निर्वाचनको प्रभाव : धमाधम रोकिँदै फिल्म सुटिङ, कलाकार फर्किँदै घर
सारांश
- निर्वाचनका कारण आधा दर्जनभन्दा बढी नेपाली फिल्मको सुटिङ प्रभावित भएको छ, केहीको रोकिएको छ भने कतिपयले कार्यतालिका परिवर्तन गरेका छन्।
- निर्देशक नीर शाह, निखिल उप्रेती र रेखा थापासहितका कलाकारको फिल्म छायांकन निर्वाचनका कारण प्रभावित भएको छ, कतिपयले मतदानका लागि सुटिङ रोकेका छन्।
- निर्वाचनका कारण फिल्मको सुटिङ रोकिए पनि कलाकारहरूले मतदानलाई महत्त्व दिएका छन् र केहीले कार्यतालिका परिवर्तन गरेका छन्।
काठमाडौँ । देशमा चुनावी सरगर्मी बढेसँगै यसको प्रत्यक्ष प्रभाव नेपाली चलचित्र क्षेत्रमा देखिएको छ । निर्वाचनका कारण यतिबेला छायाङ्कनमा रहेका आधा दर्जनभन्दा बढी फिल्मको सुटिङ प्रभावित भएको छ । केही फिल्मको सुटिङ बिचैमा रोकिएको छ भने कतिपयले निर्वाचनकै कारण आफ्नो कार्यतालिका नै परिवर्तन गर्नुपरेको छ ।
नेपाली रजतपटका दिग्गज कलाकार तथा निर्देशक नीर शाहदेखि चल्तीका अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापासम्मका फिल्मको कामलाई निर्वाचनले प्रभावित पारेको छ । यस प्रभावलाई कतिपय फिल्मकर्मी देश निर्माणको महान् कार्यका अगाडि सामान्य ठान्छन् भने, कतिपयले आफू र आफ्ना सहकर्मीलाई निर्वाचनमा सहभागी गराउनकै लागि सुटिङ रोकेको बताएका छन् ।
नेपाली चलचित्र क्षेत्रका ‘भीष्म पितामह’ भनेर चिनिने वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्किएको फिल्म ‘कमला मिस’को यतिबेला ललितपुरको इमाडोलस्थित मिलेनियम स्कुलमा छायाङ्कन भइरहेको छ । विगत १७ दिनदेखि ललितपुरका विभिन्न स्थानमा छायांकनपछि मिलेनियम स्कुल पुगेको यस फिल्मको ७० प्रतिशत छायाङ्कन सकिएको छ । ‘वासुदेव’, ‘वसन्ती’ जस्ता क्लासिक फिल्म दिएका शाहका लागि यो फिल्म प्रतिष्ठाको विषय पनि हो । तैपनि उनले निर्वाचनका लागि दुई दिन सुटिङ रोक्ने निर्णय गरेका छन् ।
‘देशको नागरिक भएको नाताले चुनाव जस्तो महत्त्वपूर्ण प्रक्रियामा आफ्नो दायित्व निभाउनु मेरो कर्तव्य हो,’ उनी भन्छन्, ‘सुटिङ रोकिँदा खर्चमा केही भार पर्छ । तर निर्वाचनजस्तो महान् कार्यका अगाडि त्यो सामान्य हो ।’ सुटिङका केही दिन फेरि पनि गर्न सकिने तर निर्वाचन भने एक पटक सकिएपछि अर्को ५ वर्षपछि मात्र आउने भएकाले सुटिङ रोकेर होमिन लागेको शाहको भनाइ छ ।

३०० भन्दा बढी फिल्ममा अभिनय गरेका शाहले करिब एक दर्जन फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्म ‘कमला मिस’मा निर्देशक शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ र जयन्त रेग्मी मुख्य कलाकारका रूपमा छन् । यस पटक उनी नयाँ पुस्ताका कलाकारसँग काम गरिरहेका छन् । नयाँ पुस्ताका कलाकारहरूसँग काम गर्दाको उत्साहले आफूलाई झनै ऊर्जा दिएको उनी बताउँछन् । विजय मल्ल स्मृति प्रतिष्ठानद्वारा प्रस्तुत यस फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् ।
त्यस्तै, फिल्म ‘कार्की साइँला’को धनकुटाको सहिदभूमि गाउँपालिकामा सुटिङ भइरहेको छ । हास्य विधाबाट आफ्नो पहिचान बनाएका जितु नेपालको मुख्य भूमिका रहेको यस फिल्मको सुटिङ फागुन १२ गतेबाट सुरु भएको हो । फिल्मको ६० प्रतिशत काम सकिएको छ । यदि चुनाव नभइदिएको भए फिल्मको सुटिङ अबको पाँच–छ दिनमै सकिन्थ्यो । तर, जितुलगायत कलाकार मतदान गर्नकै लागि सुटिङ रोकेर काठमाडौँ फर्किने तयारीमा छन् ।
‘कलाकारका रूपमा सुटिङको बीचमा आउने–जाने गर्दा प्लेन टिकट र अन्य व्यवस्थापनमा नसोचेको खर्च त बढ्छ नै,’ जितुले भने, ‘तर चुनाव भनेको पाँच वर्षमा एकपटक आउने कुरा हो ।’ उनी खर्चभन्दा पनि मतदानको अधिकारलाई माथि राख्छन् ।
राजेन्द्र बस्नेत निर्देशक रहेको यस फिल्ममा जितुका अलावा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, डिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकार अभिनयरत छन् । सबै कलाकार सुटिङका लागि आ–आफ्नो ठाउँ फर्किनेछन् । कर्णबहादुर फिल्मस् प्रा. लि. को ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता बालकुमार राई हुन् ।

एक्सन स्टार निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलोपटक पर्दा साझेदारी गर्दै गरेको फिल्म ‘कस्तुरी’ पनि यतिबेला काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । ऋत बोहोरा निर्देशित यो फिल्म रहस्य र अपराधको कथामा आधारित छ । आइतबार नक्सालको एउटा कार्यालयमा छायाङ्कन भएको यस फिल्मको सोमबारबाट सुटिङ रोकिनेछ । यसको कारण होली र निर्वाचन दुवै हो ।
निर्वाचनका कारण यातायात लगायत विभिन्न क्षेत्र बन्द हुने भएकाले आफ्नो फिल्मको पनि बाध्य भएर सुटिङ रोकिने निखिलले बताए । निखिलको विचारमा नेपालको प्रणाली नै ‘बन्द’ गर्ने संस्कृतिमा रमेको छ ।

‘हाम्रो देशको प्रणाली यहाँ केही कुरालाई सुचारु गर्नेभन्दा पनि बन्द गर्ने र रोक्ने कुरामा बढी केन्द्रित छ,’ उनी भन्छन्, ‘सुटिङ रोकिँदा निर्मातालाई भने आर्थिक भार पर्छ ।’ यसले समग्र चलचित्र क्षेत्रलाई नै घाटा हुने उनको ठम्याइ छ । तर, यातायात नै बन्द हुने भएपछि काम रोक्नुको विकल्प नरहेको उनी स्वीकार्छन् ।
यस फिल्ममा निखिल र वर्षाका अलावा शेखर चापागाईँ, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जारा, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम, गौरव पहारी र हेना नगरकोटी कलाकारका रूपमा छन् । टेन इन्टरटेनमेन्ट प्रा. लि. को ब्यानरमा बन्ने यस फिल्मका निर्माता धीरज कुमार अग्रवाल हुन् ।
रियालिटी शो ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल पनि यतिबेला फिल्म ‘भटभटे’को छायाङ्कन धनुषामा गरिरहेका छन् । नयनराज पाण्डेको कथामा मोटरसाइकललाई केन्द्रमा राखेर बुनिएको यो फिल्म उनले निर्देशन गरिरहेका हुन् । फिल्मको ५० प्रतिशत काम सकिएको छ । तर, चुनावकै कारण टिम छायाङ्कन रोकेर काठमाडौँ फर्किने तरखरमा छ । यसले निर्मातालाई आर्थिक क्षति हुने भए पनि सुटिङ रोक्नै परेको उनी बताउँछन् ।
‘जतिसुकै अप्ठ्यारो भए पनि मतदान गर्ने अधिकारबाट कसैलाई पनि वञ्चित गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो,’ निर्देशक पौडेल भन्छन्, ‘एक पटकको आउने–जानेमा सकिने काम अब चार पटकको यात्रामा परिणत भएको छ ।’ यसले थपिएको आर्थिक भार र शारीरिक थकाइका बाबजुद पनि उनी निर्वाचनपछि चैत २४ गतेबाट फेरि सुटिङ सुरु गर्ने योजना बनाएको सुनाउँछन् ।
यस फिल्ममा अञ्जना बराइली, ‘कार्टुन्ज क्रू’का सविन कार्की, रविन्द्र झा र प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ ।

निर्देशक गणेशदेव पाण्डेको फिल्म ‘पारि बुटवल’को सुटिङ अन्तिम चरणमा पुगेको छ । अनुप बराल र दिया मास्के जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको यस फिल्मको ९० प्रतिशत काम सकिएको निर्देशक गणेशदेव पाण्डेले बताए ।
‘चुनावमा सुटिङ रोक्नु नपर्ने भए अबको पाँच दिनमा सुटिङ पूरै सकिन्थ्यो,’ पाण्डे भन्छन्, ‘निर्वाचन र होलीका कारण अहिले सुटिङ रोकिएको छ ।’ निर्वाचनले फिल्मको बजेट बढाएको, प्राविधिक र कलाकारको समय तालिका बिथोलेको र निर्माताहरूलाई थप तनाव दिएको उनको भनाइ छ ।
देश निर्माण गर्ने महान् कार्य निर्वाचन भएकोले यो सबै स्वीकार गरेर सुटिङ रोकिएको पाण्डे सुनाउँछन् ।
‘हाम्रो टिममा नयाँ मान्छे चुन्ने र देशमा परिवर्तनको आशासहित राम्रो मान्छे जिताउने एउटा छुट्टै उत्साह छ,’ पाण्डे थप्छन्, ‘निर्वाचनलाई प्राथमिकता दिँदै बाँकी सुटिङ निर्वाचनपछि गर्ने निर्णय गरेका छौँ ।’
यस फिल्ममा अनुप र दीयाका अलावा दिव्य देव, कामेश्वर चौरसिया, किरण श्रेष्ठ र नयाँ कलाकार अविरल प्रताप अधिकारी मुख्य भूमिकामा छन् ।
अभिनेत्री रेखा थापा करिब सात–आठ वर्षपछि निर्देशनमा फर्कन लागेको फिल्म ‘माया भनेकै यस्तो होला’ शिवरात्रीको अवसर पारेर घोषणा गरिएको थियो । घोषणा लगत्तै फिल्म सुटिङमा जाने उनको तालिका थियो । बीचमा चुनाव परेकाले उनले कार्यतालिका नै सारेकी छन् ।

चैत १० गतेबाट सुटिङ गर्ने तालिका बनाए पनि चुनाव र त्यसपछिको परिस्थितिलाई हेरेर चैत २५ गते मात्र फिल्म फ्लोरमा जाने निर्णय गरेको निर्देशक थापाले बताइन् । यसपटक रेखा पर्दा अगाडि देखिने छैनन्, उनी केवल निर्देशनमा केन्द्रित छिन् ।
‘यसपालि चाहिँ म ‘पक्का निर्देशक’ भए जस्तो महसुस भइरहेको छ,’ रेखाले भनिन् । चुनावमा सहभागी हुनु आफ्नो दायित्व ठान्ने रेखाले आफ्नो अर्को फिल्म ‘३६ को आँकडा’ को काम भने केही दिनअघि मात्रै सकेकी छन् ।
‘म मात्र होइन, सबै चुनावमा भाग लिनुपर्छ,’ उनी अगाडि भन्छिन्, ‘सुरु भएको केही दिनमै सुटिङ रोकिन्थ्यो । बीचमा रोक्नुभन्दा कार्यतालिका नै पछि सार्दा राम्रो भयो ।’
यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय रहनेछ । यसका निर्माता हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण