शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

१५० क्षेत्रको नतिजा सार्वजनिक, १५ क्षेत्रमा मतगणना जारी

आइतबार, २४ फागुन २०८२, १४ : २३
आइतबार, २४ फागुन २०८२

काठमाडौं । प्रतिनिधि सभाका १६५ मध्ये १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १५ क्षेत्रमा मतगणना जारी छ।

निर्वाचन आयोगका अनुसार १५० क्षेत्रको नतिजा आउँदा रास्वपा एक्लैले ११६ स्थानमा जित हासिल गरेको छ। मतगणना जारी रहेका १५ मध्ये १० क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि रास्वपाको लहर देखिएको छ। पार्टीले यो समाचार तयार गर्दासम्म समानुपातिकतर्फ सर्वाधिक १८ लाख ५८ हजार ६५९ मत प्राप्त गरेको छ।

देशका पुराना ठूला दलहरू भने बिहीबार भएको निर्वाचनमा निकै पछाडि परेका छन्। नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १७ स्थानमा चित्त बुझाएको छ । कांग्रेसले समानुपातिकतर्फ ६ लाख ३२ हजार ५९३ मत प्राप्त गरेको छ।

त्यसैगरी, नेकपा (एमाले) ले जम्मा ७ स्थानमा मात्र विजय हासिल गरेको छ भने थप ३ स्थानमा अग्रता कायम राखेको छ। एमालेको समानुपातिक मत ५ लाख ३० हजार ७२३ रहेको छ।

चौथो शक्तिको रूपमा देखिएको नेपाली कम्युनिष्ट पार्टीले ६ स्थान जितेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ। सो पार्टीले समानुपातिकतर्फ २ लाख ५१ हजार ८६४ मत पाएको छ।

यस निर्वाचनमा श्रम संस्कृति पार्टीले २ स्थानमा जित दर्ता गराएको छ भने थप १ स्थानमा अग्रता कायम गरेको छ। यस पार्टीले समानुपातिकतर्फ ८१ हजार ८३८ मत बटुलेको छ।

 त्यस्तै, राप्रपा र स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा जित निकालेका छन् भने समानुपातिकतर्फ १ लाख ३६ हजार ११ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप