शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इरानसँगको युद्धको विरोध गर्दै अमेरिकी राष्ट्रिय प्रतिआतंकवाद केन्द्रका निर्देशकद्वारा राजीनामा

मङ्गलबार, ०३ चैत २०८२, २१ : ५२
मङ्गलबार, ०३ चैत २०८२

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रिय गुप्तचर निर्देशकलाई आतंकवाद सम्बन्धी चुनौतीबारे सल्लाह दिने निकाय राष्ट्रिय प्रतिआतंकवाद केन्द्रका निर्देशक जो केन्टले इरानसँग जारी युद्धको विरोध गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। 

सामाजिक सञ्जाल एक्समा आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै केन्टले वर्तमान युद्धलाई ‘आफ्नो अन्तरात्माले स्वीकार गर्न नसक्ने’ भन्दै समर्थन गर्न नसकिने स्पष्ट पारेका हुन्। इरानले अमेरिकामाथि कुनै पनि तत्कालै खतरा पैदा नगरेको दाबी गर्दै उनले इजरायल र अमेरिकामा रहेको इजरायली लबीको दबाबका कारण यो युद्ध सुरु गरिएको गम्भीर आरोप लगाएका छन्।

केन्टले आफ्नो पत्रमा राष्ट्रपति ट्रम्पका विगतका प्रतिवद्धताहरूको स्मरण गराउँदै मध्यपूर्वका युद्धहरू अमेरिकाका लागि एउटा पासो भएको र यसले अमेरिकी देशभक्तहरूको अमूल्य जीवन तथा राष्ट्रको समृद्धिमा क्षति पुरÞ्याएको उल्लेख गरेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता ट्रम्प प्रशासनबाट भएको यो सबैभन्दा उच्च तहको राजीनामा हो। 

केन्टले प्रयोग गरेको ‘तत्कालै खतरा’ भन्ने शब्दावली कानुनी रूपमा निकै महत्वपूर्ण मानिन्छ, किनकि अमेरिकी कानुन र अन्तर्राष्ट्रिय कानुन अनुसार संसद्को अनुमति बिना सैन्य आक्रमण गर्न यस्तो खतरा प्रमाणित हुनु अनिवार्य मानिन्छ।

पूर्व आर्मी रेन्जर र अमेरिकी स्पेशल फोर्सका सदस्य समेत रहेका केन्टले मध्यपूर्वमा ११ पटक युद्धको मोर्चा सम्हालेका थिए। सन् २०१९ मा सिरियामा आइएसआइएलको आत्मघाती बम आक्रमणमा परी उनकी श्रीमतीको मृत्यु भएको थियो। 

राजीनामा पत्रमा उनले आफ्नी श्रीमतीको मृत्युलाई समेत इजरायलद्वारा सिर्जित युद्धको संज्ञा दिएका छन्। अमेरिकी जनतालाई कुनै फाइदा नहुने र अमेरिकीहरूको ज्यानको मूल्य पुष्टि हुन नसक्ने युद्धमा अर्को पुस्तालाई मर्न पठाउन आफूले समर्थन नगर्ने उनले दृढताका साथ लेखेका छन्।
इरानसँग युद्ध सुरु भएयता हालसम्म १३ जना अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने इरानमा १,४४४ जना, खाडी क्षेत्रमा २० जना र इजरायलमा कम्तीमा १५ जनाको ज्यान गइसकेको छ। 

गत जुलाईमा उनको नियुक्ति हुँदा राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले केन्टलाई देशलाई सधैँ आफूभन्दा माथि राख्ने र ठुलो व्यक्तिगत त्याग गर्ने व्यक्तिको रूपमा प्रशंसा गरेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप