बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पको चेतावनीका बाबजुद स्पेन अडिग, अमेरिकाले गरेको दाबी अस्वीकार

बिहीबार, २१ फागुन २०८२, १२ : १७
बिहीबार, २१ फागुन २०८२

सारांश

  • स्पेनले इरानविरुद्धको युद्धमा अमेरिकासँग सैन्य सहकार्य नगर्ने अडान लिएको छ।
  • अमेरिकी धम्कीका बाबजुद स्पेनले युद्धविरोधी नीतिलाई निरन्तरता दिने जनाएको छ।
  • इरानी राष्ट्रपतिले स्पेनको अडानको प्रशंसा गर्दै पश्चिमा जगतमा नैतिकता जीवितै रहेको बताए।

वासिङ्टन डिसी । इरानविरुद्धको युद्धमा अमेरिकासँग सैन्य सहकार्य सुरु गरेको भन्ने ह्वाइट हाउसको दाबीलाई स्पेनले कडा शब्दमा खण्डन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनको अडानका कारण व्यापारिक नाकाबन्दी लगाउने धम्की दिएको भोलिपल्टै स्पेनले आफ्नो नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेको हो। 

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले स्पेनले अमेरिकी सन्देश बुझेको र सैन्य सहयोग गर्न सहमत भएको बताएकी थिइन्। तर, स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेसले उक्त दाबीलाई पूर्णरूपमा अस्वीकार गर्दै आफ्नो अडानको एक अक्षर पनि परिवर्तन नभएको बताएका छन्।

यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले युद्धको विरोध गरेको भन्दै स्पेनको चर्को आलोचना गरेका थिए। उनले स्पेनसँगको सबै व्यापारिक सम्बन्ध विच्छेद गर्ने र स्पेनसँग कुनै सरोकार नराख्ने चेतावनी दिएका थिए। वासिङ्टनको आर्थिक धम्कीका बाबजुद मड्रिडले आफ्नो युद्धविरोधी अडानलाई थप सशक्त रूपमा दोहोर्‍याएको छ। 

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सन् २००३ को इराक युद्धको स्मरण गर्दै केही गैरजिम्मेवार नेताहरूले विश्वलाई अवैध युद्धमा धकेलेको र त्यसले असुरक्षा र पीडाबाहेक केही नदिएको उल्लेख गरेका छन्। बमले विश्वका समस्या समाधान गर्न सकिन्छ भन्ने भ्रममा स्पेन नरहेको र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन आफूहरूलाई स्वीकार्य नहुने सान्चेजको भनाइ छ।

स्पेनको यो साहसी कदमको इरानी राष्ट्रपति मसूद पेजेस्कियानले प्रशंसा गरेका छन्। उनले सियोनवादी–अमेरिकी गठबन्धनको सैन्य आक्रामकता विरुद्ध स्पेनले देखाएको जिम्मेवार आचरणले पश्चिमा जगतमा अझै पनि नैतिकता र विवेक जीवितै रहेको प्रमाणित गरेको बताएका छन्। इरानमाथि भइरहेको आक्रमणको विरोधमा स्पेन युरोपेली मुलुकहरूमध्ये सबैभन्दा स्पष्ट र निडर देखिएको छ।

युरोपेली संघ (ईयू) का अन्य सदस्य राष्ट्रहरूले युद्ध रोक्न र सर्वसाधारणको रक्षा गर्न अस्पष्ट आह्वान गरिरहँदा स्पेनले भने खुलेरै युद्धको विरोध गरेको छ। ईयूकी विदेश नीति प्रमुख काजा काल्लासले इरानको परमाणु कार्यक्रम र मिसाइल गतिविधि विश्व सुरक्षाका लागि खतरा रहेको बताउँदै कडा प्रतिबन्धको समर्थन गरेकी छिन्। 

तर, गाजा युद्धमा इजरायलको कडा आलोचक रहँदै आएको स्पेनले अहिले इरानको मामिलामा पनि अमेरिका र इजरायली सैन्य कारबाहीलाई समर्थन नगर्ने अडान लिएर युरोपमै फरक पहिचान बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप