निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्वक भाग लिन मतदातालाई आग्रह गरिन्।
- उनले मतदानलाई आफ्नो र सन्ततिको भविष्य निर्माणको निर्णयको रूपमा व्याख्या गरिन्।
- प्रधानमन्त्रीले सरकार निर्वाचनका लागि तयार रहेको र गलत सूचना फैलाउनेलाई निगरानीमा राखिएको बताइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई अपिल गरेकी छन्। सोमबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा उभिएको बताउँदै आफ्नो र सन्ततिको भविष्यका लागि मतदान गर्न आग्रह गरिन्।
निर्वाचनको तीन दिनअघि विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्, ‘‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।’’
आफ्नो कार्यकालको स्मरण गर्दै प्रधानमन्त्री कार्कीले ‘जेन–जी आन्दोलन’ पछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा आफूले सरकारको नेतृत्व लिएको बताइन्। सडकमा युवाहरूको आक्रोश र देशको भविष्य अन्योलमा रहेको अवस्थाबाट मुलुकलाई हिंसात्मक मोडबाट जोगाउँदै शान्तिपूर्ण निकास र संविधानको बाटोमा फर्काउनु नै आफ्नो सरकारको मुख्य उपलब्धि भएको उनले दाबी गरिन्।
‘‘आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ,’’ प्रधानमन्त्रीले भनिन्।
निर्वाचनको मुखमा सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन सामग्री र भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूलाई सरकारले निगरानीमा राखेको प्रधानमन्त्रीले स्पष्ट पारिन्। उनले भनिन्, ‘‘मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन। कानुनबमोजिम कारबाही गर्न सरकार पछि हट्ने छैन।’’
सरकार र निर्वाचन आयोग स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै उनले मौन अवधिमा अनुशासन पालना गर्न दलहरूलाई आग्रह गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण