शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहट–४ बाट पराजित भएपछि ऋषि धमलाले के भने ?

शनिबार, २३ फागुन २०८२, २३ : १५
शनिबार, २३ फागुन २०८२

सारांश

  • रौतहट क्षेत्र नं. ४ बाट पराजित ऋषि धमलाले मतदातालाई धन्यवाद दिएका छन् र जनताको सेवामा सधैँ तत्पर रहने बताए।
  • धमलाले विजयी उम्मेदवार गणेश पौडेललाई बधाई दिँदै रौतहटको विकासका लागि सधैँ साथ दिने प्रतिबद्धता जनाए।
  • उनले स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने र मधेसबाट प्रधानमन्त्री बन्नुपर्ने आफ्नो एजेन्डा दोहोर्‍याए।

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट पराजित भएका ऋषि धमलाले मतदातालाई धन्यवाद दिएका छन् । मत परिणामपछि भिडियो सन्देश दिँदै उनले हारका बाबजुद आफू सधैँ जनताको सेवामा सक्रिय रहने बताए ।

उनले यस क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई बधाई तथा सफलताको शुभकामना दिए । धमलाले चुनाव हारे पनि आफूले रौतहटको जनतालाई नबिर्सने र चौबीसै घण्टा सेवामा खटिने प्रतिबद्धता व्यक्त गरे। 

आफूलाई ‘भुइँ मान्छे’ बताउँदै उनले गरिब तथा निमुखा जनताको स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने आफ्नो मुख्य एजेन्डा रहेको दोहोर्‍याए । धमलाले आफूले मधेसकै भूमिमा आएर मधेसीको छोरा प्रधानमन्त्री हुनुपर्छ भनेको बताउँदै यो भनाइले सार्थकता पाउन लागेको बताए । 

यस्तो छ धमलाको मन्तव्य 

रौतहट ४ का मतदाताहरू, आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू।

यस पटकको निर्वाचनमा तपाईंले मलाई जुन मत दिनुभयो, त्यसको म उच्च सम्मान गर्दै तपाईंहरुप्रति आभार प्रकट गर्न चाहन्छु। र रौतहट ४ को जनताको समस्या समाधान गर्न म जीवनभर बाँचुन्जेल लाग्नेछु। तपाईँलाई साथ दिनेछु।

गरिब निमुखा जनता धेरै छन्। मेरो एउटा एजेन्डा छ, स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन, निःशुल्क। पैसा नहुनेले अब पढ्न पाउनुपर्छ, उपचार गर्न पाउनुपर्छ भन्ने मेरो अभियान जारी रहनेछ।

रौतहट ४ का मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई विजयी गराउनुभएको छ। उहाँलाई म बधाई र सफलताको शुभकामना दिन चाहन्छु। उहाँलाई पनि म भन्न चाहन्छु, अब धेरै किसिमका समस्याहरू छन् रौतहटमा, त्यसलाई समाधान गर्न तपाईँ सक्रिय हुनुस्, तपाईँलाई मेरो साथ र समर्थन रहनेछ।

म यहाँको जनताको समस्या समाधान गर्न आएको हुँ। म चुनाव हारे पनि कहिल्यै पनि यहाँको जनतालाई बिर्सने छैन। यहाँको जनताको सेवा गर्न म चौबीसै घण्टा तल्लीन रहनेछु। बिरामीहरूको उपचार गर्नेछु, निमुखा जनता गरिब जनतालाई साथ दिनेछु, र युवाहरूलाई रोजगारीको लागि मैले पहल गर्नेछु। र किसानहरूलाई बिउ र मल दिनेछु, त्यसमा पनि म कुनै कसर बाँकी राख्दिन।

म जनताको काम गर्न आएको हुँ। मैले जीवनभर जनताको लागि काम गर्नुपर्छ भन्ने एउटा सोच र चिन्तन र सकारात्मक दृष्टिकोण राखेको छु। त्यसैले अब रौतहटका जनताहरूका समस्या समाधान गर्न म फेरि पनि सक्रिय रहनेछु। जनतालाई नै म भगवान् सरह मान्नेछु। म जनताको मान्छे हुँ। भुइँ मान्छे हुँ म। म जनताको सेवा गर्न जन्मिएको मान्छे हुँ।

त्यसैले, रौतहटमा आएँ, धेरै समस्या मैले बुझेँ। जनताले मलाई माया गरेर जति मत दिनुभयो, त्यसको मैले सम्मान गर्नै पर्छ। म आभारी छु।

र आज देशमा एउटा उल्लासमय वातावरण बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले करिब करिब दुई तिहाइ मतको सरकार बनाउँदै छ, बालेन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ। 

मैले मधेसको भूमिमा आएर ५–६ महिना अघि भनेको थिएँ, अब मधेसबाट एक जना व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर। मैले जे भनेको थिएँ त्यही भयो, बालेन शाह यो देशको प्रधानमन्त्री बन्दै हुनुहुन्छ। उहाँलाई दुई तिहाइ मतको समर्थन छ।

र अब देशमा भ्रष्टाचारीलाई कारबाही गर्नु छ, सुशासन चाहिएको छ, डेलिभरी चाहिएको छ, विकास निर्माण तीव्र गतिमा गर्नु छ, युवाहरूलाई रोजगारी दिनु छ, जनतालाई खुसी राख्नु छ, र आमूल परिवर्तन गर्नु छ। जनता परिवर्तनको पक्षमा छन्। ठूला दलले केही पनि गरेनन्। ३५ वर्षमा देश बिगारे, भ्रष्टाचार गरे, कुशासन देशमा दिए। युवाहरूलाई रोजगारी दिएनन्, विदेश पठाए।

त्यसैले यस पटकको निर्वाचनमा जनताले नयाँ शक्तिलाई, वैकल्पिक शक्तिलाई साथ दिए। र नयाँ सरकारले अब गर्नुपर्ने काम धेरै छ। म नयाँ सरकारले के के गर्नुपर्छ भनेर आगामी दिनमा बुँदागत रूपमा प्रधानमन्त्री बनिसकेपछि बालेन शाहलाई पनि भेटेर भन्नेछु। र अहिलेको अवस्थामा भने यो सरकारले चार-पाँचवटा काम गर्नुपर्छ। 

एउटा भ्रष्टाचारी कारबाही, जनयुद्ध आन्दोलन दमन गर्नेलाई अब कारबाही गर्नुपर्छ, सुशासन दिनुपर्छ र युवाहरूलाई रोजगारी दिनुपर्छ। र रौतहटमा एउटा समस्या छ। हाम्रो देशमा उद्योगधन्दा छैन। औद्योगीकरणमा देश अगाडि जान सकेको छैन। र श्रीराम सुगर मिल सञ्चालन गर्नै पर्छ। बालेन शाहलाई मेरो आग्रह छ, तपाईँ प्रधानमन्त्री बनेपछि त्यो काम अगाडि बढाउनुस्। र मधेस प्रदेशका बन्द भएका उद्योगहरूलाई सुचारु गर्नुस् । र देशमा विकासको लहर ल्याउनुस्।

स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुस्। गरिब निमुखा जनताले अब पढ्न पाउनुपर्छ र उनीहरुले उपचार गर्न पाउनुपर्छ। सुविधा सम्पन्न अस्पताल रौतहटमा एउटा बनाउनै पर्छ, त्यसमा मेरो सहयोग र समर्थन रहनेछ। र मेडिकल कलेज निर्माण गर्नुपर्छ। रौतहटलाई चाहिँ अब सम्भावनाको जिल्लाको रूपमा अगाडि बढाऔँ। मधेस प्रदेशमा होइन देशमा समग्र विकास गरौँ। र देशमा अब जनताको लागि काम गरौँ। जय देश, जय जनता, जय रौतहट।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप