पूर्वपत्रकार राजवंशीको संसद्मा इन्ट्री
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीले मोरङ क्षेत्र नम्बर ४ बाट कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गरे।
- राजवंशीले ४० हजार ८ सय ३३ मत ल्याएर जित हासिल गरे भने घिमिरेले १२ हजार ८ सय १२ मत प्राप्त गरे।
- राजवंशीले पूर्वमन्त्री अमनलाल मोदी र जीवन घिमिरेलाई पनि पराजित गर्दै भारी मतले विजयी भए।
विराटनग । नेपाली कांग्रेसका प्रखर वक्ता एवं महामन्त्री गुरुराज घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीलाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी भारी मतले विजयी भएका छन् ।
उनी पूर्वपत्रकार पनि हुन् । सो क्षेत्रबाट नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहेका पूर्व प्रदेशमन्त्री जीवन घिमिरे पनि उम्मेदवार बनेका थिए । निर्वाचन अधिकृत घनेन्द्र अधिकारीका अनुसार ३४ वर्षीय राजवंशी ४० हजार ८ सय ३३ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेस महामन्त्री घिमिरेले १२ हजार ८ सय १२ मत मात्र प्राप्त गरे । राजवंशी र घिमिरेबिचको मतान्तर २८ हजार २१ छ, जुन यस क्षेत्रको इतिहासमै निकै फराकिलो मानिएको छ ।
यस्तै, यसअघि लगातार दुई पटक निर्वाचित भई जितको ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका नेकपाका उम्मेदवार तथा पूर्व मन्त्री अमनलाल मोदी १० हजार ७ सय ६२ मतमा खुम्चिएका छन् । एमालेका जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत प्राप्त गरे । कुल १ लाख १९ हजार २५५ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ७ सय ८५ मत खसेको थियो ।
को हुन् सन्तोष राजवंशी ?
विराटनगर–३, राजवंशी चोकका स्थायी बासिन्दा सन्तोष राजवंशीको राजनीतिक उदय लामो छैन । २०४८ साल पुस १२ गते आमा कोइली देवी र बुबा रामपूजन राजवंशीको कोखबाट जन्मेका सन्तोष परिवारका एक्ला छोरा हुन् ।
स्नातक तहसम्मको अध्ययन पूरा गरेका राजवंशी राजनीतिमा होमिनुअघि पत्रकारितामा सक्रिय थिए । उनी नेपाल टेलिभिजन इटहरी च्यानलमा करार नियुक्ति भएका थिए । ‘पत्रकारितामार्फत जनताको आवाज उठाउँदै आएको थिएँ, अब सदनमा पुगेर ती आवाजलाई बुलन्द बनाउनेछु,’ निर्वाचित भएपछि सन्तोषले भने ।
मोरङ–४ को चुनावी प्रतिस्पर्धा यस पटक रोचक र पेचिलो थियो । नेता मोदीले २०७४ मा कांग्रेसका महेश आचार्य र २०७९ मा एमालेका विनोद ढकाललाई पराजित गरेका थिए । थारू समुदायको बाक्लो उपस्थिति र आफ्नो व्यक्तिगत पकडका कारण मोदी ढुक्क देखिन्थे । यता, कांग्रेसका वैचारिक नेता गुरुराज घिमिरेका लागि यो चुनाव राजनीतिक पुनरागमनको महत्त्वपूर्ण थियो । २०७९ को प्रदेशसभा निर्वाचनमा झिनो मतले पराजित भएपछि महामन्त्रीको जिम्मेवारीसहित उनी केन्द्रमा फर्कन चाहन्थे । यस्तै, एमालेका जीवन घिमिरे पनि आफ्नो संसदीय यात्रा सुरक्षित गर्ने कसरतमा थिए ।
तर, स्थापित दलका यी तीनै जना नेतालाई राजवंशीले हराइदिए । राजवंशीले परम्परागत दलहरूप्रतिको वितृष्णा र परिवर्तनको चाहनालाई आफ्नो पक्षमा पार्न सफल भए । यो क्षेत्रमा ग्रामथान, कटहरी, बेलबारीका केही वडा र विराटनगर महानगरपालिकाका ६ वटा वडा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण