परिवार र साथीभाइले दिएका हुन्, तिमी ठूलो भएपछि मात्र दिन्छु’ भन्दै टारेका थिए। पटक–पटकको प्रयास असफल भएपछि बालकले आफ्नै बाबुलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरे।

अदालतमा बाबुले छोराको संरक्षक भएको नाताले आफूले सो रकम चलाउन पाउनुपर्ने र यो मुद्दा पूर्वश्रीमतीको उक्साहटमा हालिएको दाबी गरेका थिए। तर, अदालतले बाबुको तर्कलाई अस्वीकार गरिदियो। अदालतले उपहारस्वरूप प्राप्त भएको रकम कानुनी रूपमा बालककै निजी सम्पत्ति हुने र संरक्षक भए पनि छोराको सम्पत्तिमाथि हस्तक्षेप गर्ने अधिकार बाबुलाई नहुने फैसला सुनायो।

अदालतले बाबुलाई छोराको सबै बचत र त्यसको ब्याजसहित कुल ८२ हजार ७५० युआन फिर्ता गर्न आदेश दिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप