८–० को विशाल जितका बाबजुद फ्लामेङ्गोद्वारा प्रशिक्षक फिलिपे लुइस बर्खास्त
सारांश
- ब्राजिलियन क्लब फ्लामेङ्गोले प्रशिक्षक फिलिपे लुइसलाई बर्खास्त गरेको छ, जसले क्लबलाई सातवटा उपाधि दिलाए।
- लुइसलाई मदुरैरालाई हराएर फाइनलमा पुगेको केही घण्टामै पदबाट हटाइएको थियो, जुन आश्चर्यजनक निर्णय थियो।
- क्लबले लुइसको योगदानको प्रशंसा गर्दै आगामी खेलका लागि उनलाई शुभकामना दिएको छ।
रियो दि जेनेरियो । ब्राजिलियन फुटबल क्लब फ्लामेङ्गोले आफ्ना प्रशिक्षक तथा चेल्सीका पूर्व रक्षापङ्क्ति खेलाडी फिलिपे लुइसलाई नाटकीय रूपमा पदबाट हटाएको छ। सोमबार राति भएको क्याम्पियोनाटो क्यारियोकाको सेमिफाइनलमा मदुरैरालाई ८–० को फराकिलो अन्तरले हराउँदै समग्रमा ११–० को नतिजासहित फाइनल पुगेको केही घण्टामै क्लबले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
४० वर्षीय लुइसले सन् २०२४ सेप्टेम्बरमा पूर्व ब्राजिलियन प्रशिक्षक टिटेको स्थान सम्हालेका थिए। आफ्नो १०० खेलको कार्यकालमा उनले फ्लामेङ्गोलाई सातवटा महत्त्वपूर्ण उपाधि दिलाए।
तथ्याङ्क अनुसार उनले औसतमा हरेक १४ खेलमा एउटा ट्रफी जिताएका थिए। उनको प्रशिक्षणमा फ्लामेङ्गोले सन् २०२५ मा कोपा लिबर्टाडोरेसको उपाधि जितेको थियो, जसले गर्दा लुइस खेलाडी र प्रशिक्षक दुवै भूमिकामा यो प्रतिष्ठित प्रतियोगिता जित्ने नवौँ व्यक्ति बनेका थिए।
क्लबले मंगलबार बिहान सबेरै एक संक्षिप्त विज्ञप्ति जारी गर्दै लुइससँगै सहायक प्रशिक्षक इभान पालान्को र फिजिकल ट्रेनर डियोगो लिनहारेसलाई पनि बिदाइ गरेको जानकारी दिएको छ। विज्ञप्तिमा लुइसले क्लबका लागि पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै उनको उज्ज्वल भविष्यको कामना गरिएको छ।
यस सिजनको सुरुवातमै फ्लामेङ्गोले सुपरकोपा डो ब्राजिल र रेकोपा सुडामेरिकाको फाइनलमा पराजय भोग्दै उपविजेतामा चित्त बुझाउनु परेको थियो। लगातार दुई फाइनलमा भएको हारले क्लब व्यवस्थापन उनीप्रति असन्तुष्ट रहेको अनुमान गरिएको छ। यद्यपि, आइतबार हुने क्यारियोकाको फाइनलमा फ्लुमिनेन्सविरुद्ध खेल्नुअघि नै उनलाई हटाउने निर्णयले फुटबल जगतलाई आश्चर्यमा पारेको छ।
लुइसको कार्यकालमा फ्लामेङ्गोले सिरी ए, कोपा डो ब्राजिल, फिफा च्यालेन्जर कप र फिफा डर्बी अफ द अमेरिकाज जस्ता उपाधिहरू पनि चुमेको थियो। गत वर्षको फिफा क्लब वर्ल्ड कपमा उनको टोलीले विजेता चेल्सीलाई समूह चरणमा हराएर अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो, जहाँ उनीहरू बायर्न म्युनिखसँग ४–२ ले पराजित भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण