बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बक्स अफिसमा ३ फिल्म : कुमारी, रमिताको पिरती र बिगुलले कति कमाए ?

मङ्गलबार, १९ फागुन २०८२, १२ : ३५
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • चलचित्र विकास बोर्डले तीन फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ।
  • दिनेश राउत निर्देशित फिल्म 'कुमारी'ले सबैभन्दा बढी ६४ लाख ४६ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
  • 'रमिताको पिरती'ले २८ लाख र 'बिगुल'ले ९ लाख रुपैयाँ कमाएका छन्, तर 'बिगुल'को प्रदर्शन स्थगित भयो।

काठमाडौँ । तीन फिल्म ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘बिगुल’ को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले शनिबार राती १२ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

तीनमध्ये दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले बक्स अफिसमा अन्यको तुलनामा बढी कमाई गरेको देखिएको छ । गत माघ २३ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ ले हालसम्म कुल ६४ लाख ४६ हजार १२६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । युवा–युवतीको प्रेम कथामा आधारित यस फिल्मको यो अवधिमा १९ हजार ९ सय ५९ वटा टिकट बिक्री भएको छ ।

फिल्ममा अभिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ र आकाङ्क्षा कार्कीको मुख्य अभिनय छ । फिल्मका कार्यकारी निर्माता केदार भुसाल र निर्माता महेन्द्र अधिकारी हुन् ।

त्यस्तै, ‘कुमारी’ सँगै माघ २३ गतेबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘रमिताको पिरती’ ले २८ लाख ६८ हजार १४३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ८ हजार ७ सय ३७ जना दर्शकले हलमा पुगेर यो फिल्म हेरेका छन् । सुदिप्ता अधिकारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा आना शर्मा र विनय श्रेष्ठको मुख्य भूमिका छ । 

एक युवतीको प्रेम भावनालाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको भनिएको यस फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई लगायतको अभिनय छ । सागर लम्सालको लगानी रहेको यस फिल्मका कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुन् ।

फागुन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बिगुल’ ले भने अपेक्षा अनुसारको व्यापार गर्न सकेन । फिल्मले ९ लाख २८ हजार ८६० रुपैयाँ ग्रस कलेक्सन गर्दा २ हजार ७ सय २२ वटा टिकट बिक्री भएको छ । फिल्म प्रदर्शनको केही दिनमै निर्माता तथा कांग्रेस नेता दिनेश कोइरालाले चुनावको कारण देखाउँदै प्रदर्शन स्थगित गरेका थिए ।

देशको वर्तमान राजनीतिक अवस्था र जनभावना समेटिएको भनिएको यस फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी जस्ता स्थापित कलाकार र नवअभिनेत्री मिरा पण्डितको यसमा मुख्य अभिनय छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप