शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरान–टर्की सीमामा दैनिक हजार इरानी पार, शासनबारे बोल्न मानिरहेछन् डर

बुधबार, २७ फागुन २०८२, २१ : ३२
बुधबार, २७ फागुन २०८२

काठमाडौँ । इरान–टर्की सीमाबाट पार हुने इरानी नागरिकहरूको संख्या उल्लेखनीय रूपमा नबढेको पाइएको छ। सीमामा रहेका स्रोतहरूका अनुसार हाल पनि दैनिक करिब एक हजारको हाराहारीमा इरानीहरू टर्कीतर्फ प्रवेश गरिरहेका छन्।

यद्यपि सीमा पार गर्ने धेरैजसो मानिस इरानमा जारी द्वन्द्व र शासन व्यवस्थाबारे खुलेर बोल्न डराइरहेका बीबीसीले लेखेको छ । केही व्यक्तिहरूले आफूहरूलाई सरकारी निकायबाट पत्रकारहरूसँग कुरा नगर्न चेतावनी दिइएको दाबी गरेका छन् ।

सीमामा भेटिएका दुई जनाले आफ्नो मोबाइल फोनमा आधिकारिक सन्देश आएको बताए, जसमा पत्रकारहरूसँग कुनै पनि प्रकारको कुराकानी नगर्न निर्देशन दिइएको उल्लेख थियो । यस्तो सन्देश पाएपछि धेरैजसो मानिसहरू सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्न हिचकिचाइरहेका छन् ।
तेल उद्योगमा कार्यरत इरानी–क्यानाडेली दोहोरो नागरिकता भएका एक इन्जिनियरले आफू निगरानीमा परेको हुनसक्ने डर व्यक्त गरे । उनले आफ्नो फोन तथा कुराकानी सुन्न सकिने आशंका रहेको भन्दै टर्कीको सीमापार पुगेपछि पनि खुलेर कुरा गर्न हिचकिचाएको बताए ।

इस्तानबुलमा रहेका आफ्नी पत्नी र छोरासँग पुनर्मिलनका लागि यात्रा गरिरहेका एक युवाले भने युद्धका कारण आफ्नो जीवन प्रभावित भएको बताए । उनका अनुसार उनी कामका लागि इरानमै बसेका थिए, तर उनको कम्पनीमाथि बम आक्रमण भएपछि उनले जागिर गुमाउनुपरेको थियो । ती युवाले हवाई आक्रमणमा आफ्नो कार नष्ट भएको समेत देखेको बताए । ‘म किन आफ्नो देश छोड्न बाध्य हुनुपर्छ ?’ उनले भावुक हुँदै भने, ‘पछिल्ला दुई दिनदेखि म लगातार रोइरहेको छु ।’

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्देश दिँदै भने, ‘कृपया यो अवस्थाको अन्त्य गर्नुहोस् ।  सर्वसाधारण मानिसहरूलाई क्षति नपुगोस् ।’

सीमामा भेटिएका इरानी नागरिकहरूको अनुभवले युद्ध र राजनीतिक तनावका कारण सर्वसाधारण नागरिकहरू कति प्रभावित भएका छन् भन्ने देखाएको छ । धेरैजसो मानिसहरू सुरक्षित जीवनको खोजीमा देश छोड्न बाध्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप