बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
निरन्तर मतगणना, कुन दलको अवस्था कस्तो ? [LIVE UPDATES]
LIVE UPDATES

LIVE UPDATES : निरन्तर मतगणना, कुन दलको अवस्था कस्तो ? [LIVE UPDATES]

आइतबार, २४ फागुन २०८२, ०९ : ४५
Live

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको लाइभ अपडेटमा स्वागत छ । 

सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित, उपेन्द्र यादवको संसद् यात्रामा ‘ब्रेक’

राजविराज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरी निर्वाचित भएका छन् ।

चौधरी ३२ हजार ८७५ मतसहित निर्वाचित हुँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको संसद् यात्रामा ‘ब्रेक’ लागेको छ ।

यादवले १५ हजार २३९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरे । 

दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित

दोलखा । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् । खरेल ३२ हजार ३७६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन् । खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गरेका हुन् ।

त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत पाएका छन् ।

लज्जास्पद परिणामबिच कांग्रेसले सातै प्रदेशमा जोगायो प्रतिनिधित्व

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको नतिजा भने अत्यन्तै निराशाजनक देखिएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिटमा शानदार जित हासिल गरेर पहिलो पार्टी बनेको कांग्रेस, यसपटक भने निकै कमजोर अवस्थामा पुगेको छ। अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले मात्र १४ स्थानमा विजय हासिल गरेको भने केही सिटमा मात्रै अग्रता कायम गरेको छ । 

देशभरबाट प्राप्त पछिल्लो मतपरिणामले कांग्रेस नेतृत्वलाई झस्काएको छ। ‘रूख’ चिन्हमा भोट खस्ने क्रम ह्वात्तै घटेको र परम्परागत गढहरू भत्किएको प्राप्त नतिजाले देखाएको छ। 

लज्जास्पद परिणामबिच कांग्रेसले भौगोलिक उपस्थितिको हिसाबले भने सन्तुलन कायम गरेको छ । एकाले लगायतका परम्परागत शक्ति  निश्चित भूगोलमा बढारिने सङ्केत देखिँदा थोरै सङ्ख्यामा भए पनि सातै प्रदेशको प्रतिनिधित्व जोगाएको छ। कांग्रेसले जितेका १४ सिटले सातवटै प्रदेशको प्रतिनिधित्व गरेको हो । 

डोल्पामा नेकपाका धनबहादुर बुढा निर्वाचित

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न मतगणना अनुसार उनी ६ हजार ८ सय २ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लंक बहादुर रोकायाले ५ हजार ३९६ मत ल्याएका छन् । नेपाली कांग्रेसका कर्ण बहादुर बुढाले २ हजार ९४७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का देवसिंह ऐडीले १८१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का हरिप्रसाद डाँगीले ९२ मत ल्याएका छन्। 

मोरङमा रास्वपाको क्लिनस्वीप, कांग्रेसका चार हेभीवेट पराजित

विराटनगर । प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतपरिणामले मोरङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्लिनस्वीप’ गरेको छ। मोरङका सबै ६ मध्ये सबे क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका हुन् । 

मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपानेले २७ हजार ३६७ मत प्राप्त गरी विजय हासिल गरे । उनले नेपाली कांग्रेसका खड्ग बहादुर फागोलाई १५ हजार बढी मतान्तरले पराजित गरे । फागोले ११ हजार ९८६ मत मात्रै पाएका थिए। त्यस्तै, श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन लामाले १७,५२२ मत प्राप्त गर्दा नेकपा (एमाले) का घनश्याम खतिवडाले ९,८२३ मत पाएका थिए ।

मोरङ–२ मा रास्वपाका कृष्ण कुमार कार्कीले ४० हजार १२४ मत प्राप्त गर्दै नेपाली काँग्रेसका प्रभावशाली नेता मीनेन्द्र प्रसाद रिजाललाई पराजित गरे। रिजालले १२ हजार ६४४ मत मात्रै प्राप्त गर्न सके जुन कार्कीको भन्दा दोब्बरभन्दा बढी हो । १४औँ महाधिवेशनमा काँग्रेसको महामन्त्रीका प्रत्यासी रहेका रिजाल यसअघि उम्मेदवार थिएनन् । सो क्षेत्रमा एमालेले जितेको थियो । 

अफताव आलमका छोरा फिरदोशले जिते चुनाव

काठमाडौँ । रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम निर्वाचित भएका छन् ।  पुर्वमन्त्री समेत रहेका विवादित स्वर्गीय अफताव आलमका छोरा फिरदोशले २९ हजार ५ सय २८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार किरण कुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरे । आलम र साहबिचको मतान्तर ११ हजार ८६ रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३ सय २५ मत प्राप्त गरी तेस्रो स्थान सुरक्षित गरे । जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९ सय ६० मत ल्याए भने नेकपा (एमाले) का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत प्राप्त गरे । आम जनता पार्टीका उम्मेदवार श्रीभगवान राउत कुर्मीले १ हजार ८ सय २५ मत प्राप्त गरेका छन् ।

पाँचथर–१ मा कांग्रेसका नरेन्द्र कुमार केरुङ निर्वाचित

काठमाडौं । पाँचथर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन् । 

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार केरुङले १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार हस्त राज शर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गरेका छन् । पराजित शर्माले १४ हजार ७३४ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार अइन्द्र सुन्दर नेम्वाङ तेस्रो स्थानमा रहेका छन् । नेम्वाङले १४ हजार ५३४ मत प्राप्त  गरेका छन् ।

गगनको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्षे संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन् ।

आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्।

अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए ।

गगनले साढे १९ हजार मत पाउँदा अमरेशले कति ल्याए ?

काठमाडाैँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अमरेश कुमार सिंहले २९ हजार ३८० मत ल्याएका छन् ।

रास्वपाका सिंहलाई नेपाली कांग्रेसका सभापति समेत रहेका गगन थापाले १९ हजार ५ सय ६ मतका साथ पछ्याइरहेका छन् । गगन भन्दा अमरेश करिब १० हजार मतले अगाडि छन् । 

यस्तै नेकपा एमालेका अमनिश कुमार यादवले ८ हजार ६५४ मत ल्याएका छन् । जनमत पार्टीका राकेश कुमार मिश्रले १ हजार ३६५ मत ल्याएका छन्। 

सर्लाही ३ मा रास्वपाले जित्दा नारायणकाजी र हरि उप्रेती भारी मतान्तरले पराजित

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार विजयी भएका छन् । 

साह ४६ हजार ८९० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठले मात्र १३ हजार ३३८ मत पाए । यहाँ नेपाली कांग्रेसका विनोदप्रसाद खनालले ६ हजार २ सय २४ मत मात्र पाए । त्यस्तै नेकपा एमालेका पूर्वसांसद हरि उप्रेती यहाँ चौथो स्थानमा सीमित भए । उनले ५ हजार ७७६ मत पाए । 

उदयपुर–२ मा रास्वपाका सुर्य बहादुर तामाङ निर्वाचित

काठमाडौँ । उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुर्य बहादुर तामाङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार उनी १४ हजार ८ सय २ मतसहित निर्वाचित भएका हुन्।  

यस्तै नेकपा एमालेका अम्बर बहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका ७ हजार २९० मत ल्याए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुरेश कुमार राईले ५ हजार १९७ मत ल्याए । 

काभ्रेपलाञ्चोक– १ मा पनि रास्वपाका मधु कुमार चौलागाईँ निर्वाचित

काठमाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मधु कुमार चौलागाईँ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न मतगणनाअनुसार उनी २९ हजार ६ सय १८ मतसहित निर्वाचित भएका हुन् । 

यस्तै नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का दिनानाथ गौतमले १४ हजार १८४ मत ल्याए । नेकपा एमालेका अमि तामाङले १३ हजार ८१४ मत ल्याए । 

यसअघि काभ्रेपलाञ्चोक– २ मा ५३ हजार ३४४ मतसहित रास्वपाकै बदन कुमार भण्डारी निर्वाचित भएका थिए । 

लेखराज भट्ट लगातार दोस्रो पटक पराजित

धनगढी । कैलाली–४ मा एमालेका उपमहासचिव लेखराज भट्ट लगातार दोस्रो पटक पराजित भएका छन् ।

यहाँ रास्वपाका खेमराज कोइराला २८ हजार ५५६ मतसहित विजयी भएका छन् । त्यस्तै नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन्। एमालेका भट्ट ९ हजार ४४४ मतसहित तेस्रो स्थानमा रहे ।

भट्ट यसअघि पनि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । त्यतिबेला उनले २२ हजार ६६३ मत ल्याएका थिए भने कांग्रेसका नेता वीरबहादुर बलायर २६ हजार २७६ मतसहित विजयी भएका थिए ।

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।

शनिबार राति सम्पन्न मतगणनाअनुसार उनी २२ हजार ४२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत ल्याएका छन्।

श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत ल्याएर तेस्राे स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का गोकुल बहादुर राईले ७ हजार ८१४ मत ल्याएर चाैथाे भए । यस्तै  नेपाली कम्युनिष्ट पार्टीका ओम बहादुर गुरुङ्गले १ हजार १७२ मत ल्याएर पाँचाैँ भए । 

कैलाली– ४ मा रास्वपाका खेमराज कोइराला निर्वाचित

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा नेता खेमराज कोइराला निर्वाचित भएका छन्। उनले २८ हजार ५५६ मत ल्याउँदै जित निकालेका हुन्।

यस्तै कांग्रेसका गोरखबहादुर बिष्टले ११ हजार ३०१ मत ल्याए भने नेकपा एमालेका लेखराज भट्टले ९ हजार ४४४ मत ल्याए। यस्तै नेकपाका हरिराम चौधरीले ५ हजार ६ सय ९ मत ल्याए। यस्तै राप्रपाका कमल रजवारले १ हजरा ३ सय ५८ मत ल्याए।

यहाँ १६ जना उम्मेदवार थिए। अन्य उम्मेदवार निकै मत प्राप्त गरेका छन्।

नुवाकोट– १ मा कांग्रेस र रास्वपाबिच कडा प्रतिस्पर्धा

काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बिच कडा प्रतिस्पर्धा देखिएको छ ।

यो समाचार तयार(२ बजे)पार्दासम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतले १० हजार ७९१ र रास्वपाका विक्रम तिमिल्सिनाले १० हजार ५ सय ९ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का हित बहादुर तामाङले ८ हजार ८ सय ७४ मत प्राप्त गरे । यस्तै नेकपा एमालेका बद्री मैनालीले ५ हजार ९५ मत प्राप्त गरे । उज्यालो नेपाल पार्टीका अमित तामाङले १ हजार ५ सय मत प्राप्त गरेका छन्। 

रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा निर्वाचित

काठमाडौँ । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार गोपाल शर्मा निर्वाचित भएका छन्। शर्माले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु के‍.सी.लाई ४ हजार ९ सय ४८ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार गोपाल शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजु के.सी.ले १६ हजार ६ सय ६१ मत ल्याएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले १४ हजार ३ सय ४६ मत प्राप्त गरेका छन्। 

सुदूरपश्चिमका ११ क्षेत्रकाे नतिजा सार्वजनिक, रास्वपाको दबदबा

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भइसकेको छ भने केही क्षेत्रमा मतगणना जारी छ। हालसम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ।

कैलाली क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी छन् भने कैलाली- ५ मा पनि रास्वपाका आनन्द चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका छन् ।  कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका दीपक बोहरा ३३ हजार ९५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

डोटीमा नेपाली कांग्रेसका भरत खड्का १४ हजार ८९७ मत ल्याएर विजयी भएका छन् भने बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ५४३ मतसहित निर्वाचित भएका छन्। अछाम–१ मा नेपाली कांग्रेसका भरत स्वाँर १० हजार ७५९ मत प्राप्त गर्दै विजयी भएका छन्।

यी ७ क्षेत्रमा कांग्रेसले अग्रता लिँदा पछि पर्‍यो रास्वपा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसले देशका विभिन्न ७ निर्वाचन क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ ।

पछिल्लो प्राप्त परिणाम अनुसार हिमाली जिल्लादेखि मधेससम्मका क्षेत्रहरूमा कांग्रेसका उम्मेदवारहरू अन्य प्रतिस्पर्धी भन्दा अगाडि देखिएका छन् । देशभर धेरै क्षेत्रमा अग्रता र जित कायम गर्दै तहल्का मच्चाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने पछि परेको छ । 

नेपाली कांग्रेस अगाडि रहेका ७ क्षेत्रमा पहिलो सोलुखुम्बु निर्वाचन क्षेत्र नम्बर १ हो । जसमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीले ६ हजार ७७३ मतका साथ अग्रता लिएका छन् । उनलाई नेकपा (एमाले) की उम्मेदवार कल्पना राईले पछ्याइरहेकी छन् । 

पत्रकारिता गर्दै राजनीतिमा छिरेका महता अब देखिनेछन् संसद्‌मा

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३  प्रतिनिधि सभा सदस्यमा रास्वपाका नेता ज्ञानेन्द्रसिंह महता भारी मतले विजयी भए । महताले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद बोहरालाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् । 

महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका हुन् । जितपछि महताले आफ्नो टिमले चुनावअघि नै यस्तै परिणामको अपेक्षा गरेको बताए । 

उनी महेन्द्रनगरबा बासिन्दा हुन् । उनको पृष्ठभूमि पत्रकारिता हो । महताले रेडियो र टेलिभिजनमार्फत जनताको आवाज उठाउँदै आएका थिए । कञ्चनपुरमा एक सक्रिय पत्रकारका रूपमा उनी आबद्ध थिए ।‍ रास्वपा गठनपछि भने उनी पत्रकारिता छोडेर पार्टीमा आए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमका इन्चार्ज हुन् । उनले ड्रागन फ्रुटको खेती गर्दै कृषिमा पनि हात हाले । 

झापा–२ : इन्दिरा राना मगर निर्वाचित, पूर्वसभामुख घिमिरे भारी मतान्तरले पराजित

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार उम्मेदवार इन्दिरा राना मगर भारी मतान्तरले निर्वाचित भएकी छन् ।

शनिबार राति सम्पन्न मतगणनाअनुसार एमालेका उम्मेदवार देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले हराउँदै राना मगर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । राना मगरले ६० हजार ११० मत ल्याउँदा एमालेका घिमिरेले ११ हजार ३६८ मत ल्याए । यसअघिको प्रतिनिधि सभामा घिमिरे सभामुख थिए भने राना मगर उपसभामुख थिइन् ।

एमालेले अग्रता लिएका यी क्षेत्रमा रास्वपाको कस्तो छ अवस्था ?

काठमाडौँ । देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर आउँदा नेकपा एमाले अहिलेसम्म पाँच क्षेत्रमा अग्रता कायम राखेको छ । एमालेले इलाम २ मा सुहाङ नेम्बाङ, इलाम १ मा काजी मान कागते,अछाम २ मा यज्ञबहादुर बोगटी, मुगु १ मा पूर्णबहादुर रोकाया र सङ्खुवासभा अर्जुनकुमार कार्की अग्रता लिएका छन् ।

इलाम २ मा सुहाङ नेम्बाङ १९ हजार ६९१ मत सहित अग्रता कायम राखेका छन् भने श्रम संस्कृति पार्टीका सुदिप राई १३ हजार ६०७ मत सहित पछ्याइरहेका छन् । रास्वपाका गोकुलबहादुर राई ६ हजार ४६१ मत सहित चौथो स्थानमा छन् भने श्रम संस्कृति पार्टी तेस्रो स्थानमा छ ।

त्यस्तै, इलाम १ मा एमालेका कागतेले ४ हजार ५२३ मतसहित अग्रता कायम राखेका छन् भने कांग्रेसका निश्कल राई ४ हजार २४२ मतसहित दोस्रो स्थानमा रहेका छन् । रास्वपाका विमल गदाल श्रम संस्कृति पार्टीका भन्दा पछाडि छन् । उनी २०७० मतसहित चौथौँ स्थानमा छन् भने श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बु तेस्रो स्थानमा छन् ।

एमालेका भुमिप्रसादलाई २४ हजार मतान्तरले हराउँदै रास्वपाकी आशिका निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की आशिका तामाङ निर्वाचित भएकी छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। 

शनिबार राति सम्पन्न मतगणनाअनुसार उनी ३९ हजार १२८ मत ल्याएर निर्वाचित भएकी हुन् । तामाङले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीलाई २४ हजार ९६ मतान्तरले पराजित गरेकी हुन् । त्रिपाठीले १५ हजार ३२ मत ल्याए ।  

यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का राजेन्द्र प्रसाद पाण्डेले १४ हजार ७ सय ९ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत ल्याए । 

करिब २७ हजार मतान्तरले गच्छदारलाई हराउँदै अशोक निर्वाचित

काठमाडौँ ।  सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका अशोक चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई करिब २७ हजार मतले पछि पार्दै जित हात पारेका हुन् ।

चौधरीले ४७ हजार ४२१ मत ल्याउँदा गच्छदारले २० हजार ५ सय १ मत ल्याएका हुन् । त्यस्तै, नेकपा एमालेकी निवर्तमान सांसद भगवती चौधरीले १५ हजार ८३ मत ल्याइन भने श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले १ हजार ७८० मत ल्याएका छन् ।

हुम्लामा कांग्रेस निर्वाचित, रास्वपाको जमानत जफत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उक्त पार्टीका उम्मेदवार जयपति रोकाया ८ हजार ७९७ मतसहित विजय भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत र नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी ल्हाजोम शेर्पाको भने जमानत जफत भएको छ । उनले जम्मा १ हजार ६४ मत प्राप्त गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया