मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कञ्चनपुर–३

पत्रकारिता गर्दै राजनीतिमा छिरेका महता अब देखिनेछन् संसद्‌मा

आइतबार, २४ फागुन २०८२, ०१ : १७
आइतबार, २४ फागुन २०८२

सारांश

  • कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता भारी मतका साथ विजयी भए।
  • महताले कांग्रेसका हरि प्रसाद बोहरालाई पराजित गर्दै संसद यात्रा तय गरे, उनले २७ हजारभन्दा बढी मत प्राप्त गरे।
  • निर्वाचित भएपछि महताले सुशासनलाई प्राथमिकता दिने र सरकारी संयन्त्रलाई ट्रयाकमा ल्याउने बताए।

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३  प्रतिनिधि सभा सदस्यमा रास्वपाका नेता ज्ञानेन्द्रसिंह महता भारी मतले विजयी भए । महताले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद बोहरालाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् । 

महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका हुन् । जितपछि महताले आफ्नो टिमले चुनावअघि नै यस्तै परिणामको अपेक्षा गरेको बताए । 

उनी महेन्द्रनगरबा बासिन्दा हुन् । उनको पृष्ठभूमि पत्रकारिता हो । महताले रेडियो र टेलिभिजनमार्फत जनताको आवाज उठाउँदै आएका थिए । कञ्चनपुरमा एक सक्रिय पत्रकारका रूपमा उनी आबद्ध थिए ।‍ रास्वपा गठनपछि भने उनी पत्रकारिता छोडेर पार्टीमा आए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमका इन्चार्ज हुन् । उनले ड्रागन फ्रुटको खेती गर्दै कृषिमा पनि हात हाले । 

अहिले जनताले उनलाई आफ्नो प्रतिनिधि बनाएर सदनमा पठाएका छन् । 

‘कतिपयले हामीलाई हावा हुन् भन्थे, हामी हावा होइन, भ्रष्टाचार र विकृतिलाई उडाउन आएको डढेलो हौँ,’ उनले भने । उनले आफ्नो जितको मुख्य आधार जनताको निराशा र परिवर्तनप्रतिको चाहना भएको बताए ।चुनावी अभियानका क्रममा उनले थुप्रै कुराको अनुभव बटुले । घरदैलोमा जाँदा जनताले आफूलाई ‘जितेर गएपछि फर्किएर आउनुहुन्छ कि हुन्न ? भनेर प्रश्न गरेका महता सुनाउँछन् । 

महताका अनुसार वर्षौँदेखि आश्वासन मात्र पाएका कञ्चनपुर क्षेत्र नम्वर ३ मतदाताहरूले यो पटक न्याय पाउने उनी बताउँछन् । 

‘मैले जनताका आँखामा निराशा मात्र देखेँ । कसैले पनि खुसी भएर हामीले यो पायौँ भन्न सकेका थिएनन् । ३५ वर्षसम्म केही नभएपछि हामीले नयाँ बाटो रोज्नुपर्ने अवस्था आएको हो,’ उनले भने । उनको अबको योजना कुनै ठूला र भ्रामक आश्वासन बाँड्ने होइन, बरु बिग्रिएको सरकारी संयन्त्रलाई ट्रयाकमा ल्याउने हो । संसदमा पुगेपछि महताको पहिलो प्राथमिकता सुशासन हुनेछ । उनले चुनावअघि नै भनेका थिए कि एउटा बिजुलीको पोल हाल्न वा अस्पतालमा सामान्य उपचार पाउन पनि नेतालाई नै भन्नुपर्ने स्थितिको अन्त्य हुनुपर्छ । 

‘हाम्रो शासन प्रणाली नेता केन्द्रित भयो, अब यसलाई पद्धति केन्द्रित बनाउनुपर्छ,’ उनले भने । उनले निर्वाचित भएलगत्तै कञ्चनपुरका सरकारी कार्यालयका प्रमुखहरूसँग बसेर जनताका समस्या किन समाधान भइरहेका छैनन् भन्नेबारे छलफल गर्ने पनि बताए । 

उनको मान्यता छ कि यदि सुशासन मात्र कायम गर्न सकियो भने जनताका ७० प्रतिशत समस्या स्वतः समाधान हुनेछन् । नयाँ पार्टी र युवा जोशका साथ मैदानमा उत्रेका महताले प्राप्त गरेको यो जनमत जिम्मेवारीको ठूलो भारी पनि भएको बताए । ‘अहिले बोलेर भन्दा पनि काम गरेर देखाउने बेला आएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप