शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा निर्वाचन

सुदूरपश्चिमका ११ क्षेत्रकाे नतिजा सार्वजनिक, रास्वपाको दबदबा

आइतबार, २४ फागुन २०८२, ०१ : ३५
आइतबार, २४ फागुन २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो नतिजा ल्याएको छ, कैयौं क्षेत्रमा जित हासिल गरेको छ।
  • कैलाली, कञ्चनपुर र डोटी लगायतका क्षेत्रमा विभिन्न पार्टीका उम्मेदवारहरू विजयी भएका छन्, केहीमा मतगणना जारी छ।
  • डडेल्धुरामा ३४ वर्षपछि कांग्रेसको किल्ला ढलेको छ भने हालसम्मको नतिजा अनुसार रास्वपाले ७ सिट जितेको छ।

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भइसकेको छ भने केही क्षेत्रमा मतगणना जारी छ। हालसम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ।

कैलाली क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी छन् भने कैलाली- ५ मा पनि रास्वपाका आनन्द चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका छन् ।  कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका दीपक बोहरा ३३ हजार ९५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

डोटीमा नेपाली कांग्रेसका भरत खड्का १४ हजार ८९७ मत ल्याएर विजयी भएका छन् भने बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ५४३ मतसहित निर्वाचित भएका छन्। अछाम–१ मा नेपाली कांग्रेसका भरत स्वाँर १० हजार ७५९ मत प्राप्त गर्दै विजयी भएका छन्।

कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् । उनले २० हजार ३५९ मत प्राप्त गरेका छन्।

डडेल्धुरामा भने ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला ढलेको छ। उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार डा.ताराप्रसाद जोशी १९ हजार १३१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका थिए। जोशीले ७ हजार १० मतान्तरले महरलाई पराजित गरेका हुन्।

कञ्चनपुर क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्रसिंह महता विजयी भएका छन्। उनले कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई १७ हजार ६७५ मतान्तरले पराजित गरेका हुन्। कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन्।

दार्चुलामा नेकपा एमालेका गणेश ठगुन्ना १८ हजार ८९१ मत प्राप्त गर्दै विजयी भएका छन्।

यसैबिच बैतडी, अछाम–२, कैलाली–४, कैलाली–२ र बाजुरामा मतगणना जारी छ । बैतडीमा रास्वपाले अग्रता लिएको छ भने अछाम–२ मा एमाले अगाडि रहेको छ । कैलाली–४ मा रास्वपाको जित लगभग सुनिश्चित भएको छ। बाजुरामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ।

हालसम्म ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले २, नेकपा एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ । बझाङ, दार्चुला र अछाम–१ मा भने रास्वपाका उम्मेदवार पराजित भएका छन्। अछाम–२ मा पनि रास्वपाका उम्मेदवार पछि परेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप