'नेपाल बाहिर पनि अर्को नेपाल छ, विदेशीलाई जस्तो एनआरएनलाई नेपालमा लगानीको जोखिम छैन'
सारांश
- एनआरएनएको १२औँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ, जसमा अध्यक्ष महेश श्रेष्ठले देशको विकासका लागि विदेशमा रहेका नेपालीको पुँजी र सीपलाई प्राथमिकता दिनुपर्ने बताए।
- अध्यक्ष श्रेष्ठले नेपाल बाहिर रहेका नेपालीको ठूलो आर्थिक सम्भावना रहेको र उनीहरूको लगानीलाई नेपालको विकासमा लगाउनुपर्नेमा जोड दिए।
- उनले विदेशी लगानीकर्ताले नेपालमा जोखिम देख्ने तर गैरआवासीय नेपालीका लागि त्यो जोखिम नभएको र छुट्टै नीति बनाउनुपर्ने बताए।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ। आगामी चैत २ गतेसम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष महेश श्रेष्ठले देशको विकासका लागि विदेशमा रहेका नेपालीको पुँजी र सीपलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले नेपालको सिमानाभित्र मात्र नेपाल छ भन्ने परम्परागत सोचलाई बदल्नुपर्नेमा जोड दिए। "अहिले एक तिहाइ नेपाली देशबाहिर छन्, यसको अर्थ नेपाल बाहिर पनि अर्को नेपाल छ," उनले भने, "राज्यले नीति, नियम र बजेट विनियोजन गर्दा देशबाहिर रहेको त्यो 'अर्को नेपाल' लाई पनि विचार गरेर बनाउनुपर्छ।"
नेपाल भित्रको नेपाल र नेपाल बाहिरको नेपाललाई जोड्ने मुख्य काम नै एनआरएनएको रहेको उनको भनाइ छ। श्रेष्ठले विदेशमा रहेका करिब ८० लाख नेपालीको वार्षिक आम्दानी विदेशी मुद्रामा २० खर्बभन्दा बढी रहेको तथ्याङ्क प्रस्तुत गर्दै यो अथाह स्रोतलाई नेपालको विकासमा लगाउनुपर्ने बताए। एकातिर नेपालमा स्रोतको अभाव भइरहेको र अर्कोतिर विदेशमा रहेका नेपालीसँग अथाह सम्भावना रहेकाले यसको सही सदुपयोग हुनुपर्नेमा उनले जोड दिए।
वर्तमान अवस्थामा नेपालमा वैदेशिक लगानी भित्र्याउन सहज नभएको उल्लेख गर्दै उनले नेपालको अहिलेको अवस्थालाई सन् ७० को दशकको चीनसँग तुलना गरे। चीनले पनि सुरुमा विदेशमा रहेका चिनियाँहरूलाई सहुलियत दिएर उनीहरूमार्फत पुँजी, प्रविधि र काम गर्ने संस्कृति भित्र्याएपछि मात्र सन् ९० को दशकपछि अन्य विदेशी लगानीकर्ता आकर्षित भएको उदाहरण उनले पेस गरे।
"अहिले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न असाध्यै जोखिम (रिस्क) देख्छन्, तर विदेशमा बस्ने नेपालीहरूका लागि त्यो जोखिम होइन, किनकि यो हाम्रै देश हो," श्रेष्ठले भने।
सोही यथार्थलाई मध्यनजर गर्दै नीति निर्माताहरूलाई 'वैदेशिक लगानी' र 'गैरआवासीय नेपालीको लगानी' लाई फरक ढंगले हेर्न र छुट्टै नीति बनाउन उनले आग्रह गरे। अहिलेको सन्दर्भमा नेपालको विकास गैरआवासीय नेपालीहरूको लगानीबाट मात्र सम्भव रहेको दाबी गर्दै श्रेष्ठले विदेशमा रहेका नेपालीको सम्भावना र स्रोतलाई सदुपयोग गर्न सरकारसँग विशेष अनुरोध गरे।
महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण