मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीलाई प्रश्न : असहज परिस्थितिमा निर्वाचन गराउनुभयो, कस्तो लागिरहेको छ ?

बिहीबार, २१ फागुन २०८२, २० : ५३
बिहीबार, २१ फागुन २०८२

सारांश

  • प्रधानमन्त्रीले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सकेकोमा खुशी व्यक्त गरिन् र यसलाई सबैको साझा प्रयासको परिणाम बताइन्।
  • निर्वाचन सफल बनाउन मन्त्रिपरिषद्, आयोग, सुरक्षा निकाय, कर्मचारी, दल र जनताको भूमिका रहेको र सुरक्षा चुनौतीलाई पार गरिएको बताइन्।
  • आगामी सरकारलाई सुशासन, रोजगारी, भ्रष्टाचार अन्त्य, विभेदरहित समाज र स्वदेशमै अवसर सिर्जना गर्ने मागलाई सम्बोधन गर्न आग्रह गरिन्।

काठमाडौं। कठिन र असहज परिस्थितिमा सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्रीले देशमा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सकेकोमा खुशी व्यक्त गरेकी छन्। उनले निर्वाचन सम्पन्न हुनु आफ्नो मात्र प्रयास नभई सिंगो मन्त्रिपरिषद्, राज्य संयन्त्र र जनताको साझा प्रयासको परिणाम भएको बताइन्।

प्रधानमन्त्रीका अनुसार निर्वाचन सफल बनाउन मन्त्रिपरिषद्, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा नेपाली जनताको महत्वपूर्ण भूमिका रहेको थियो। “हाम्रो आह्वान स्विकार गरेर निर्वाचनमा सहभागी हुनुहुने नेपाली जनताले नै यसलाई सफल बनाउनुभयो,” उनले भनिन्।

निर्वाचन सम्पन्न गर्नुअघि सुरक्षालाई मुख्य चुनौतीका रूपमा सामना गर्नुपरेको उनले बताइन्। त्यसका लागि एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको र त्यसले प्रभावकारी रूपमा काम गरेको उनको भनाइ छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासनबिच राम्रो समन्वय भएकाले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्भव भएको उनले उल्लेख गरिन्।

निर्वाचनलाई लिएर सुरुदेखि नै विभिन्न आशंका व्यक्त गरिएको स्मरण गर्दै उनले सुरुमा निर्वाचन नै हुन नसक्ने भन्ने टिप्पणीसमेत भएको बताइन्। तर लगनशीलता, आत्मविश्वास र जिम्मेवारीप्रतिको निष्ठाका कारण चुनौतीका बाबजुद सरकार आफ्नो काममा केन्द्रित रहन सकेको उनको भनाइ थियो।

उनले सरकारमाथि विभिन्न प्रकारका आलोचना र अवरोध आए पनि त्यसबाट विचलित नभई देशमा शान्ति कायम गर्दै सभ्य र अनुशासित रूपमा निर्वाचन सम्पन्न गराउने लक्ष्यमा सरकार दृढ रहेको बताइन्। “हामीले काम आफ्नो लागि होइन, मुलुक र जनताका लागि गरेका हौँ,” उनले भनिन्।

निर्वाचन प्रक्रियामा अझ सुधार गर्न सकिने पक्ष पनि रहेको स्वीकार्दै उनले विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न सके अझ राम्रो हुने उल्लेख गरिन्। खर्चमा मितव्ययिता अपनाइएको भए पनि केही घटनाका कारण नयाँ उपकरण खरिद गर्नुपरेको उनले बताइन्।

आगामी सरकार र जनप्रतिनिधिलाई सम्बोधन गर्दै उनले मुलुकका समस्याको समाधानका लागि इमानदार प्रयास आवश्यक रहेको बताइन्। विशेषगरी युवापुस्ताले उठाएका सुशासन, रोजगारी, भ्रष्टाचार अन्त्य, विभेदरहित समाज र स्वदेशमै अवसर सिर्जना गर्ने मागलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिइन्।

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका काम, अधुरा रहेका विषय र गर्न नसकिएका कारण समेटिएको श्वेतपत्र सार्वजनिक गरेर आगामी सरकारलाई मार्गदर्शन गर्ने जानकारी पनि दिइन्।

यसैबीच गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि त्यसलाई कार्यान्वयनमा लैजाने उनले स्पष्ट पारिन्। मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई स्थान दिन नहुने बताउँदै उनले आवश्यक सबै प्रतिवेदन सार्वजनिक गरिने र जनतालाई सत्य जानकारी गराइने प्रतिबद्धता व्यक्त गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप