मण्डलाको त्यो नाटक जसले मोड्यो रोशनीको लक्ष्य
सारांश
- रोशनी कार्कीले 'लालिमा' फिल्मबाट नायिकाको रूपमा डेब्यु गरेकी छिन्, जसमा उनले यौनकर्मीको भूमिका निभाएकी छिन्।
- फिल्म 'लालिमा' यौनकर्मीहरूको कथामा आधारित छ, जसमा रोशनीले चुनौतीपूर्ण भूमिकाका लागि तयारी गरेकी थिइन्।
- रोशनीले थिएटर र म्युजिक भिडियोमा काम गरेर अनुभव बटुलेपछि फिल्ममा प्रवेश गरेकी हुन्, र उनले आगामी फिल्ममा पनि काम गर्नेछिन्।
काठमाडौँ । फिल्म क्षेत्रमा प्रवेश गर्नुमा धेरैको उद्देश्य हुन्छ- व्यावसायिक सफलता र चर्चाको भोक । रोशनी कार्कीको हकमा कलाकारिताको परीक्षण थियो । रोशनीले आफ्नो क्षमता जाँच्न रोजेको फिल्म हो- ‘लालिमा’ । यो फिल्म गत शुक्रबारबाट सिनेमा हलमा आइसकेको छ । यसै फिल्म मार्फत उनले नायिकाको रूपमा डेब्यु गरेकी छन् ।
‘लालिमा’ यौनकर्मीहरूको कथामा आधारित फिल्म हो । फिल्ममा रोशनीले एक यौनकर्मीको भूमिका निर्वाह गरेकी छन् । जुन उनका लागि अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील थियो । समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण र पात्रको मनोवैज्ञानिक पाटो बुझ्न उनले निकै मिहिनेत गरिन् । कलाकारका रूपमा आफ्नो अभिनय कौशल देखाउने पर्याप्त ठाउँ भएकाले नै यो फिल्म रोजेको उनी बताउँछिन् ।
‘कलाकार भएपछि चरित्रलाई ‘जज’ नगरी काम गर्न सक्नुपर्छ’, रोशनी भन्छिन्, ‘यसमा केही अप्ठ्यारा दृश्यहरू पनि छन्, जुन एक कलाकारका लागि चुनौतीपूर्ण कुरा हो । धेरै कलाकार यस्ता भूमिका गर्न डराउनुहुन्छ, तर मलाई आफ्नो अभिनयमा निखार चाहिएको थियो ।’ आफ्नो अभिनय क्षमता कतिसम्म रहेछ भन्ने कुरा थाहा पाउन फिल्म ‘लालिमा’ रोजेको उनी बताउँछिन् ।
_QFZqStQb62.jpg)
फिल्ममा उनी ‘लालिमा’ नामक यौनकर्मीको भूमिकामा छिन् । आफ्नो चरित्रलाई जीवन्त बनाउन उनले वास्तविक यौनकर्मीहरूसँग समय बिताइन् । सुरुमा उनीहरूसँग कुरा गर्न केही असहज महसुस भए पनि उनीहरूको भोगाइले आफूलाई भावुक बनाएको उनी सुनाउँछिन् । ‘उनीहरूसँग ४–५ घण्टा बसेर कुराकानी गर्दा जीवनका यस्ता पत्रहरू खुले, जुन समाजले कहिल्यै देख्दैन,’ रोशनी भन्छिन् । ‘लालिमा’ समाजको ऐना हो भएको उनी बताउँछिन् ।
फिल्ममा रोशनीसँगै उषा रजक, शिशिर बाङ्देल, जीवन भट्टराई, सविन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको मुख्य भूमिका छन् । फिल्मको निर्देशन रोशन मिराजले गरेका हुन् ।
_GrdkjrpahZ.jpg)
- नाटक र म्युजिक भिडियोपछि फिल्म
फिल्ममा आउनुअघि रोशनीले ३०० भन्दा बढी म्युजिक भिडियोमा काम गरेर आफूलाई निखारेकी थिइन् । म्युजिक भिडियो उनका लागि व्यावसायिक रूपमा टिकिरहने माध्यम त बन्यो, तर उनलाई सधैँ एउटा यस्तो भूमिकाको खोजी थियो, जसले उनको अभिनय क्षमतालाई न्याय गरोस् । त्यो खोजी फिल्म ‘लालिमा’मा आएर पूरा भएको उनी बताउँछिन् ।
११ वर्ष थिएटरमा बिताएकी रोशनीले मण्डला थिएटरबाट कलाकारिता सुरु गरेकी हुन् । त्यहाँ सिक्दै र काम गर्दै लगातार चार-पाँच वर्ष नाटकमा काम गरिन् । त्यससँगै उनले म्युजिक भिडियोमा गर्न थालिन् । केही विज्ञापनमा पनि काम गरिन् । त्यसपछि उनले ‘परदेशी २’, ‘ब्लाइन्ड रक्स’, ‘श्री बुकुरो’, ‘सुश्री सम्पत्ति’ जस्ता फिल्ममा सहायक पात्रको भूमिका निर्वाह गरिन् । सहायक भूमिका गर्दाको सफलताले उनको ठुलो पर्दाको मुख्य भूमिकाप्रति लोभ पलाएको हो । त्यसैले उनले नायिकाको रूपमा ‘लालिमा’ रोजिन् ।
‘लालिमा’ पाउनुमा थिएटरकै हात छ । त्यतिबेला उनी ‘मन्टेज’ नाटक गर्दै थिइन् । नाटकका लागि उनी थिएटरमै भएको समय थिएटरकै अग्रजहरूले कास्टिङ गरिरहेको उनले थाहा पाइन् । सोही क्रममा उनलाई फिल्ममा अफर आयो ।
_dKNgePLTza.jpg)
‘सुरुमा महिलाको विषयवस्तु भनेपछि गर्नुपर्छ भन्ने भएको थियो’, रोशनी भन्छिन्, ‘कथावस्तु हेरिसकेपछि चाहिँ अझै गर्नुपर्छ जस्तो लाग्यो ।’ सहायक भूमिकाबाट मुख्य नायिकाको रूपमा पर्दामा देखिँदा समाजको हेर्ने नजर बदलिएको उनको अनुभव छ ।
‘हिजो सहायक भूमिका गर्दा कसैले खासै वास्ता गर्दैनथे, तर आज मुख्य क्यारेक्टरमा देखिँदा जिम्मेवारीको भारी महसुस भएको छ’, उनी भन्छिन्, ‘मान्छेहरूले राख्ने अपेक्षा नै मेरा लागि चुनौती र ऊर्जा दुवै हो ।’ पहिलो फिल्म अभिनयका कारण सबैतिरबाट सकारात्मक प्रक्रिया दिइरहेको उनी बताउँछिन् ।
हुन त नेपाली समाजमा अभिनयलाई पूर्ण पेसाका रूपमा स्वीकार गर्न अझै पनि धेरै परिवार हिच्किचाउँछन् । तर रोशनीको हकमा परिवारको मानसिक साथ सुरुदेखि नै रह्यो । ‘भौतिक रूपमा ठुलो सहयोग नभए पनि मेरो इच्छालाई परिवारले कहिल्यै मारेन, त्यसैले म आज यहाँ छु’, उनी आफ्नो सफलताको श्रेय परिवारलाई दिन्छिन् । पछिल्लो समय ग्लामरको चमक देखेर अभिनयमा आउन चाहने युवाहरूलाई भिड छ । सपना देख्नु राम्रो हो, तर आफ्नो धरातल र सिकाइ बलियो बनाएर मात्र आउन उनी सुझाउँछिन् । उनी नयाँ पुस्तालाई अभिनय पहिले एकपटक थिएटर जान सल्लाह दिन्छिन् । थिएटरले मान्छेलाई क्षमता चिन्न र करिअरको दिशा स्पष्ट पार्न मद्दत गर्ने उनको विश्वास छ ।
- डान्सर बन्न आएकी थिइन् काठमाडौँ
इलामको चिसो हावापानीमा हुर्किएकी रोशनी २०७१ सालमा काठमाडौँ छिरेकी थिइन् । काठमाडौँ छिर्नुको उनको उद्देश्य ‘प्लस टु’ पढ्ने र व्यावसायिक डान्सर बन्ने थियो । इलाममा छँदा उनी चर्चित डान्सर थिइन् र आफ्नो नृत्यलाई विश्वव्यापी बनाउने सपना बोकेर राजधानी आएकी हुन् । तर काठमाडौँको महँगीले गर्दा सुरुवाती दिनहरू उनका लागि सहज भएनन् । पैसाको अभावमा उनले नृत्य सिक्ने सपना थाँती राखेर पढाइलाई मात्र निरन्तरता दिनुपर्यो । त्यही समयमा एक परिचित दाइ संयोग गुरागाईं मार्फत उनले मण्डला थियटरमा ‘जेरो जेरो जेड’ नामक नाटक हेर्ने अवसर पाइन् । त्यही एउटा नाटकले उनको जीवनको दिशा बदल्यो ।
_pJ5tcLoSSI.jpg)
‘त्यो नाटक हेरेपछि मलाई लाग्यो मेरो खुसी त अभिनयमा पो रहेछ’, उनी ती दिन सम्झिन्छिन्, ‘मञ्चको त्यो जीवन्त प्रस्तुतिले मलाई यति तान्यो कि मैले आफ्नो नृत्यको सपनालाई अभिनयसँग साटिदिएँ ।’ त्यसपछि सुरु भएको उनको रङ्गमञ्चीय यात्राले उनलाई फिल्मको पर्दाको मुख्य हिरोइनसम्म ल्याइपुर्यायो ।
रोशनीले अहिलेसम्म ‘मन्टेज’, ‘शिल्पिनी’, ‘क्लेशा’ लगायत १५ भन्दा बढी नाटकमा अभिनय गरिसकेकी छिन् । ‘क्लेशा’ नाटक लिएर उनी भारतको प्रतिष्ठित ‘भारत रङ महोत्सव’सम्म पुगिन् । जसले आफ्नो अभिनयलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराएकोमा उनी गर्व गर्छिन् । फिल्म अभिनयलाई निरन्तरता दिने सोच बनाएकी उनी थिएटरमा काम गरिरहन चाहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण