बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

सत्ता राजनीतिमा सफल, संसदीय प्रतिस्पर्धामा असफल नारायणकाजी

आइतबार, २४ फागुन २०८२, १२ : ००
आइतबार, २४ फागुन २०८२

सारांश

  • नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट रास्वपाका नरेन्द्र साह कलवारसँग पराजित भए।
  • श्रेष्ठ तेस्रो पटक संसदीय निर्वाचनमा पराजित भएका हुन्, उनले १३ हजार ३३८ मत प्राप्त गरे।
  • पराजित भएपछि श्रेष्ठले क्रान्तिकारी पार्टी निर्माणलाई नयाँ ढंगबाट अगाडि बढाउने सङ्कल्प गरेका छन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ संसदीय निर्वाचनमा तेस्रो पटक पराजित भएका छन् । श्रेष्ठ सर्लाही–३ बाट रास्वपाका नरेन्द्र साह कलवारसँग फराकिलो मतान्तरले पराजित भएका हुन् ।

कलवार ४६ हजार ८९० मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले जम्मा १३ हजार ३३८ प्राप्त गरे । ३३ हजार ५५२ फराकिलो मतान्तरले पराजित भएका हुन् ।

२०६४ सालमा सरकारद्वारा मनोनीत हुने कोटाबाट संविधानसभा सदस्य बनेका श्रेष्ठ योपटक नेकपाको राम्रो आधार रहेका सर्लाही–३ पुगेका थिए । पराजय भएसँगै उनले आगामी दिनमा क्रान्तिकारी पार्टी निर्माणलाई नयाँ ढंगबाट अगाडि बढाउने सङ्कल्प गरेका छन् ।

‘सङ्कल्प गरौँ, आगामी दिनमा हामी क्रान्तिकारी पार्टी निर्माणलाई नयाँ ढंगबाट अघि बढाउन र देश, जनता र श्रमजीवी वर्गको पक्षमा क्रान्तिकारी सङ्घर्षलाई अघि बढाउन एकताबद्ध भई दृढतापूर्वक अघि बढ्नेछौँ’, आइतबार सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठले लेखेका छन्, ‘मेरो लागि निर्वाचन कुनै पद प्राप्त गर्न वा कुनै व्यक्तिगत स्वार्थका लागि थिएन र होइन । विजयी हुँदा वैधानिक जिम्मेवारी सहित देश र जनताको निम्ति संसदीय वा सरकारको मोर्चाबाट काम गरिन्थ्यो भने अहिलेको परिस्थितिमा फरक मोर्चाबाट देश र जनताको पक्षमा निरन्तर क्रियाशील भइरहनेछु ।’

प्रचण्ड नेतृत्वको पछिल्लो सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका श्रेष्ठले सुशासन, सामाजिक न्यायको पक्षमा राम्रो काम गरेकोमा सर्वत्र प्रशंसा पाएका थिए । तर नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देशव्यापी देखिएको जनलहरका कारण उनी यसपटक पनि संसदीय प्रतिस्पर्धामा पास हुन सकेनन् ।

२०६४ सालमा संविधानसभा निर्वाचन सम्पन्न भएपछि खुला राजनीतिमा आएका उनलाई २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारले संविधानसभा सदस्यमा मनोनीत गरेको थियो । पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीले २२९ सिट जितेर पहिलो दल बनेको थियो । त्यतिबेला श्रेष्ठ नेकपा एकता केन्द्र मसालका महामन्त्री थिए । मसालको खुला मोर्चा संयुक्त जनमोर्चाले ९ सिट जितेको थियो । २०६५ साल पुसमा माओवादी र एकता केन्द्र मसालबिच एकता हुँदा उनी उपाध्यक्ष थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा श्रेष्ठ मकवानपुर–२ बाट उम्मेदवार बनेका थिए । त्यस क्षेत्रमा सुवासचन्द्र शाह ठकुरी ११ हजार ६११ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले १० हजार ७४० मत प्राप्त गरे । २०७४ मा सम्पन्न निर्वाचनमा दुई ठुला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रबिच गठबन्धन भएको थियो । त्यसबेला उनी गोरखा–२ मा नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए । भट्टराई ३१ हजार ८०७ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले जम्मा २४ हजार ९३३ मत प्राप्त गरेका थिए ।

संसदीय निर्वाचनमा पराजित भएका उनी २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । एक महिना कार्यकाल बाँकी रहँदा श्रेष्ठले राजीनामा दिएर सर्लाही–३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

२०६५ साल पुसमा माओवादीसँग पार्टी एकता गरेका श्रेष्ठ त्यस यता जनताबाट प्रत्यक्ष निर्वाचित हुन सकेका छैनन् । यद्यपि साबिक माओवादी केन्द्रभित्र धेरै अवसर पाउने नेताका रूपमा गनिन्छन् उनी । नेकपा बन्नुअघि उनी पार्टीका वरिष्ठ उपाध्यक्ष थिए । २०६७ सालमा झलनाथ खनाल नेतृत्वमा उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री, २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, २०७९ सालमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री र २०८० सालमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । जनयुद्ध नलडेको तर पटक–पटक राजकीय अवसर लिइरहेको नेता भनेर पार्टीभित्र उनी आलोचित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप