बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ग्राउन्ड जिरो : चितवन-२

रास्वपाको उद्गमस्थलमै मूल नेतृत्वलाई धावा दिने प्रयासमा मीना

आइतबार, १७ फागुन २०८२, १८ : ००
आइतबार, १७ फागुन २०८२

सारांश

  • चितवन-२ मा रवि लामिछाने र मीना खरेलबीच प्रतिस्पर्धा रहेको छ, जसमा रास्वपाको प्रभाव देखिन्छ।
  • सर्वेक्षणले रविको जितको सम्भावना देखाए पनि कांग्रेसले प्रतिस्पर्धा दिने प्रयास गरिरहेको छ।
  • कांग्रेसले रवि लामिछानेको कानुनी अड्चनलाई चुनावी मुद्दा बनाइरहेको छ।

काठमाडौं । तनहुँको देवघाट धामबाट ठिमुराको पुल तरेपछि सुरू हुन्छ चितवन । स्थलगत रिपोर्टिङका क्रममा रातोपाटी पुग्दा झण्डै ६० वर्षका एकजना वृद्ध (नाम उल्लेख नगरिएको) आफ्नो खेतमा फलाएको तरकारी बजार लैजाने तरखर गर्दै थिए । निर्वाचनको माहोलबारे बुझ्दा उनले भने, ‘यहाँ धेरैले घण्टी घण्टी भन्छन्, म चाहिँ मीनालाई भोट दिने हो ।

भरतपुर महानगरपालिकामा पर्ने यो ठाउँ चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यो क्षेत्रमा रातोपाटीले सर्वेक्षण गरेको पहिलो व्यक्ति थिए उनी । मीनाको व्यक्तित्व र योगदानका कारण भोट दिने उनको भनाइ छ ।

देशव्यापी रूपमा लहर देखिएको दल रास्वपाको उद्गम भूमि हो चितवन-२ । अहिले देशका बहुसंख्यक निर्वाचन क्षेत्रमा जित्न सक्ने व्यक्तिको सूचीमा रास्वपाकै उम्मेदवारको नाम आउँछ । उम्मेदवार नचिन्ने उम्मेदवारहरूले समेत ‘घण्टी’को नाम लिने गरेको देखिन्छ । र, यो लहर ल्याउन योगदान गर्ने मुख्य व्यक्ति हुन्– रवि लामिछाने ।  

तर यिनै रवि लामिछानेलाई उनकै निर्वाचन क्षेत्रमा चुनौती बनिरहेकी छिन् मीना खरेल । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी ५३ वर्षीय खरेललाई अहिले मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । यद्यपि सर्वेक्षणले यही अवस्थामा मीनाको जित भने कठिन देखाएको छ । 

यो निर्वाचन क्षेत्र अन्तर्गत भरतपुरको रामनगर, क्षेत्रपुर, पुल्चोक, हाकिमचोक लगायत बजार, इच्छाकामनाको मुग्लिन, फिस्लिङ, कुरिनटार तथा कालिकाको आँपटारी, जुटपानी, पदमपुर, शक्तिखोर लगायत बजार क्षेत्रका स्थानीय मतदातासँग सर्वेक्षण गरिएको थियो । 

यस क्रममा हामीले करिब २०० जनासँग व्यक्तिगत धारणा र सम्बन्धित क्षेत्रको चुनावी माहोलबारे सोधेका थियौं । सर्वेक्षणले यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकै वर्चस्व देखिन्छ । यसका बाबजुद कांग्रेसले आफूलाई प्रतिस्पर्धीको रूपमा उभ्याउन सक्ने अवस्था देखिएको छ ।

यो क्षेत्रमा रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार छन् । कांग्रेसबाट मीनाकुमारी खरेल, एमालेबाट अस्मिन घिमिरे तथा नेपाली कम्युनिस्ट पार्टीबाट प्रताप गुरूङ लगायत २३ जना उम्मेदवार छन् । सर्वेक्षणमा करिब ६० प्रतिशत उम्मेदवारले रविलाई भोट हाल्छु भनेका छन् । 

सहभागीमध्ये ३० प्रतिशतले मीनालाई भोट हाल्ने बताएका छन् भने झण्डै १० प्रतिशतले अरू दल र उम्मेदवारको नाम लिएका छन् । रविलाई भोट हाल्दिनँ भन्नेमध्ये पनि धेरैले जित चाहिँ उनकै हुने अनुमान गरेका छन् । 

महानगर क्षेत्रमा रविको क्रेज कमजोर

चितवन-२ मा भरतपुर महानगरका १० वटा वडा पर्छन् । तुलनात्मक रूपमा अरू क्षेत्रभन्दा महानगर क्षेत्रमा रविको क्रेज केही कमजोर देखिएको छ । यहाँ पनि रविलाई नै भोट हाल्छु भन्नेको संख्या धेरै छ, तर मतदातामा अरूले नजित्ने भएकाले उनलाई भोट दिने मनोविज्ञान देखिन्छ । 

इच्छाकामना र कालिका क्षेत्रमा भने रविप्रतिको क्रेज अहिले पनि उत्तिकै देखिन्छ । हामीसँग सम्पर्कमा आएका धेरैले रविलाई 'काम गर्न नदिइएको', 'फसाइएको' जस्ता तर्क गरेका थिए । यहाँका करिब ७० प्रतिशत मतदाताले रविलाई भोट हाल्ने बताएका छन् । 

मतदाता रिझाउन मीनामा तीन रणनीति

कांग्रेस उम्मेदवार मीनाले चितवन–२ मा आफ्नो प्रभाव विस्तार गर्न मुख्यतया तीनवटा रणनीति लिएकी छिन् । पहिलो, उनको व्यक्तित्व र विगतको कामको प्रचार । दोस्रो, कांग्रेसमा देखिएको सुधारको मार्केटिङ । तेस्रो, रवि लामिछानेको प्रकरण र पुनः मतदानको सम्भावना ।

मीना आफैँमा स्थानीय समाजसेवी हुन् । ५३ वर्षीय उनी लामो समयदेखि महिला हिंसा लगायत सामाजिक विसंगतिविरूद्ध क्रियाशील छिन् । पञ्चायतकालदेखि नै पार्टी राजनीतिमा संलग्न भएकी त्यतिबेलै विद्यालय शुल्क घटाउने आन्दोलनमा सहभागी समेत थिइन् । आफ्नो यही पहिचान र व्यक्तिगत सम्बन्धलाई उनले मतदाता रिझाउन प्रयोग गरेकी छिन् । मीनालाई भोट दिन्छु भन्ने मतादाताले समेत उनको व्यक्तित्व र योगदानलाई स्मरण गरेको पाइएको छ । 

मीनाले अहिले कांग्रेसभित्र देखिएको सुधारलाई राम्रोसँग प्रचार गरिरहेकी छिन् । पुस २७ देखि माघ १ गतेसम्म भएको विशेष महाधिवेशनले लिएको नयाँ नीति र नेतृत्वले देशलाई परिवर्तन गर्नसक्ने भन्दै जनताको विश्वास दिलाउने प्रयास गरिरहेकी छिन् । विगतमा कांग्रेस परित्याग गरेर गएकाहरूलाई समेत उनले विश्वासमा ल्याउने प्रयास गरिरहेकी देखिन्छ ।

यद्यपि, मतदाता सर्भेक्षणमा कांग्रेसभित्रको नेतृत्व परिवर्तनको प्रभाव कमजोर देखिएको छ । कांग्रेसलाई भोट हाल्छु भन्नेमध्ये पनि निकै कमले मात्रै यो विषय उल्लेख गरेको पाइएको छ ।

रास्वपा सभापति रवि लामिछानेमाथि लागेको आरोपका कारण निर्वाचित भए पनि संसद्मा सहभागी हुन नपाउने र दोषी प्रमाणित भएको अवस्थामा सांसद पद नै खारेज हुनसक्ने भन्ने विषयलाई कांग्रेसले प्रमुख हतियार बनाएको छ । यो विषयले जबरजस्त प्रभाव राखेको समेत देखिन्छ । हाम्रो सर्वेक्षणमा ‘कांग्रेसलाई मत दिन्छु’ भनेका मतदातामध्ये धेरैले रविको यो कमजोरीलाई उल्लेख गरेका छन् ।

रविको दोहोरो शक्ति : विगतको मतान्तर र राष्ट्रिय लहर

रविले भने यो क्षेत्रलाई सजिलोसँग लिएको देखिन्छ । यसका पछाडि दुई कारण छन्- पहिलो विगतको मतान्तर । र, दोस्रो राष्ट्रिय लहर ।

२०७९ सालको निर्वाचनमा ४९ हजार ३०० मत ल्याएर चुनाव जितेका रविले कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठसँग ३४ हजार ३१२ मतान्तर कायम गरेका थिए ।

नागरिकता प्रकरणपछि दोस्रोपटक भएको उपनिर्वाचनमा यो मतान्तर झनै बढ्यो । रविले यो मत बढाएर ५४ हजार १७६ पुर्‍याए । जबकि दोस्रो भएका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको ११ हजार २१४ मत मात्रै आएको थियो । अर्थात्, उपनिर्वाचनमा रविले मतान्तरलाई बढाएर ४२ हजार ९६२ पुर्‍याएका थिए । 

अघिल्लो पटकको यो मतान्तरका कारण रविले आफूलाई यो क्षेत्रमा निकै सहज महसुस गरेको देखिन्छ । खासगरी अन्य दलका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा अत्यधिक केन्द्रित हुँदा रवि भने बेलाबेलामा मात्रै त्यहाँ पुग्ने गरेका छन्, घरदैलोमा खासै नहिँड्ने गरेका उनले समय-समयमा पुगेर कोणसभालाई सम्बोधन गर्ने रणनीति लिएका छन् । उनको सट्टा चितवन जिल्ला सभापति कृष्णप्रसाद भुसालले घरदैलोको नेतृत्व गर्दै आएका छन् । 

रविले यसपटक आफ्नो क्षेत्रमा ‘थ्रेट’ महसुस नगर्नुको अर्को कारण भनेको राष्ट्रिय रुपमा देखिएको रास्वपाको लहर हो । रास्वपाले देशभरमा १५१ सिट ल्याउने लक्ष्य राखेको मात्रै छैन, विभिन्न सर्वेक्षणले पनि रास्वपा सबैभन्दा ठुलो दल बन्ने देखाएका छन् । यो अवस्थामा रविलाई आफ्नै क्षेत्रमा हार्नुपर्ला भन्नेमा खासै चिन्ता देखिँदैन । 

त्यसो त मुख्य प्रतिस्पर्धी कांग्रेसले यो क्षेत्रलाई आफूले जित्नसक्ने सम्भावित क्षेत्रको सूचीमा राखेको छैन । तर यसपटक मतान्तरलाई १० हजारभन्दा तल झारेर राष्ट्रिय रुपमा देखिएको रास्वपाको लहरलाई रविको क्षेत्रबाट धक्का दिने प्रयास कांग्रेसले गरिरहेको पार्टीका स्थानीय नेताहरू बताउँछन् ।

अन्य उम्मेदवार भने ग्राउन्डमा देखिएका छैनन् । एमाले, नेकपा लगायतले परम्परागत मत जोगाउने प्रयास गरे पनि यसले जित हासिल गर्न वा कुनै उम्मेदवारको जित र हारका लागि निर्णायक बन्ने अवस्था चितवन-२ मा देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप