बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

रास्वपाको ३५७ प्रतिशत मत बढ्दा कांग्रेस र कम्युनिस्टलाई कति क्षति ?

बुधबार, २७ फागुन २०८२, १९ : २७
बुधबार, २७ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा कीर्तिमान कायम गर्दै सर्वाधिक मत ल्यायो।
  • कांग्रेस, एमाले, र नेकपा लगायतका पुराना दलहरूले सिट संख्या र मतमा गिरावटको सामना गरे।
  • रास्वपाको उदयले राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको छ, अन्य दलहरूलाई असर पार्दै।

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्न लाग्दा रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याएर कीर्तिमान बनाएको हो । एक करोड ७ लाख ३९ हजार ११५ मतगणना हुँदा रास्वपाले सर्वाधिक लोकप्रिय मत पायो । प्रत्यक्षतर्फ पनि १२५ सिट जितेर कीर्तिमान कायम राखेको छ । 

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले प्रत्यक्षमा १२० र समानुपातिक ३१ लाख ४४ हजार २०४ मत प्राप्त गरेको थियो । त्यतिबेला ६०१ सदस्यीय संविधानसभामा २४० प्रत्यक्ष र ३३५ समानुपातिकबाट चुनिने व्यवस्था थियो । 

२०७९ सालको आम निर्वाचनअघि खुलेको रास्वपाले ११ लाख ३० हजार ३४४ मत ल्याएर चौथो ठुलो दल बन्न सफल भएको थियो । प्रत्यक्षतर्फ २१ सिट जितेका थियो । भदौमा भएको जेनजी आन्दोलनका कारण जननिर्वाचित संसद् विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन घोषणा गरेको थियो । जेनजी आन्दोलनको भावनालाई आत्मसात गरी वैकल्पिक शक्तिको सुत्रधार मानिएका विवेकशील साझा, युवामाझ निकै लोकप्रिय काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग एकता गरी निर्वाचनमा होमिएको रास्वपा लगभग दुईतिहाइ सिट (१८२ सिट) प्राप्त गरी प्रभावशाली राजनीतिक दलको रूपमा स्थापित भएको छ । 

तीन वर्षको अवधिमा भएको निर्वाचनमा रास्वपाले १६१ सिट बढाएको छ । चुनावी मैदानमा रास्वपाको आगमनले गौरवशाली इतिहास बोकेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी इतिहासकै खराब स्थितिमा पुगेका छन् । अघिल्लो निर्वाचनमा पहिलो दल रहेको कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकतर्फ १७ लाख ३९ हजार ५८३ मत ल्याएर दोस्रो दल बनेको छ । २०७९ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ८९ सिट र समानुपातिकमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो । यसपटक कांग्रेसले ५१ सिट गुमाएको छ । 

अघिल्लो निर्वाचनमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको एमाले यो निर्वाचनमा प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको छ । समानुपातिकमा १४ लाख ४८ हजार ८५४ मत ल्याएर तेस्रो स्थानमा खुम्चियो । अघिल्लो निर्वाचनमा एमाले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरी पहिलो दल बनेको थियो । २०७० सालदेखि समानुपातिकतर्फ एमाले पहिलो स्थान कायमै राखेको थियो । यसपालि एमालेले ५४ सिट गुमाएको छ । 

Election Result Chart

२०६४ सालमा सर्वाधिक लोकप्रिय मत ल्याएर पहिलो दल बनेको नेपाली कम्युनिस्ट पार्टी २५ वटा वामपन्थी घटक मिलाएर निर्वाचनमा जाँदा समेत इतिहासकै खराब नतिजा ल्याएको छ । प्रत्यक्षतर्फ (धनुषा–१ मा प्राविधिक कारणले प्राप्त एक समेत) गरी ८ सिट जितेको छ । समानुपातिकतर्फ ८ लाख ५ हजार ७७३ मत प्राप्त गरेको छ । २०७० सालदेखि लागातार तेस्रो स्थानमा रहेको नेकपा यो पटक चौथो स्थानमा पुगेको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र एक्लैले ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको थियो । प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट जितेको थियो । 

यद्यपि २०६४ पछिको हरेक निर्वाचनमा मत घटाउँदै आएको छ । अघिल्लो पटक २ लाख ९८ हजार ३९१ मत रहेको नेकपा एकीकृत समाजवादी र दुई लाख ७१ हजार ७२२ मत ल्याएको नागरिक उन्मुक्ति पार्टी लगायत विभिन्न घटकसँग मिलेर निर्वाचनमा जाँदा समेत इतिहासकै खराब नतिजा आउँदा नेतृत्वमाथि प्रश्न उठेको छ । समग्रमा नेकपाले २५ सिट गुमाएको छ ।
 
अघिल्लो निर्वाचनमा एकीकृत समाजवादीले १० सिट जित्दा समानुपातिकमा तीन प्रतिशत थ्रेसहोल्ड समेत कटाउन सकेको थिएन । नाउपाले प्रत्यक्ष र समानुपातिक गरी ४ सिट जितेको थियो । यसैगरी २०७९ को निर्वाचनमा पाँचौँ दल रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक मत ३ लाख २९ हजार ४७२ प्राप्त गरेको छ । प्रत्यक्षमा जम्मा एक सिट जितेको छ । अघिल्लोपटक प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट जितेको राप्रपाले समानुपातिकमा ५ लाख ८८ हजार ८४९ मत ल्याएको थियो । यो निर्वाचनमा राप्रपालाई ९ सिट क्षति पुगेको छ ।
 
अघिल्लो निर्वाचनमा ४ लाख २१ हजार ३१३ मत प्राप्त गरी छैटौँ दल बनेको जनता समाजवादी पार्टी नेपालले यो निर्वाचनमा एक सिट पनि जित्न सकेन । समानुपातिकतर्फ तीन प्रतिशत मत पनि कटाउन नसकेर संसदीय राजनीतिबाट बढारिएको छ । २०६३ सालको मधेस आन्दोलनबाट उदाएको जसपा नेपाल (तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल) र लोकतान्त्रिक समाजवादी नेपालबिच गठबन्धन बनाएर निर्वाचनमा होमिँदा समेत लज्जास्पद हारले मधेस केन्द्रित दलमाथि गम्भीर प्रश्न उठेको छ । 

अहिलेको निर्वाचनमा जसपा नेपालले एक लाख ७४ हजार ३१७ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा ४ लाख २१ हजार ३१३ मत ल्याएको थियो । समानुपातिक र प्रत्यक्ष गरी जसपा नेपालले १२ सिट जितेको थियो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको मधेस प्रवेशले जसपा नेपाल मात्र होइन, सबै मधेसी दल बढारिएका छन् । ३२ निर्वाचन क्षेत्र रहेको मधेसमा रौतहट–२ र धनुषा–१ बाहेक सबै क्षेत्र रास्वपाले कब्जा गरेको छ । अघिल्लो निर्वाचनमा लोसपा नेपालले १ लाख ६७ हजार ३६७ मत प्राप्त गरेको थियो । 

२०७९ सालमा खुलेको डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि मधेसबाट बढारिएको छ । प्रत्यक्षमा एक सिट पनि नजितेको जनमत पार्टीले समानुपातिकतर्फ जम्मा ७८ हजार ९७३ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरी राष्ट्रिय दलको मान्यता प्राप्त गरेको थियो । मधेसमा पृथकतावादी आन्दोलन चलाएर आएका राउतले अघिल्लो स्थानीय तहको निर्वाचनमा दल खोलेका थिए ।
  
२०७४ सालमा पश्चिम नेपालमा थारुवान/थरुहट आन्दोलनबाट राष्ट्रिय राजनीतिमा स्थापित भएको नागरिक उन्मुक्ति पार्टी नेपालले यो निर्वाचनमा जम्मा ६१ हजार ५३४ मत प्राप्त गर्‍यो । अघिल्लो निर्वाचनमा नाउपा २ लाख ७१ हजार ७२२ मत प्राप्त गरेको थियो । 

२०४८ सालको निर्वाचनदेखि भक्तपुरमा लगातार निर्वाचन जित्दै आएको नेपाल मजदुर किसान पार्टी यसपटक शून्य भएको छ । नेमकिपाको गढ मानिने भक्तपुर–१ मा रास्वपाले यो निर्वाचनमा भत्काएर कीर्तिमान राखेको छ । समानुपातिकतर्फ पनि अघिल्लो निर्वाचनमो तुलनामा झन्डै आधा मत खस्किएको छ । अघिल्लो निर्वाचनमा ७५ हजार १६८ मत ल्याएको नेमकिपाले यो निर्वाचनमा ४२ हजार २४० मत प्राप्त गरेको छ ।

यो निर्वाचनमा अर्को कम्युनिस्ट घटक राष्ट्रिय जनमोर्चा बढारिएको छ । २०७८ सालदेखि बागलुङ–१ मा निर्वाचन जित्दै आएको थियो । योपटक नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल गरी निर्वाचनमा गए पनि विरासत जोगाउन सकेन । अघिल्लो निर्वाचनमा ४६ हजार ५०४ मत ल्याएको राजमोले यो निर्वाचनमा जम्मा २९ हजार ४४० मत प्राप्त गर्‍यो । 

अघिल्लो निर्वाचनमा ७ राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता पाएकोमा यसपटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, राप्रपाले मात्र विरासत कायमै राखेको छ । जसपा नेपाल र जनमत पार्टी पत्तासाफ हुँदा भर्खर खुलेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन र समानुपातिकमा ३ लाख ७८ हजार ६४९ मत ल्याएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल भएको छ । यो निर्वाचनमा रास्वपा बाहेक सबै दलको सिट संख्या र मत खस्किएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप