सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रदेश प्रमुख सचिव यादव नेतृत्वको सुरक्षा टोली डोल्पामा

आइतबार, १७ फागुन २०८२, २२ : ५१
आइतबार, १७ फागुन २०८२

सारांश

  • कर्णाली प्रदेशका प्रमुख सचिव यादवको नेतृत्वको टोलीले डोल्पामा निर्वाचन सुरक्षाको अवस्था बुझेको छ।
  • निर्वाचनका लागि आवश्यक सामग्री र जनशक्ति हेलिकप्टरबाट मतदान केन्द्रमा पठाइएको छ ।
  • प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन तयारी समयमै सक्न निर्देशन दिइएको छ।

कर्णाली । कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव नेतृत्वको प्रदेश कमाण्ड पोस्ट तथा निर्वाचन सेलको टोली डोल्पा पुगेर निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको सुरक्षा तयारीको अनुगमन गर्न प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेल संयोजक समेत रहेका प्रमुख सचिव यादवसहित सुरक्षा निकायका प्रमुख सम्मिलित टोली डोल्पा पुगेको हो । डोल्पाका विभिन्न मतदानस्थलमा निर्वाचन कर्मचारी तथा मतपत्र नेपाली सेनाको हेलिकोप्टरबाट ओसार्ने काम भइरहेको उनले बताए ।

मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलता र जिल्लामा भइरहेको निर्वाचन तयारी कार्य सोमबारसम्म पुरा गर्न डोल्पाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रमुख सचिव यादवले बताए । माथिल्लो डोल्पाका मतदान केन्द्रहरूमा निर्वाचन सामग्री, कर्मचारी, सुरक्षाकर्मी शनिवारदेखि नै हेलिकप्टरबाट पठाउन थालिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

डोल्पा पुगेको टोलीमा प्रमुख सचिव यादव, नेपाली सेनाका उत्तरपश्चिम पृतनाका पृतनापति दिपेशजङ्ग शाह, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, सशस्त्र प्रहरी बलका प्रदेश निमित्त बाहिनीपति विनोदराज श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेशका निमित्त अनुसन्धान निर्देशक विष्णुमणि आचार्यलगायत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप