मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गोरखामा चुनावी समीकरण

कांग्रेसलाई प्रलोपाको समर्थनले गोरखामा कसलाई पर्ला असर ?

आइतबार, १७ फागुन २०८२, २० : १५
आइतबार, १७ फागुन २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टीले गोरखाका दुवै क्षेत्रमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ।
  • प्रलोपाको निर्णयअनुसार, गोरखा-१ मा प्रेम कुमार खत्री र गोरखा-२ मा प्रकाशचन्द्र दवाडीलाई समर्थन गरिनेछ।
  • विश्लेषकहरूका अनुसार प्रलोपाको समर्थनले खासै ठूलो प्रभाव पार्दैन, किनभने बाबुराम भट्टराईको व्यक्तित्वको मत अझै महत्त्वपूर्ण छ।

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखाको दुवै क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ ।

प्रलोपा गोरखा जिल्ला समितिले गोरखा–१ मा प्रेम कुमार खत्री र गोरखा–२ मा प्रकाशचन्द्र दवाडीलाई समर्थन गर्ने निर्णय गरेको थियो । प्रलोपा जिल्ला अध्यक्ष नारायण खत्रीले पार्टीको निर्णयअनुसार दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न आइतबार परिपत्र सार्वजनिक गरेको छ ।

‘हामीले अनवरत गरेका प्रयासहरूमा सकारात्मक रूपले सहयोग गर्नुपर्ने ठाउँमा नाटक मञ्चन गरिरहनुभएको छ । यस्ता हर्कतहरू नगर्न सम्बन्धित साथीहरूमा निर्देशन गर्दछु । निर्धक्कसँग हामीले गरेको निर्णयमा उभिन, निर्वाचन को प्रचारप्रसारमा लाग्नको लागि सिंगो पार्टी पंक्ति र मतदाताहरूमा अनुरोध गर्दछु,’ परिपत्रमा भनिएको छ ।

'आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा दुर्घटनावश गोरखा जिल्लामा प्रत्यक्षतर्फको उम्मेदवारी खाली भएको हुँदा जिल्लाका सबै पक्षसँग सघन छलफल गरी पार्टी पंक्तिलाई जानकारी गराइएको छ,' अध्यक्ष खत्रीले स्पष्ट पारे ।

‘साथीहरूसँग दशौँ पटक गहन छलफल गरी अनुमति लिएर जिल्लाका विभिन्न दलहरूसँग विभिन्न चरणमा गहन छलफल गरियो । खुला प्रकारले ती दलहरूसँग भएका विषयवस्तुहरू पार्टी पंक्तिमा संप्रेषण गरियो,’ उनले भने, ‘आफ्नो पार्टीको तर्फबाट उम्मेदवार नभएको हुँदा खुला रूपमा घोषणा गरेर नजाने तर यसपटकको प्रत्यक्ष तर्फको मतदान नेपाली कांग्रेसलाई गर्ने निर्णय भएको सत्य हो ।’

गोरखा–२ यसअघि प्रलोपाले पूर्वप्रधानमन्त्री तथा संरक्षक डा. बाबुराम भट्टराई र गोरखा–१ मा गोपालबाबु श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । तर माघ ९ गते भट्टराईले उम्मेदवारी फिर्ता लिएर प्रतिस्पर्धीलाई मैदान खाली गरिदिएका थिए । भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै गोरखा–१ का उम्मेदवार श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका थिए । भट्टराईको निर्णयप्रति प्रलोपाले असन्तुष्टि जनाएको थियो । उम्मेदवारी फिर्ता लिए पनि कुन दललाई समर्थन गर्ने भनेर निर्णय गरेको थिएन । यद्यपि कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयबारे भट्टराईलाई जानकारी भएको उनको सचिवालयले बताएको छ । उनका स्वकीय सचिव रेखी गुरुङले स्थानीय सापेक्षताको आधारमा तालमेल गर्ने पार्टी नीति रहेकाले स्थानीय समितिको निर्णमा हस्तक्षेप नहुने बताए ।  

‘पहिला डाक्टर सा’बले जिल्ला समितिको अनुरोधमा उम्मेदवारी फिर्ता लिनुभएको हो । अहिले पनि जिल्ला समितिले जे निर्णय गर्छ, त्यसमा उहाँले हस्तक्षेत्र गर्नुहुन्न । स्थानीय सापेक्षतामा तालमेल गर्न पाउने अधिकार तल्लो समितिलाई दिने पार्टीको नीति छ । त्यसमा केन्द्रले हस्तक्षेप गर्दैन भनेर निर्णय भएको छ । सोही अनुसार उहाँले निर्णयमा हस्तक्षेप गर्नुहुन्न,’ रातोपाटीसँग गुरुङले भने ।

तर गोरखा घर भएका राजनीतिक विश्लेषक यादव देवकोटा भने प्रलोपाले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरे पनि त्यसले खासै मत प्रभावित नहुने जिकिर गर्छन् । गोरखाको दुवै क्षेत्रमा प्रलोपको सांगठनिक भोटभन्दा पनि भट्टराईको व्यक्तित्वको मत धेरै रहेको उनी बताउँछन् । भट्टराई आफैले मैदान छाडेपछि पार्टीको निर्णय कार्यान्वयन हुनेमा देवकोटा विश्वस्त छैनन् । 

‘दुवै क्षेत्रमा प्रलोपाको निर्णायक मत छैन । बाबुराम आफै उठेका भए १०–१२ हजार मत ल्याउन सक्थे । पार्टी संगठन कमजोर छ, अर्कोतिर पार्टीले भन्दैमा सबैले भोट हाल्छन् भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘यो बेला सांगठनिक भोटभन्दा पनि स्विम भोटले प्रभावित भएको देखिन्छ । संगठन भोट हत्तपत्त स्विम हुँदैन । तटस्थ मतदाता जो मौन देखिएका छन्, ती जित/हारमा निर्णायक देखिएका छन् । ती मतदाता अहिलेसम्म खुलेका छैनन् ।’

देवकोटाका अनुसार गोरखाको दुवै क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उनी भन्छन्, ‘गोरखाको हकमा नेकपा, रास्वपा र कांग्रेसबिच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । गोरखा–२ मा नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा देखिन्छ । गोरखा–१ मा नेकपा बलियो देखिन्छ । अझै तीन दिन बाँकी रहेकाले तटस्थ मत प्रभावित हुन पनि सक्छ ।’

२०६२ सालमा तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४, २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री भट्टराईले निर्वाचन जितेका थिए । २०७९ सालको निर्वाचनमा उनकै प्रस्तावमा पूर्वप्रधानमन्त्री तथा साविक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मैदान खाली गरेका थिए ।

त्यतिबेला २६ हजार १०९ मत ल्याएर प्रचण्ड विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत प्राप्त गरेका थिए । एमालेका अब्दुस सलाम मियाले ७ हजार ३९५ मत पाएका थिए । राप्रपाका सुनील पन्तले एक हजार ८१३ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा प्रचण्डको व्यक्तित्व, कांग्रेस, एकीकृत समाजवादीको समर्थन र बाबुरामको सहयोगले माओवादीलाई चुनाव जित्न सहज भएको थियो ।

यसपटक पनि चुनावी मैदानमा रास्वपाले बुर्लाकोटीलाई नै उतारेको छ । साविका माओवादी केन्द्र हाल नेपाली कम्युनिस्ट पार्टी बौद्धिक नेता लेखनाथ न्यौपाने मैदानमा उत्रिएका छन् । एमालेले गुण्डा नाइकेको छवि बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई उम्मेदवार बनाएको छ । कांग्रेसले प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट कुलबहादुर बस्नेत मैदानमा उत्रिएका छन् ।

नेकपाका उम्मेदवार न्यौपाने युवा, बौद्धिक, निष्ठावान व्यक्तित्व भएकाले आम मतदातामाझ लोकप्रिय छन् । तर रास्वपाका उम्मेदवार बुर्लाकोटी बलिया उम्मेदवार रहेको र देशव्यापी जनलहरका कारण न्यौपानेले जित निकाल्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । भट्टराईकै उत्तराधिकारी रहेकाले समर्थन पाउने विश्वास लिएका न्यौपाने प्रलोपाको निर्णयले थप अप्ठ्यारोमा परेका छन् । तर विश्लेषक देवकोटा गोरखाका दुवै क्षेत्रमा प्रलोपाको मत एक हजार पनि नभएकाले खासै असर नपर्ने बताउँछन् ।

‘गोरखा–२ मा प्रलोपाको संगठित मत ५/६ सयको हाराहारी छ । गोरखा–१ मा ३/४ सय होला । पार्टीले निर्णय गर्दैमा त्यो भोट सबै कांग्रेसलाई जान्छ जस्तो मलाई लाग्दैन । चुनाव जित्न मौन मतदातालाई आकर्षित गर्नुपर्ने हुन्छ । ती मतदातालाई जसले प्रभाव पार्छ, त्यसकै पल्ला भारी हुने देखिन्छ,’ उनले भने ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ लोकप्रिय मत माओवादीले पाएको देखिएको छ । माओवादीले १९ हजार मत पाउँदा, कांग्रेसले ११ हजार ८८२, रास्वपाले ८ हजार ९९९, एमालेले ६ हजार १८५, राप्रपाले एक हजार ८४६ र एकीकृत समाजवादीले ३७० मत प्राप्त गरेको थियो ।

गोरखा–२ गोरखा नगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२, १३, १४, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका र अजिरकोट गाउँपालिका पर्छन् ।

यता गोरखा–१ अघिल्लो पटक भागबन्डा हुँदा कांग्रेसलाई परेको थियो । त्यतिबेला राजेन्द्र बजगाईं ३३ हजार ४२८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरेका थिए । रास्वपा सुर्वण रोकाहाले चार हजार ८९२, राप्रपाका उदय प्रसाद भट्टले ८५२ मत प्राप्त गरेका थिए ।

योपटक नेकपाले अनुभवी नेता हरिराज अधिकारीलाई मैदानमा उतारेको छ । एमालेले युवा नेता रामचन्द्र लामिछानेलाई उम्मेदवार बनाएको छ । कांग्रेसले प्रेम कुमार खत्रीलाई उम्मेदवार बनाएको छ भने रास्वपाले जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङलाई मैदानमा उतारेको छ । त्यस्तै राप्रपाले केदारमणि खनाललाई उम्मेदवार बनाएको छ ।

विश्लेषक देवकोटा गोरखा–१ मा नेकपाको माहोल राम्रो देख्छन् । 

‘गोरखा–१ मा नेकपा, रास्वपा र कांग्रेसबिच त्रिपक्षीय भिडन्तमा हरिराज अधिकारीको राम्रो माहोल देखिएको छ । चुनाव आउन अझै चार दिन बाँकी रहेकाले मतमा केही तलमाथि हुन पनि सक्छ,’ उनले भने ।

अघिल्लो पटक समानुपातिकतर्फ यस क्षेत्रमा माओवादीले नै लोकप्रिय मत पाएको थियो । १८ हजार ४७१ मतसहित माओवादी अगाडि हुँदा कांग्रेसले १५ हजार २७१, एमालेले ११ हजार ८९३, रास्वपाले ७ हजार २४६, राप्रपाले एक हजार ३४४ र एकीकृत समाजवादीले २२६ मत प्राप्त गरेको थियो ।

गोरखा–१ मा गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, भिमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप