सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

उपभोक्तालाई दिइने परिमाणको रेकर्ड राखेर घरायसी प्रयोगकर्तालाई उच्च प्राथमिकता

शनिबार, ३० फागुन २०८२, १९ : ५५
शनिबार, ३० फागुन २०८२

सारांश

  • नेपाल आयल निगमले ग्यास बिक्री वितरणलाई व्यवस्थित बनाउन बिक्रेतालाई उपभोक्ताको विवरण राख्न निर्देशन दिएको छ।
  • निगमले उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री वितरण गर्न आग्रह गरेको छ र उद्योगहरूलाई दैनिक विवरण पेश गर्न निर्देशन दिएको छ।
  • युद्धका कारण आपूर्तिमा परेको असरका बाबजुद, निगमले एलपी ग्यास आधा मूल्यमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित बनाउन बिक्रेताले उपभोक्तालाई बिक्री गरेको ग्यासको विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ । साथै घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न आग्रह गरिएको छ ।

निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बिक्रेताले उपभोक्तालाई बिक्री गर्दा उपभोक्ताको नाम, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अनिवार्य रूपमा रेकर्ड राख्नुपर्ने जनाएको हो । सो विवरण सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

निगमका अनुसार ग्यास उद्योगहरूले आफ्नो उद्योगबाट विक्रेतालाई बिक्री गर्ने ग्यासको परिमाण, बिक्रेताको ठेगाना र सम्पर्क नम्बरसमेत सार्वजनिक गर्नुपर्नेछ । उक्त विवरण हरेक दिन बिहान १० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन उद्योगहरूलाई निर्देशन दिइएको छ ।

निगमले घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्री–वितरण गर्न ग्यास उद्योगी तथा विक्रेताहरूलाई अनुरोध गरेको छ । बजारमा देखिएको असहजता न्यूनीकरण गर्दै वास्तविक उपभोक्तासम्म ग्यास सहज रूपमा पुग्ने वातावरण बनाउन यस्तो व्यवस्था गरिएको निगमले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

निगमले हालको परिस्थितिलाई दृष्टिगत गर्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि ग्यास उद्योगहरूले प्रति सिलिण्डर १४.२ केजी एलपी ग्यास आधा मूल्यमा बजारमा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि जनाएको छ । यसअनुसार उपभोक्ताले प्रति सिलिण्डर ९५५ रुपैयाँमा ग्यास प्राप्त गर्नेछन् ।

प्रेस विज्ञप्तिमा मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको उल्लेख गर्दै पनि नेपालमा भने नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गर्दै बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप