सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्लाहीमा करिब ६० प्रतिशत मतदान

बिहीबार, २१ फागुन २०८२, २१ : ३६
बिहीबार, २१ फागुन २०८२

जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्लामा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

प्रारम्भिक विवरणअनुसार जिल्लामा करिब ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेले बताए ।

जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गरी करिब ५ लाख ११ हजार ६०६ जना मतदातामध्ये आधाभन्दा केही बढी मतदाताले मतदान गरेका छन्।

सबै मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मात्र कुल खसेको मतको यकिन विवरण सार्वजनिक गरिने उनले बताए।

यसपटकको प्रतिनिधि सभा निर्वाचनमा स्थानीय तह निर्वाचनको तुलनामा मतदाताको सहभागिता र उत्साह केही कम देखिएको छ। बिहान सबेरै तथा दिउँसो खाना खाएपछि केही समय मतदान केन्द्रहरूमा भीड देखिए पनि दिउँसो १ बजेदेखि अधिकांश केन्द्रहरू सुनसान देखिन थालेका थिए।

मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार जिल्लाभर सामान्य विवादबाहेक मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।

क्षेत्र नम्बर ४ अन्तर्गत बलरा नगरपालिका–४ जब्दीस्थित प्राथमिक विद्यालय मतदान केन्द्रमा दलका प्रतिनिधिबिच विवाद भएपछि केही समय मतदान अवरुद्ध भएको थियो। 

पछि प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितको सुरक्षा टोली घटनास्थल पुगेपछि स्थिति नियन्त्रणमा आएको र मतदान पुनः सञ्चालन भएको थियो।

त्यस्तै, बसबरिया गाउँपालिकाको जनता माध्यमिक विद्यालय भवानीपुर मतदान केन्द्रमा पनि बिहान दलका प्रतिनिधिबिच विवाद हुँदा केही समय मतदान रोकिएको थियो।

यी दुई स्थानबाहेक जिल्लाभरका ६२८ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।

मतदान सम्पन्न भएसँगै चार वटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी सुरु गरिएको छ। सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय गरिने मुख्य निर्वाचन अधिकृत थपलियाले बताए।

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा मतगणनास्थल समेत तय गरिएको छ। क्षेत्र नम्बर १ को मतगणना लालबन्दी नगरपालिका–१० चन्द्रपुरस्थित वडा कार्यालयमा, क्षेत्र नम्बर २ को मलङ्गवास्थित जिल्ला समन्वय समितिको सभाहलमा, क्षेत्र नम्बर ३ को हरिवनस्थित नापी कार्यालयमा तथा क्षेत्र नम्बर ४ को गोडैता बजारस्थित बेणी भोला नमुना माध्यमिक विद्यालयमा मतगणना गरिनेछ।

सबै मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित स्थानमा पुग्न मध्यरातसम्म लाग्ने अनुमान गरिएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार आज रातिदेखि नै मतगणना सुरु हुन सक्ने वा अन्यथा शुक्रबार बिहानबाट मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप