मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कमिन्सको अनुपस्थितिमा सनराइजर्स हैदराबादको कप्तानी इशान किशनलाई

बिहीबार, ०५ चैत २०८२, ०६ : ५०
बिहीबार, ०५ चैत २०८२

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सुरुवाती चरणमा सनराइजर्स हैदराबाद (एसआरएच) को कप्तानी इशान किशनले गर्ने भएका छन्। नियमित कप्तान प्याट कमिन्स तल्लो ढाडको चोटका कारण पूर्ण रूपमा फिट भइनसकेकाले फ्रेन्चाइजले किशनलाई अन्तरिम कप्तान नियुक्त गरेको हो।

अस्ट्रेलियाको टी-२० विश्वकप टोलीबाट समेत बाहिरिएका कमिन्स अहिले स्वास्थ्योपचारकै क्रममा छन्। टोलीको उपकप्तानको जिम्मेवारी भने अभिषेक शर्मालाई दिइएको छ।

क्रिकेट अस्ट्रेलियाबाट अनुमति पाएपछि कमिन्स मार्च २३ मा मात्रै हैदराबाद आइपुग्ने बुझिएको छ। यद्यपि, उनले मैदानमा कहिलेदेखि पुनरागमन गर्छन् भन्ने निश्चित भइसकेको छैन। टोली व्यवस्थापनका अनुसार उनले सुरुवाती केही खेलहरू गुमाउने प्रबल सम्भावना छ।

कमिन्सले डिसेम्बरमा भएको एसेज सिरिजको तेस्रो टेस्टपछि कुनै पनि प्रतिस्पर्धी क्रिकेट खेलेका छैनन्। आईपीएलको यस सिजनमा कमिन्स नफर्किएसम्म सबै १० टोलीका कप्तान भारतीय नै हुनेछन्, जुन आईपीएल इतिहासमा दोस्रो पटक मात्र हुन लागेको दुर्लभ संयोग हो।

किशन र अभिषेक दुवैले हालै सम्पन्न २०२६ को टी-२० विश्वकपमा भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। विशेष गरी न्युजिल्यान्डविरुद्धको फाइनल खेलमा दुवैले अर्धशतकीय इनिङ्स खेलेका थिए।

किशनका लागि यो सिजन विशेष रहने देखिन्छ। सन् २०२५ को अक्सनमा ११.२५ करोड भारुमा अनुबन्धित भएका उनले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै एक शतकसहित ३५४ रन बनाएका थिए। घरेलु क्रिकेटमा झारखण्डलाई सैयद मुश्ताक अली ट्रफीको उपाधि दिलाउँदा उच्च रनकर्ता बनेका किशन अहिले उत्कृष्ट लयमा छन्।

यस वर्षको आईपीएल मार्च २८ मा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबिचको खेलबाट सुरु हुँदैछ। कप्तानीको अनुभव नभए पनि किशनको आक्रामक ब्याटिङ र हालैको उत्कृष्ट फर्मले हैदराबादलाई सुखद सुरुवात दिलाउने अपेक्षा गरिएको छ। अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गरेयता उनले १३ खेलमा २०७ को स्ट्राइक रेटमा ५३२ रन बनाइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप