मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

इरानका नयाँ सर्वोच्च नेता जीवित हुन सक्छन् : ट्रम्प

शुक्रबार, २९ फागुन २०८२, १५ : १७
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता जीवितै रहेको विश्वास व्यक्त गरे।
  • इरानले होर्मुज जलडमरु बन्द गर्ने चेतावनी दिएपछि विश्व तेल बजारमा तनाव बढेको छ।
  • ट्रम्पले इरानमाथि अमेरिकाले कडा सैन्य कारबाही गरिरहेको बताए र उनीहरूलाई कमजोर बनाइरहेको दाबी गरे।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी कुनै न कुनै रूपमा जीवित रहेको विश्वास व्यक्त गरेका छन् । ट्रम्पको यो प्रतिक्रिया इरानी सरकारी टेलिभिजनमा प्रसारित एक सन्देशपछि आएको हो । जहाँ खामेनीले इरानले होर्मुज जलडमरु बन्द गर्ने विकल्प अझै प्रयोग गर्न सक्ने बताएका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै खामेनी अमेरिका–इजरायलको संयुक्त आक्रमणमा सामान्य रूपमा घाइते भएको बताइएको छ । तर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

यसैबिच अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानमाथि अमेरिकाले कडा सैन्य कारबाही गरिरहेको बताएका छन् । उनले भने– ‘उनीहरूले धेरै कुरा गरिरहेका छन् । अब उनीहरूले त्यसको परिणाम देख्नुपर्नेछ । हामी उनीहरूलाई कमजोर बनाइरहेका छौँ ।’ 

अमेरिकाले इरानमाथि दोस्रो विश्वयुद्धपछि कसैमाथि नपरेको जस्तो कडा प्रहार गरिरहेको पनि भनेका थिए । इरानले होर्मुज जलडमरू नाका बन्द गर्न सक्ने सङ्केत दिएपछि विश्व तेल बजारमा तनाव बढेको छ । हाल उक्त जलमार्गमा तेल ट्याङ्करहरूमा आक्रमण भएको र केही जहाज अलपत्र परेको रिपोर्ट आएका छन् । 

आपूर्ति अवरोधको चिन्ताबिच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १०० डलर प्रति ब्यारेल आसपास पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप