सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय गान गाउन अस्वीकार गर्ने ५ इरानी महिला फुटबलरलाई अस्ट्रेलियाले दियो शरण

मङ्गलबार, २६ फागुन २०८२, १२ : ४१
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • अस्ट्रेलियाले एसिया कप फुटबल खेल्न गएका इरानका ५ जना महिला खेलाडीलाई शरण दिएको छ।
  • खेलाडीहरूले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि स्वदेश फर्किंदा दमन हुने डरले शरण मागेका थिए।
  • अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले पनि खेलाडीहरूलाई अमेरिकामा शरण दिन तयार रहेको बताएका थिए।

सिड्नी । एसिया कप फुटबल खेल्न अस्ट्रेलिया पुगेका इरानका पाँच जना महिला खेलाडीलाई अस्ट्रेलिया सरकारले मानवीय भिसा (शरण) उपलब्ध गराएको छ। 

आफ्नो देशको राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि स्वदेश फर्कँदा दमन र सजाय भोग्नुपर्ने डरले उनीहरूले शरणका लागि आवेदन दिएका थिए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा ती बहादुर महिलाहरूको सुरक्षा सुनिश्चित गरिएको र उनीहरू अब अस्ट्रेलियामा सुरक्षित रहने जानकारी दिएका छन्।

शरण पाउने खेलाडीहरूमा जहरा सरबाली अलिशा, मोना हमौदी, जहरा घन्बारी, फातेमेह पसन्दिदेह र आतेफेह रमेजानीजादेह रहेका छन्। उनीहरूलाई सोमबार इरानी सरकारी अधिकारीहरूको नियन्त्रणबाट प्रहरीले उद्धार गरेको थियो। 

हाल उनीहरूलाई प्रहरी सुरक्षामा गोप्य स्थानमा राखिएको छ। टोलीका अन्य सदस्यहरूका लागि पनि अस्ट्रेलियाले सहयोगको ढोका खुला राखेको भए पनि अन्य खेलाडीहरू भने मंगलबार गोल्ड कोस्टस्थित होटलबाट बस चढेर निस्किएको देखिएको छ। ती खेलाडीहरू कहाँ गए भन्ने स्पष्ट भइसकेको छैन।

यस संवेदनशील विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चासो व्यक्त गरेका छन्। ट्रम्पले सुरुमा सामाजिक सञ्जालमार्फत अस्ट्रेलियाले खेलाडीलाई फिर्ता पठाएर गल्ती गर्न लागेको टिप्पणी गरे पनि पछि प्रधानमन्त्री अल्बानिजसँगको फोन वार्तापछि अस्ट्रेलियाको कदमको प्रशंसा गरेका छन्। 

ट्रम्पले यदि अस्ट्रेलियाले नराखेको भए ती खेलाडीलाई अमेरिकाले शरण दिन तयार रहेको समेत बताएका थिए। इरानमा जारी युद्ध र राजनीतिक तनावका बिच ट्रम्पले ती खेलाडी स्वदेश फर्किएमा मारिन सक्ने खतरा औँल्याएका थिए।

इरानी सरकारी टेलिभिजनले दक्षिण कोरिया विरुद्धको पहिलो खेलमा राष्ट्रिय गान नगाएको भन्दै उनीहरूलाई ‘युद्धकालीन गद्दार’ को संज्ञा दिएको थियो। इरानमा इजरायल र अमेरिकाले गरेको आक्रमणमा सर्वोच्च नेता अली खामेनीको मृत्यु भएपछि इरानी टोली चर्को दबाब र तनावका बिच एसिया कप खेलिरहेको थियो। 

आइतबार फिलिपिन्ससँग २-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि ती खेलाडीहरूले आफ्नो जीवन रक्षाका लागि शरण माग्ने निर्णय गरेका हुन्। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले खेलाडीहरूसँगको फोटो सार्वजनिक गर्दै यो उनीहरूका लागि कठिन तर आवश्यक निर्णय भएको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप