नयाँ सरकारसँग अर्थतन्त्र र नीतिगत सुधारमा निजी क्षेत्रको अपेक्षा
सारांश
- नयाँ सरकारसँग निजी क्षेत्रले अर्थतन्त्र र नीतिगत सुधारको अपेक्षा राखेको छ, व्यवसायीहरू स्थिर सरकारको पक्षमा छन्।
- निजी क्षेत्रले लगानी सुरक्षा, कर सुधार, पूर्वाधार विकास र निर्यात प्रवर्द्धनमा जोड दिँदै नीतिगत अस्थिरता अन्त्यको अपेक्षा राखेका छन्।
- महासङ्घको आगामी नेतृत्व सर्वसम्मतिका लागि जोड दिइएको छ, जसले निजी क्षेत्रको एकता र सुदृढताको सन्देश दिनेछ।
काठमाडौँ । नयाँ सरकारसँग निजी क्षेत्रले अर्थतन्त्र र नीतिगत सुधारमा उच्च अपेक्षा राखेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षका प्रत्यासी शिवप्रसाद घिमिरेले आयोजना गरेको अर्थतन्त्रको भावी दिशा, चुनौती र निजी क्षेत्रको भूमिकाबारे बृहत् अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले यस्तो अपेक्षा राखेका हुन् ।
परिवर्तित जनादेश र नयाँ सरकार गठनको पूर्व सन्ध्यामा उद्योगी व्यवसायीहरूले स्थिर सरकार बन्नु सकारात्मक भएको धारणा राखे । अधिकांश व्यवसायीहरूले मुलुकमा लामो समयपछि स्थिर सरकार बन्न लागेकाले शिथिल अर्थतन्त्र चलायमान हुने र नीतिगत अप्ठ्याराहरु सुधार हुने अपेक्षा राखेका छन् ।
आयोजक घिमिरेले मध्यपूर्वको तनावले निम्त्याएको अन्तर्राष्ट्रिय आर्थिक चुनौती र नेपालले अपनाउनुपर्ने सतर्कताबारे धारणा राखे । देशको रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व सङ्कलनमा निजी क्षेत्रको योगदान अग्रणी रहे पनि नीतिगत अस्थिरता, प्रक्रियागत झन्झट र वित्तीय पहुँचको अभावले व्यवसायीहरू मारमा परेको उनले बताए ।
नयाँ सरकारले लगानीको सुरक्षा, कर प्रणालीमा सुधार र पूर्वाधार विकासमा प्राथमिकता दिँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति ल्याउनुपर्नेमा घिमिरेले जोड दिए।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भर्खरै सम्पन्न निर्वाचनले लामो समयदेखि निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरताको सन्देश दिएको बताए । उनले निर्वाचन परिणामले निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा केही सुधार हुने आशा जगाएको बताए ।
सबै राजनीतिक दल र सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरिसकेको उल्लेख गर्दै उनले आर्थिक एजेन्डामा निजी क्षेत्रको एउटै र एकताबद्ध आवाज हुनुपर्नेमा जोड दिए।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले रोजगारीका लागि बिदेसिनुपर्ने र उपभोगका लागि आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्न उत्पादनमुखी अर्थतन्त्र अपरिहार्य रहेको बताए । उनले सरकारी सेवालाई लाइन होइन अनलाइन मार्फत चुस्त बनाउनुपर्ने बताए । उनले सुशासन र पारदर्शितासहितको दुई तिहाइको नयाँ सरकारलाई पूर्ण रूपमा सघाउन निजी क्षेत्र तयार रहेको स्पष्ट पारे।
पूर्वअध्यक्ष भवानी राणाले नयाँ जनादेशबाट बन्ने नयाँ सरकारसँग धेरै आशा रहेको बताइन् । उनले लामो समय अस्थिर सरकार बन्दा नीतिगत र आर्थिक सुधार हुन नसकेको भन्दै स्थिर सरकारले आवश्यक नीतिगत सुधार गरी अर्थतन्त्र सुधारमा जोड दिने अपेक्षा रहेको धारणा राखिन् ।
रोजगारीका लागि बिदेसिनुपर्ने र उपभोगका लागि आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्न उत्पादनमुखी अर्थतन्त्र अपरिहार्य रहेको उनको भनाइ थियो ।
महासङ्घको आगामी नेतृत्व सर्वसम्मतिको जोड
महासङ्घको आसन्न साधारणसभा र निर्वाचनको विषयले पनि विशेष प्राथमिकता पाएको थियो। वस्तुगततर्फका उपाध्यक्ष पदका उम्मेदवार समेत रहेका घिमिरेले आयोजना गरेको कार्यक्रम भएकाले महासङ्घको आगामी नेतृत्व सर्वसहमति गर्नु पर्नेमा जोड दिएका थिए ।
महासङ्घको नेतृत्व चयनमा चुनावी प्रतिस्पर्धाले भड्किलो र खर्चिलो बन्दै गएको भन्दै पूर्वपदाधिकारीहरूले चिन्ता व्यक्त गरे । महासङ्घका अध्यक्ष ढकालसहित पूर्व अध्यक्षहरू भवानी राणा, प्रदीपकुमार श्रेष्ठ र कुशकुमार जोशीले महासङ्घ जस्तो गरिमामय संस्थाको नेतृत्व चयन सर्वसम्मत हुनुपर्नेमा एकमत राखे ।
शक्तिशाली सरकार बन्न लागेको वर्तमान अवस्थामा निजी क्षेत्र एक ढिक्का छ भन्ने सन्देश दिन पनि भड्किलो चुनावभन्दा सहमतिमै नेतृत्व चयन गर्नुपर्ने उनीहरूको सुझाव थियो।
महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने निश्चित छ। आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, हेमराज ढकाल र दिलसुन्दर श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा हुने चर्चा छ भने विभिन्न समूहबाट उपाध्यक्ष र केन्द्रीय सदस्यमा पनि लबिङ तीव्र छ । यद्यपि, पूर्व पदाधिकारीहरूको निरन्तरको दबाब र अन्तिम समयमा सहमति खोज्ने प्रयास हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण