बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पोखरा महानगर प्रमुख आचार्य र जर्मन राजदूतबिच शिष्टाचार भेटवार्ता

मङ्गलबार, ०३ चैत २०८२, २० : ५५
मङ्गलबार, ०३ चैत २०८२

पाेखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । पोखरा महानगरपालिकामा मंगलबार भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा पोखरामा सञ्चालित परियोजनाको प्रगतिबारे जानकारी गराउँदै कतिपय नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताए।

जर्मन सरकारको स्वामित्वमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणलाई बढवा दिँदै अन्तरराष्ट्रिय विकास समन्वयमा क्रियाशील ‘जिआइजेड’को सहयोगमा पोखरामा तयार गरिएको पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख आचार्यले बताए।

उक्त योजना अनुसार गरिबी निवारण र वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिन थप सहकार्यका लागि आफूहरू तत्पर रहेको उनले उल्लेख गरे। साथै नगर प्रमुख आचार्यले पोखरामा पर्यटन पूर्वाधारको निर्माण, सांस्कृतिक आदानप्रदान र जर्मनका नगरहरूसँग भगिनीसम्बन्ध कायम गर्न इच्छुक रहेको उल्लेख गर्दै यसका लागि आवश्यक पहल तथा प्रयत्न गर्न राजदूत युडोलाई अनुरोध गरे । उनले सम्भव भए पोखरा–जर्मनी अन्तरराष्ट्रिय उडानकोसमेत पहलका लागि आग्रह गरे ।

वाफमा राजदूत युडोले आफू पहिलो पटक पोखरा आएकाले यो सहर आफूलाई निकै सुन्दर लागेको उल्लेख गरे। भूगोलका हिसाबले पहाडकोबीच हिमालको काखमा अवस्थित पोखराको थप विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा मिलेर काम गर्न सकिने उनले बताए।

नेपाल र जर्मनीको कूटनैतिक सम्बन्ध लामो समयदेखि पारस्परिक हित र सहकार्यमा आधारित रहेको बताउँदै उहाँले पोखरामा ऊर्जादक्षता अभिवृद्धि, वातावरणीय सुधार, पर्यटन प्रवद्र्धन तथा दिगो विकासका लक्ष्य हासिल गर्ने गरी थप सहकार्यको पहल गर्ने बताए।

भेटवार्तामा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना, महानगरको वैदेशिकसम्बन्ध विभाग प्रमुख सुवास ढुङ्गानालगायतको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप