सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
विचार

विचारहीनताको बाटो हिँडेको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको मार्गचित्र

सोमबार, ०२ चैत २०८२, १७ : ००
सोमबार, ०२ चैत २०८२

सारांश

  • नेपाली वामपन्थी आन्दोलन २०८२ को निर्वाचनमा पराजित भयो, जसले वैचारिक विचलन र नेतृत्वको कमजोरीलाई उजागर गर्यो।
  • लेखमा वामपन्थी पार्टीहरूले वैचारिक शुद्धीकरण, नयाँ नेतृत्वको विकास, र स्थानीय सरकारलाई क्रान्तिको केन्द्र बनाउनुपर्ने कुरामा जोड दिएको छ।
  • लेखकका अनुसार, किसान, मजदुर, र श्रमिक वर्गलाई केन्द्रमा राख्दै एकताको नयाँ मोडल निर्माण गरेर कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न सकिन्छ।

एउटा समय थियो, नेपाली जनताको छातीमा वामपन्थी विचार मुटुको धड्कन जस्तै थियो। पुष्पलालले कलकत्तामा साम्यवादको जग बसाल्दा त्यो विचार मात्र थिएन, त्यो एउटा मुक्तिको आन्दोलन थियो। तीसको दशकको अन्त्यदेखि नै म र मजस्ता लाखौँको बालमस्तिष्कमा कम्युनिस्टको गहिरो छाप गडेको थियो । 

पटक–पटक कम्युनिस्ट नेताहरूले कम्युनिस्ट आन्दोलन र सर्वहारा, श्रमिक, शोषित–पीडित र राष्ट्रिय पुँजीपति वर्गको विरुद्ध शृङ्खलाबद्ध गरेका हजारौँ कुकृत्यहरूका बाबजुद पनि कम्युनिस्टहरू नै यो समाजको रूपान्तरणका संवाहक हुन् जस्तो लाग्दथ्यो । २०१५ सालको आम निर्वाचनदेखि लिएर २०७४ सालको ऐतिहासिक जनादेशसम्म, नेपाली जनताले कम्युनिस्ट पार्टीहरूलाई पटक–पटक शासन सत्ता सम्हाल्ने अवसर दिए। तर जतिसुकै राम्रो खास्टोले बिरालोलाई छोपे पनि बिरालो म्याउँ गर्दछ भनेझैँ बारम्बार अवसर पाउँदा पनि त्यो सिङ्गो शक्ति केही तस्कर, भ्रष्टाचारी र गुटका आसेपासेलाई मात्रै संरक्षण गर्ने अति असक्षम, अयोग्य, अहङ्कारी, आडम्बरी र गैरजिम्मेवार नेतृत्वको कारण देशैभरि कम्युनिस्ट जनमत हुँदाहुँदै पनि २०८२ को मध्यावधि निर्वाचनमा जनताले वामपन्थी आन्दोलनलाई ऐतिहासिक रूपमा बहिष्कार गर्दै नवोदित नवउदारवादी प्रजातान्त्रिक (सैद्धान्तिक धार प्रस्ट हुन बाँकी रहेको) शक्तिलाई सत्तामा पुर्‍याएका छन् । 

कम्युनिस्ट चेत गुमाइसकेका र कम्युनिस्टको नाममा देश र जनतालाई अनवरत लुटिरहेका कलङ्कित, असक्षम र पदलोलुप कायर कम्युनिस्ट नेतृत्व र यसका आसेपासेहरू यसलाई लोकप्रियतावाद र विदेशीको चलखेलको नाममा आफ्ना काला कर्तुत र असक्षमता ढाक्न प्रयास गर्दैछन् तर यिनीहरूले जति नाटक रचे पनि कथित अनुभवी भनिएका कम्युनिस्ट नेताहरूको नक्कली चरित्र निश्चित रूपमा उदाङ्गिनेछ र इमानदार नेताको नेतृत्वमा फेरि कम्युनिस्ट आन्दोलन सङ्गठित हुन सक्ने सम्भावना उजागर हुनेछ । नेपालमा फेरि पनि कम्युनिस्टहरू किन फस्टाउनेछन् भने नेपालको विविधता, गरिबी, र सामाजिक न्यायको लागि समाजवादी आर्थिक विकासको मोडल नै यो देशको सामाजिक न्याय प्रवर्द्धन गर्ने अचुक मन्त्र हो । 

स्मरण रहोस्— हालको यो परिवर्तन आकस्मिक थिएन, यो वर्षौँको वैचारिक भ्रष्टाचार, नेतृत्वको पतन र क्रान्तिकारी कार्यक्रमको शून्यताको परिणाम हो। यद्यपि, यो पराजय वामपन्थी विचारको मृत्युको बदला वामपन्थी पुनर्जन्मको अवसर पनि हुन सक्दछ। तर त्यसका लागि वामपन्थी भनिने पार्टीहरूमा बचेखुचेका क्रान्तिकारी कार्यकर्ताहरूले वर्तमान नेतृत्वको चिरफार गर्नैपर्दछ र नयाँ नेतृत्व विकास गर्नैपर्दछ ।

  • विचारको मृत्यु : पहिलो महाअपराध

नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो पतनको कारण भनेको नै वैचारिक स्पष्टताको पूर्ण विलय हुनु हो । संसारभरि कम्युनिस्ट विचार सङ्कटमा परेको बेलामा मदन भण्डारीले जनताको बहुदलीय जनवादको विचार प्रतिपादन गरेर कम्युनिस्ट आन्दोलनलाई गति दिनुभएको थियो भने माओवादी खेमाका प्रचण्ड तथा मोहन वैद्यहरूले २१औँ शताब्दीको जनवादको कुरा गरेर क्रान्तिको लागि ऊर्जा सङ्कलन गर्दै जनयुद्धसमेत गर्नुभयो तर विडम्बना सरकारमा पुगेपछि यी सबै सिद्धान्तहरू सत्ता प्राप्ति, तस्कर र भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने गठबन्धनको राजनीतिमा विलय भए।

जब कम्युनिस्ट पार्टीको प्राथमिकता किसान र मजदुरको मुक्तिभन्दा पनि बेलायत र अमेरिकासँगको सम्बन्ध सुमधुर बनाउनमा केन्द्रित हुन थाल्यो, एमसीसी, एसपीपी, महाकाली सन्धि जस्ता कुराहरूमा ध्यान जान थाल्यो, गैससका मार्गचित्रमा पार्टीका नीतिहरू महाधिवेशनबाट पारित हुन थाले, जब पार्टीको आधिकारिक अङ्गले मार्क्सवादभन्दा पनि ग्लोबलाइजेसनको प्रशंसा गर्न थाल्यो, त्यहीँबाट वामपन्थी आन्दोलनले आफ्नो आत्मा गुमायो। कस्तो विडम्बना भने जनताको बहुदलीय जनवादको आवरणमा बनेको दुईतिहाइको शक्तिशाली सरकार नवउदारवादको प्रवक्ता बनेर एमसीसी जस्तो राष्ट्रघाती परियोजना संसद्‌बाट पारित गराउनुपर्दछ भन्दै वकालत गर्न थाल्यो । केपी ओली नेतृत्वको एमाले होस् वा प्रचण्ड नेतृत्वको माओवादी विचारविहीन भिडमा रूपान्तरण भयो । सङ्घ, प्रदेश र स्थानीय सरकारमा बलियो उपस्थिति हुँदाहुँदै पनि कुनै पनि तहका सरकारहरूका नीति, कार्यक्रम र व्यवहारमा जनताको बहुदलीय जनवाद वा एक्काइसौँ शताब्दीको जनवादको गन्धसमेत आएन । 

यस्ता विचारविहीन पार्टीहरूको नेतृत्वमा भएका सरकारहरूले सिङ्गो देशलाई निराश बनाए । विचारहीन वामपन्थ भनेको त केवल एउटा चुनावी लेबल मात्र हो, जसले जनतालाई केही दिन सक्दैन र नेपालमा पनि त्यस्तै भयो । २०७४ पछिको दुईतिहाइ बहुमतको सरकारले न त भूमिसुधार लागु गर्न सक्यो, न राष्ट्रिय पुँजीको निर्माण गर्ने नीति तथा कार्यक्रम ल्याउन सक्यो न त शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न नै सक्यो । उल्टै शक्तिशाली प्रधानमन्त्री एकदम महँगा निजी अस्पतालहरू र निजी कलेजहरू उद्घाटन गर्दै हिँड्न थाले । सर्वहारा वर्ग र गरिबहरूलाई यति उपहास गरे कि देशमा लाखौँ बालबालिकाहरू अध्ययन गर्ने सरकारी विद्यालय र कलेजहरूमा न्यूनतम सुविधाहरू छैनन् तर कम्युनिस्ट सरकार अर्बौंको जलहरी बनाएर क्रान्तिकारी छवि भएको दाबी गर्दछ त्यो भन्दा दक्षिणपन्थी विचार के हुन सक्दछ ? मौका पाउँदा सबै कम्युनिस्ट सरकारहरू नै अन्तर्राष्ट्रिय पुँजीवादी एजेन्डा बेच्ने ठेकेदार बने । नेपाललाई निर्वाध विदेशी उत्पादनको बजार र नेपालीहरूलाई उपभोक्ता बनाउने होडमा सरकार सञ्चालन गरे । 

बिचरा कम्युनिस्ट सरकारहरू ! केही वितरणमुखी काम गरेर आफू निकै विकासप्रेमी भएको भ्रम छर्न प्रयास त गरे तर चेतनशील जनताहरूले तिनको दाबीलाई खारेज गरिदिए । आफूलाई कथित राष्ट्रवादी हौँ भने तर दैनिक हजारौँ युवाहरूले सामान्य रोजगारीको लागि देश छोड्नुपर्ने बाध्यतालाई रहरले विदेश गएका भन्ने भद्दा मजाक गरिरहे । उनीहरूले नेपाली समाज र युवाहरूमाथि घृणित तरिकाले मजाक गर्दा पनि त्यो वर्गले हामीलाई नै भोट हाल्दछ भन्ने दिवास्वप्न भने देखिनै रहे ।

  • नेतृत्वको दक्षिणपन्थीकरण : दोस्रो महाअपराध

नेपाली कम्युनिस्ट आन्दोलनको अर्को गम्भीर रोग भनेको नेतृत्वको चरम दक्षिणपन्थी प्रवृत्ति हो । अहिलेका कम्युनिस्ट पार्टीहरूको नेतृत्व फेजआउट र आउटडेटेड भइसक्यो । यिनै नेताहरूको यस्तै नेतृत्व क्षमता र नेतृत्व शैलीले आगामी दिनमा कम्युनिस्ट पार्टी चलाउन सक्दैनन्। अहिलेका कम्युनिस्ट पार्टीहरूको नेतृत्वले जबजब सत्ता प्राप्त गरे तब उनीहरूको प्रतिस्पर्धा नै को बढी दक्षिणपन्थी र नवउदारवादी बन्ने भन्नेमा थियो । सत्ता बाहिर बस्दा नागरिक विधेयक राष्ट्रविरोधी देख्दछन् सत्तामा पुगेपछि अध्यादेश ल्याएर पारित गर्दछन् । सत्ता बाहिर हुँदा काङ्ग्रेसले देशको कलकारखाना बेच्यो भन्दछन् सत्तामा पुगेपछि निजीकरण गर्ने प्रस्ताव पारित गर्दछन् र बन्द भएका कुनै पनि कलकारखाना चलाउन पहल गर्दैनन् । 

दुनियाँमा कम्युनिस्टहरू सत्तामा पुग्दा कत्रो क्षति भएको छ तर नेपालमा जनताको मतद्वारा सर्वाधिक शक्तिशाली पार्टी बन्दा पनि नेतृत्वको पदको लोभ र अहङ्कारले गर्दा कम्युनिस्ट आन्दोलन नै क्षतविक्षत भयो । हजारौँको कोख रित्तिएर, सिउँदो उजाडिएर, घरबारविहीन भएर, जवानीको कुर्बानी दिएर उठेको आन्दोलनलाई सीमित व्यक्तिको अहङ्कार र पदलोलुपताले तहसनहस बनायो । यसरी कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गर्नेहरूलाई स्वयम् कम्युनिस्ट कार्यकर्ताहरू र समर्थकहरूले क्षमा गर्लान् ? सर्वहारा वर्गको उत्थान र सामाजिक न्यायसहितको समाजवादी व्यवस्थाको भ्रूणलाई निमोठ्ने गद्दारहरूलाई इतिहासले क्षमा गर्ला ? के कम्युनिस्ट पार्टीभित्र फेरि कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सक्ने नेतृत्वको सम्भावना छैन होला र ? यिनै प्रश्नहरूको उत्तरमा कम्युनिस्ट पार्टीको भविष्य निर्भर रहनेछ ।

प्रचण्ड, जसले एक समय सामन्तवाद र साम्राज्यवादविरुद्ध जनयुद्धको नेतृत्व गरेका थिए तर सत्ता साझेदार भएपछि व्याख्यात्मक टिप्पणीको नाममा एमसीसी पारित गरेको नेपाली जनताले कहिल्यै बिर्सन सक्दैनन् । केपी ओली, जो आफूलाई मार्क्सवादी र कम्युनिस्ट ठान्दछन् तर उनले नै राष्ट्रिय कलकारखानाहरू बेच्ने नीति पास गर्दछन् । कथित राष्ट्रवादको वकालत गरेको स्वाङ गर्दछन् तर सत्ता टिकाउन नागरिक विधेयक अध्यादेशबाट ल्याउँदछन्, धन्न अदालतले खारेज गरिदियो । समाजवाद र उन्नत समाजको कुरा त गर्दछन् तर भुटानी शरणार्थीका अपराधीहरू, वाइडबडी, यती, ओम्नी, भिजिट भिसाका दोषीहरूलाई संरक्षण गर्न सिङ्गो पार्टी र सरकारको सामर्थ्य लगाउँदछन् । कम्युनिस्ट नेतृत्वको यस्तै दक्षिणपन्थीकरणले कम्युनिस्ट कार्यकर्ताको मनोबल भताभुङ्ग बनायो। देशैभरि कम्युनिस्ट जनमत हुँदाहुँदै पनि असक्षम नेतृत्वको कारण दिनप्रतिदिन कम्युनिस्टहरूको शक्ति तथा क्रान्तिकारीपन क्षीण हुँदै गएको छ ।

  • स्थानीय र प्रदेश सरकारहरू दृष्टिकोणविहीन : अवसरको हत्या

वामपन्थी आन्दोलनको तेस्रो र सबैभन्दा दयनीय पक्ष भनेको नै स्थानीय र प्रदेश सरकारहरूको निष्क्रियता हो । संविधानले स्थानीय तहलाई ठूलो अधिकार दिएको छ। किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्ने अधिकार स्थानीय सरकारसँग छ। विद्यालयको पाठ्यक्रमदेखि स्थानीय बजारको नियमनसम्म स्थानीय सरकारले गर्न सक्दछ। तर, प्रदेश र स्थानीय तहको नेतृत्वमा रहेका वामपन्थी सरकारहरूले के गरे? के उनीहरूले लाल सहर वा सामूहिक खेती प्रणाली, वा सामूहिक उत्पादनको मोडल विकास गरे? स्थानीय स्तरमा शैक्षिक गुणस्तर, ज्ञानमा आधारित अर्थतन्त्र, उत्पादन सम्बन्धको फेरबदल, सर्वहारा र श्रमिक वर्गहरूको लागि नयाँ–नयाँ अवसरहरू केही सिर्जना गर्न सके ? यस्तो केही भएन । न उत्पादन पद्धतिको विकास, न राष्ट्रिय पुँजीको निर्माण, भयो त केवल बकवासपूर्ण भाषण र झुटा आश्वासन र दाबी मात्रै।

उनीहरूले के गरे भने, केन्द्र सरकारकै जस्तो फाइल घुमाउने काम मात्रै गरिरहे । भौतिक पूर्वाधारहरू केही विकास गरेका पालिकामा पनि आम जनताको मन जित्ने भन्दा पनि आफ्नै मानिसहरूलाई बारम्बार ठेक्का दिने जस्ता आरोपहरू उनीहरूमाथि लाग्ने गरेको छ । गाउँपालिका वा नगरपालिका अध्यक्षले कम्युनिस्ट भएर के गरे भन्दा पनि, काङ्ग्रेसी अध्यक्षले जस्तै सडक कालोपत्रे र बत्ती जडान गर्ने काम मात्रै गरिरहेका छन् । 

जब कम्युनिस्ट पार्टीका जनप्रतिनिधिहरू काङ्ग्रेस र राप्रपाका जनप्रतिनिधिभन्दा फरक नभएको जनताले महसुस गरे तब जनताले उनीहरूलाई फाल्न किन पो ढिलाइ गर्थे र ? कम्युनिस्टहरूलाई मूलप्रवाहबाट हटाउने प्रक्रियाको सुरुवात नै २०८२ को पराजयको मुख्य कारण हो। स्मरण रहोस्, तीव्र विकासको मार्गमा अगाडि बढिरहेका संसारका धेरै देशहरूको कथा नेपाली जनताहरूले नजिकबाट हेरिरहेको अवस्थामा उखानटुक्का र निकृष्ट भाषणहरूलाई जनताले तिरस्कार गरेका छन् ।

के कम्युनिस्ट आन्दोलनको पुनर्जन्म सम्भव छ ? एउटा क्रान्तिकारी खाका

यदि नेपालमा वास्तविक कम्युनिस्ट पार्टी बनाउने हो र वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्ने हो भने, केही ठोस र क्रान्तिकारी कदम चाल्नैपर्दछ, अन्यथा आगामी दिनमा कम्युनिस्ट पार्टीको नाममा केही बाँकी रहनेछैन, रहनेछ त केवल एउटा चुनावी लेबल मात्र।

१. वैचारिक शुद्धीकरण

सबैभन्दा पहिले, कम्युनिस्ट पार्टीहरूले वैचारिक शुद्धीकरण गर्नैपर्नेछ । जो नेता वा कार्यकर्ता मार्क्सवाद, लेनिनवाद र माओवाद वा विचारधाराका आधारभूत सिद्धान्त नबुझी, केवल चुनाव जित्नको लागि मात्र पार्टीमा बसेका छन्, उनीहरूलाई जिम्मेवारीबाट हटाउनैपर्नेछ । मार्क्सवाद भनेको जडता होइन यो गतिशील विज्ञान हो । संसारभरि मार्क्सवादको सिर्जनशील तरिका कसरी प्रयोग गरिएको छ ? मार्क्सवादमा आधारित विकास मोडलहरू कसरी विकसित गरिएको छ र लागु गरिएको छ ? विश्वका अन्य कम्युनिस्ट देशहरूले उत्पादन सम्बन्धहरू कसरी विकास गरिरहेका छन् ? नेपालको सन्दर्भमा छरिएर रहेका कम्युनिस्टहरूलाई कसरी एकत्रित गरेर विकासको गति सिर्जना गर्न सकिन्छ जस्ता कुराहरूमा कम्युनिस्ट पार्टीका सदस्यहरू दीक्षित हुने गरी पार्टीभित्र वैचारिक परीक्षा अनिवार्य गर्नुपर्दछ । सबै तहका कमिटीहरूमा सैद्धान्तिक छलफल र पार्टीको सिद्धान्तमा आधारित विकास मोडलको पनि अनिवार्य गर्नुपर्दछ । स्मरण रहोस् विचारविहीन कार्यकर्ता भनेको तोपविहीन सेना जस्तै हो र अहिलेका कम्युनिस्ट पार्टीको मूल समस्या नै यही हो ।

२. नेतृत्वको चिरफार

दोस्रो, नेतृत्व तहमा रहेका दक्षिणपन्थी, अवसरवादी र अक्षम नेतृत्वलाई हटाउनैपर्छ। पटक–पटक अवसर पाएका पुराना पुस्ताका नेताहरूले आफ्नो समय गुमाइसके । यस बदलिँदो परिवेशमा अब उनीहरूले कम्युनिस्ट पार्टीको नेतृत्व गर्न सक्दैनन्। आजीवन केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य भइरहने र केवल सत्ता र शक्तिको लागि मात्र राजनीति गरिरहने प्रवृत्ति तुरुन्त अन्त्य गरिनुपर्दछ । २१औँ शताब्दी भनेको ज्ञान, प्रज्ञान र प्रविधिको शताब्दी हो । निश्चित शैक्षिक योग्यता नभएका व्यक्तिहरूले पार्टीको नेतृत्व गर्न सक्दैनन् त्यसकारण अब युवा उमेर समूहका जुझारु, सैद्धान्तिक रूपले प्रतिबद्ध कार्यकर्तालाई नेतृत्वमा ल्याउनुपर्दछ र मार्क्सवादमा आधारित विकासको मोडललाई हाँक्न सक्ने व्यक्तिहरूलाई नै नेतृत्वको अवसर दिनुपर्दछ ।

३. स्थानीय सरकारलाई क्रान्तिको केन्द्र बनाउने

तेस्रो, स्थानीय र प्रदेश सरकारहरूलाई क्रान्तिको प्रयोगशाला बनाउनुपर्दछ । कम्युनिस्ट पार्टीको बहुमत रहेका स्थानीय तहहरूले नमुना पालिकाको रूपमा विकास गर्नुपर्दछ । त्यहाँ सामूहिक खेती सुरु गर्नुपर्छ। गरिब, भूमिहीन, मजदुर सबै प्रकारका जनतालाई उत्पादनका स्रोत र साधनको मालिक बनाउने गरी विकासका मोडल तयार गर्नुपर्दछ । कम्युनिस्ट पार्टीका स्थानीय वा प्रदेश सरकारहरू अन्य पार्टीले सञ्चालन गरेका सरकारभन्दा नितान्तै फरक, जनमैत्री, विकासप्रेमी र सिर्जनशील छन् भन्ने कुरा कामबाट प्रमाणित गर्नुपर्दछ । मेलमिलाप केन्द्रहरूलाई प्रवर्द्धन गरेर स्थानीय स्तरमा नै जनतालाई न्यायको अनुभूति गराउनुपर्दछ त्यसको लागि कम्युनिस्ट पार्टीका सदस्यहरू दक्ष र सक्षम हुनैपर्दछ । विद्यालयहरूमा वैज्ञानिक शिक्षा र समाजवादी विचारधारा पढाउनुपर्दछ । समाजवाद, नवउदारवाद, उदारवाद जस्ता विषयहरूमा कम्युनिस्ट पार्टीका सदस्यहरू पोख्त हुनैपर्दछ र जनताले वामपन्थी सरकार भनेको के हो ? नेपाली समाजको आमूल रूपान्तरणको लागि वामपन्थी सरकार किन जरुरी छ भन्ने कुरा जनतालाई प्रत्यक्ष रूपमा देखाउन सक्नुपर्दछ ।

४. किसान र मजदुरको मुद्दा केन्द्रमा राख्ने

चौथो, कम्युनिस्ट पार्टीहरूले आफ्नो मूल मतदाता किसान र मजदुरलाई बिर्सनु हुँदैन। पछिल्लो समय वामपन्थी दलहरू मध्यम वर्ग र व्यापारी वर्गलाई खुसी पार्न लागिपरे । भ्रष्टाचारमा चुर्लुम्म डुबेका यादवहरू, भुटानी शरणार्थी काण्डका अपराधीहरू, भिजिट भिसा प्रकरणका अपराधीहरू, विभिन्न मुद्दामा डामिएकाहरू कम्युनिस्ट पार्टीको पोलिटब्युरोसम्म संरक्षित रहे भने हिजोसम्म मण्डले भनेर चिनिएकाहरू नै संसद् र मन्त्रीका लागि योग्य बनाइए । नेतृत्वका यस्ता निकृष्ट कार्यले टोल–टोलमा कम्युनिस्टप्रति घृणा फैलायो । कम्युनिस्ट पार्टी नै कसको हो भन्ने व्यापक दुविधा सिर्जना भयो र यसले जनतामा भ्रम पैदा गर्‍यो। अब किसान, गरिब, मजदुर, सीमान्तकृत र राष्ट्रिय पुँजीपति वर्गलाई केन्द्रबिन्दुमा राखेर नीति कार्यक्रम निर्माण गर्ने ग्यारेन्टी गर्नुपर्दछ । मजदुरलाई न्यूनतम ज्याला र सामाजिक सुरक्षाको प्रत्याभूति दिनुपर्छ। कम्युनिस्ट पार्टीको जग नै श्रमजीवी वर्ग हो, यसलाई बिर्सेपछि कम्युनिस्ट पार्टी केवल एउटा खोल मात्र बन्दछ ।

५. एकताको नयाँ मोडल

पाँचौँ, वामपन्थी एकताको पुरानो मोडल असफल भइसक्यो। अब, सबै खेमाका कम्युनिस्टहरू भेला भएर एउटा नयाँ एकीकृत क्रान्तिकारी पार्टी बनाउनुपर्छ। यस्तो सङ्कटमा पनि करिब २४ लाख भोट कम्युनिस्ट पार्टीहरूलाई आएको छ, जुन जम्मा खसेको मतको २० प्रतिशतभन्दा बढी हो । यदि सही नेतृत्व र सही नीति तथा कार्यक्रमको मार्गचित्र तयार गरेर जनतामा जाने हो भने आगामी निर्वाचनमा कम्युनिस्ट पार्टीको वर्चस्व कायम हुन सक्ने देखिन्छ त्यसको लागि नेपालको सन्दर्भमा फिट हुने गरी मार्क्सवादको सिर्जनशील तरिकाले प्रयोग गर्न सक्नुपर्दछ । अब कम्युनिस्ट पार्टीको नेतृत्व पुरानो पुस्ताले होइन, नयाँ पुस्ताले गर्नुपर्दछ । त्यो पार्टीको एजेन्डा केन्द्र र दक्षिणपन्थीसँगको गठबन्धन नभई पुँजीवादी व्यवस्थाको अन्त्य र समाजवादको स्थापना गर्ने गरी हुनुपर्दछ ।

निष्कर्ष : विलय होइन, विजय

२०८२ को चुनावी पराजयले नेपाली वामपन्थी आन्दोलनलाई ठूलो धक्का दिएको छ। तर, इतिहास साक्षी छ, कम्युनिस्ट आन्दोलन जहिले पनि पराजयबाटै उठेको छ। पराजय नै ठूलो शिक्षक हो। यदि अहिलेका कम्युनिस्ट नेतृत्वले आत्मालोचना गर्दै आफूलाई सच्याउन सकेनन् भने नेपालमा कम्युनिस्ट पार्टीको भविष्य अँध्यारो छ। तर यदि स्थानीय तहदेखि नै क्रान्तिकारी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेर नेतृत्वमा नयाँ र जुझारु पुस्ता ल्याएर, वैचारिक रूपले पार्टीलाई शुद्ध बनाउने हो भने नेपालमा एउटा बलियो, वैचारिक र क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न सक्दछ। त्यो दिनको प्रतीक्षामा छ नेपालको श्रमजीवी वर्ग तर के कम्युनिस्ट नेतृत्व त्यसको लागि तयार छ ? नयाँ इतिहासको मार्गचित्र कोर्न र नयाँ पुस्तालाई कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्न अहिलेको नेतृत्व पुस्ता तयार छ ? यदि तयार छ भने नेपालको कम्युनिस्ट आन्दोलन बच्न सक्दछ अन्यथा इतिहासमा सीमित हुनबाट कसैले बचाउन सक्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. आरसी लामिछाने
डा. आरसी लामिछाने
लेखकबाट थप