सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

ताप्लेजुङमा बुथ कब्जा भएको रास्वपाको आरोप

लिङ्तेपमा ८८ प्रतिशत मत खसेकोमा आपत्ति, छानबिन नभई मतगणनामा सहभागी नहुने चेतावनी
शुक्रबार, २२ फागुन २०८२, १५ : १०
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • रास्वपा ताप्लेजुङले मिरिङदेनको लिङ्तेपमा बुथ कब्जा गरी धाँधलीपूर्ण मतदान भएको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
  • रास्वपाका अनुसार लिङ्तेपमा ८८ प्रतिशत मतदान हुनु र मृतक तथा विदेशमा रहेका व्यक्तिको नाममा मतदान हुनु शंकास्पद छ।
  • फर्जी मतदानको छानबिन र यकिन नभएसम्म मतगणनामा सहभागी नहुने रास्वपाले जनाएको छ, भने निर्वाचन कार्यालयले मतगणना सुरु गरिसकेको छ।

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले जिल्लाको मिरिङदेन गाउँपालिका वडा नम्बर ४, लिङ्तेपमा बुथ कब्जा गरेर अस्वाभाविक मतदान गरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठले मुख्य निर्वाचन अधिकृतलाई पत्र लेख्दै उक्त वडामा धाँधली भएको दाबी गरेका हुन् ।

‘नेपालभर औसत ५१ प्रतिशत मात्र मतदान भइरहेको परिवेशमा लिङ्तेपको मतदान केन्द्रमा भने ८८ प्रतिशत मत खस्नु अस्वाभाविक र शंकास्पद रहेको रास्वपाको ठहर छ,’ श्रेष्ठले भने । उक्त केन्द्रमा मृतकका नाममा र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको नाममा समेत गैरकानुनी तवरले मतदान गरिएको रास्वपाले आरोप लगाएको छ।

‘लिङ्तेपमा एकलौटी रूपमा बुथ कब्जा गरी ८८ प्रतिशत मत खसाइएको छ। त्यहाँ रहेका मृतक र विदेशमा रहेका व्यक्तिहरूको नाममा समेत फर्जी मतदान भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो बुझाइमा त्यहाँ खसेको मतमध्ये करिब ३७ प्रतिशत मत फर्जी छ।’

रास्वपाले फर्जी मतदाताको यकिन गर्नका लागि मतदाता नामावली र मतपत्रको अर्धकट्टी सनाखत गर्न माग गरेको छ। उक्त धाँधलीको छानबिन र यकिन नभएसम्म रास्वपा ताप्लेजुङ मतगणना प्रक्रियामा सहभागी नहुने समेत स्पष्ट पारेको छ।

निर्वाचन अघि नै सर्वदलीय बैठकमा रास्वपाले लिङ्तेपमा बुथ कब्जा हुन सक्ने भन्दै सुरक्षा र निष्पक्षताका लागि निवेदन दिएको भए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै पार्टीले दुःख व्यक्त गरेको छ। नागरिकको सार्वभौम अधिकार कुण्ठित हुने गरी भएको यस्तो कार्यले लोकतन्त्रको उपहास गरेको भन्दै रास्वपाले तत्काल उचित निकास निकाल्न माग गरेको छ।

यद्यपि निर्वाचन कार्यालयले मतगणना सुरु गरेको छ । प्रारम्भीक मतगणनाअनुसार ताप्लेजुङमा नेकपाका उम्मेद्वार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप