बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्चको व्याख्याः बल प्रयोग नभएको अवस्थामा तीन जना मिलेर चोरी गर्दैमा ‘डाँका’ ठहर नहुने

बिहीबार, ०५ चैत २०८२, १४ : ४८
बिहीबार, ०५ चैत २०८२

सारांश

  • सर्वोच्च अदालतले तीन वा सोभन्दा बढी व्यक्ति मिलेर चोरी गरेकै आधारमा डाँकाको कसुर कायम नहुने फैसला सुनायो।
  • चोरीमा बल प्रयोग, डरत्रास वा हुलहुज्जत नभए संलग्नको संख्याका आधारमा डाँका मुद्दा नलाग्ने ठहर।
  • सर्वोच्चले चोरी र डाँकाबीचको कानूनी भिन्नता स्पष्ट पार्दै बल प्रयोग वा धम्की नभए चोरी मात्र हुने जनायो।

काठमाडौँ । सर्वोच्च अदालतले तीन वा सोभन्दा बढी व्यक्ति मिलेर चोरी गरेकै आधारमा डाँकाको कसुर कायम हुन नसक्ने फैसला सुनाएको छ । 

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले चोरीको वारदातमा बल प्रयोग, डरत्रास वा हुलहुज्जत नभएको अवस्थामा संलग्नको संख्याकै आधारमा मात्र डाँकाको कसुर कायम हुन नसक्ने फैसला सुनाएको हो । 

मोरङको विराटनगरमा भएको एक मोटरसाइकल चोरीसँग सम्बन्धित यो मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च आइपुगेको हो । २०७७ मंसिर २६ गते प्रमोद दाहालले मामाको विवाहमा जाँदा पार्किङ गरी राखेको को२६प ५६४७ नम्बरको मोटरसाइकल हराएको थियो । प्रमोद दाहालको जाहेरीले प्रहरीले सो मोटरसाइकलसहित राजीव राजवंशी, दिपेश भनिने दिपेन्द्र कुमार राजवंशी र अल्टुल भनिने धिरेन कुमार राजवंशीलाई पक्राउ गरेपछि उनीहरूविरुद्ध डाँका मुद्दा चलाइएको थियो । 

सुरुमा मोरङ जिल्ला अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा २४४ (२) (घ) मा ‘तीन जना वा सोभन्दा बढीको जमात भई चोरी गरेमा डाँका मानिने’ व्यवस्था रहेको भन्दै उनीहरूलाई डाँका कसुरमा दोषी ठहर गरेको थियो । 

जिल्ला अदालत मोरङले जनही ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, उच्च अदालत विराटनगरले उक्त फैसलालाई केही उल्टी गर्दै उनीहरूले डाँका नभई ‘चोरी’ मात्र गरेको ठहर गर्‍यो । उच्च अदालतले चोरी गर्दा कसैलाई डरत्रास नदेखाइएको र सुटुक्क लगिएको भन्दै सजाय घटाएर २ वर्ष कैद र २० हजार जरिवाना कायम गरेको थियो । सर्वोच्चले उच्च अदालत विराटनगरको फैसलालाई नै सदर गरिदिएको छ । 

सर्वोच्च अदालतले डाँका र चोरी बिचको कानुनी भिन्नताबारे स्पष्ट पार्दै व्याख्या गरेको छ । सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ– डाँकाको कसुर हुन तीन वा तीनभन्दा बढी व्यक्तिको संलग्नता मात्र पर्याप्त हुँदैन, सो जमातबाट न्यूनतम रूपमा भए पनि बल प्रयोग गरिएको, डरत्रास देखाइएको वा हुलहुज्जत गरी जबरजस्ती सम्पत्ति हरण गरिएको हुनुपर्छ भनेको छ । अदालतले फैसलाको पूर्णपाठमा स्पष्ट पार्दै भनेको छ– यदि धनीलाई थाहै नदिई वा कोही नभएको अवस्थामा सुटुक्क सामान लैजाँदा संख्या जतिसुकै भए पनि त्यो डाँका नभई चोरीको कसुर मात्र हुन्छ । ‘डाँकाको नाम वा अवधारणागत पक्षबाटै यसमा बल प्रयोगको आवश्यकता उद्बोध हुने वा बलप्रयोगको तत्व अन्तरनिहित हुनुपर्ने भन्ने अर्थबोध हुन्छ,’ फैसलाको पूर्णपाठमा भनेको छ, ‘कुनै बस्तु चोरी गर्दाका अवस्थामा सो चोरी गर्नका लागि धनी वा वारदातस्थलमा उपस्थित कुनै व्यक्तिविरुद्ध बल प्रयोग वा जोरजबरजस्ती वा हुलहुज्यत गरी चोरी गरिएमा त्यो डाँकाको कसुर हुने हुन्छ । चोरी र डाँकाको बिचको मुख्य भिन्नता भनेको बल प्रयोग वा धम्की हो । बल वा त्यसको धम्की बिना कुनै चीज चोरी भएको अवस्थालाई सामान्यतयाः चोरीको रूपमा लिइन्छ । तर जब त्यस्तो चोरी गर्दा बल वा हिंसाको प्रयोग वा धम्की समावेश हुन्छ तब त्यस्तो कार्य डाँकाको कसुर हुने हुन्छ ।’

अदालतले चोरी, नकबजनी चोरी र डाँका बिचको भिन्नतालाई फैसलामा छुट्टाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २४१ मा चोरीमा अर्कोको चल सम्पत्ति, धनीको मञ्जुरी बिना, बेइमानीको नियतले लिने वा स्थान परिवर्तन गर्ने कार्य र यसमा बल प्रयोग हुँदैन भनेको छ । 

साथै संहिताको दफा २४३ ले नकबजनी चोरीमा घरको मूलढोका बाहेक अन्य बाटो (प्वाल पोरर वा झ्यालबाट) प्रयोग गरी प्रवेश गरेर वा निस्केर गरिने चोरी भनेको छ । साथै दफा २४४ मा डाँकाः चोरीको कार्यमा बल प्रयोग, ज्यान लिने धम्की चोट वा हुलहुज्जत जोडिएमा त्यो डाँका हुन्छ भनिएको छ । 

कानुनको व्याख्याको सवैभन्दा उत्तम र आधारसम्मत विधि भनेको विधायिकी मनसाय पत्ता लगाउनु नै हो । यसैले कानुनको अर्थ वा व्याख्या गर्दा कुनै शब्द वा वाक्यांशलाई मात्र टपक्क टिपी अर्थ गर्नुभन्दा त्यस्तो कानुनी व्यवस्थाको मुख्य अवधारणा, मर्म र भावनालाई विधायिकाले कानुन तर्जुमा गर्दा ध्यान दिएको प्रसङ्गलाई हेर्नुपर्छ, फैसलाको पूर्णपाठमा भनेको छ, ‘कानुनको प्रयोग र व्याख्या गर्दा कानुनमा व्यवस्थित कुरालाई विधायिकी उद्देश्यलाई अभिवृद्धि गर्ने गरी ब्याख्या गर्नु न्यायकर्ताको कर्तव्य हुन्छ । यही आलोकमा मुलुकी अपराध संहिता, २४४ मा डाँकाका लागि जुन तत्वहरू उल्लेख गरिएको छ, ती तत्त्वहरूलाई मसिनोसँग केलाएर डाँकाको कसूरका सम्बन्धमा निष्कर्षमा पुग्नु युक्तियुक्त हुन्छ ।’ 

सो दफाको उपदफा (२) को खण्ड ‘क’ देखि ‘ग’ सम्म उल्लेख गरिएको अवस्थाहरू आफैमा स्पष्ट छन् । चोरीको कसुर गर्दाका वखत केही खास परिस्थतिमा सो चोरीको कसुर डाँकाको कसुर हुन पुग्छ र यसको लागि सो चोरीको कसुरमा कति जना व्यक्तिहरू संलग्न थिए भन्ने संख्याको प्रश्नको कुनै स्थान रहदैन । सो खण्ड ‘क’ देखि ‘ग’ सम्मका अवस्था रहेमा एक जना व्यक्तिबाट पनि डाँकाको कसुर हुने हुन्छ,’ फैसलामा भनेको छ ।
दफा २४४ को उपदफा (२) को खण्ड ‘घ’ को व्याख्या (तीन जनाको संलग्नता)को विषयमा सर्वोच्चले फैसलामा व्याख्या गरेको छ । ‘तीन जना वा तीन जनाभन्दा बढीको जमात भई चोरी गरेमा’ भन्ने वाक्यांशको व्याख्या गरेको छ । 

अदालतले यसलाई केवल संख्याको आधारमा मात्र नहेरी ‘जमात’ को चरित्रसँग जोडेर हेर्नुपर्ने उल्लेख गरेको छ । फैसलाको पूर्णपाठमा भनेको छ, ‘डाँकाको कसुर हुनको लागि आवश्यक पर्ने अवस्थाहरूलाई खण्ड ‘क’ देखि ‘ग’सम्म उल्लेख गरिसकेपछि छुटै खण्ड ‘घ’ राखिएको कारणले पनि त्यस्तो अर्थ गर्नको लागि बल पुग्न सक्छ । 

तर सो सो खण्डमा तीन जना वा तीन जना भन्दा बढीको जमात भई चोरी गरेमा भन्ने वाक्यांश प्रयोग हुँदा प्रयुक्त जमात भई भन्ने शव्दहरूलाई पनि उत्तिकै महत्त्व दिएर वा ख्याल गरेर वा बोध गरेर मात्र सो खण्डको अर्थ गरिनुपर्छ । किनकि शाब्दिक रुपमा हेर्दा तीन जना वा तीन जनाभन्दा बढी भई चोरी गरेमा भन्ने वाक्यांश प्रयोग गर्दा पनि स्वाभाविक अर्थ निस्कन सक्थ्यो र जमात भई भन्ने शव्दहरू प्रयोग गर्न आवश्यक हुने थिएन ।’
विधायिकाले ‘जमात भई’ भन्ने शब्द राख्नुको निश्चित प्रयोजन वा कारण रहन्छ । सामान्य अर्थमा जमात भई भनेको हुल भई वा हुल बाँधेर वा जत्थाको स्वरूपमा भन्ने बुझिन्छ र यस्तो जमातमा जमातको चरित्र हुनु वा देखिनु पर्छ, फैसलाको पूर्णपाठमा भनेको छ, ‘जमातको त्यस्तो चरित्र हुनका लागि कुनै न कुनै रूपमा हुलहुज्जत वा जबरजस्ती वा बल प्रयोग भएको वा सोको धम्कीको तत्त्व वा अवस्था देखिनुपर्छ ।’ 

अदालतले डाँकाको कसुर स्थापित हुन केवल संख्या पुगेर मात्र पुग्दैन भनेको छ । बल प्रयोग वा धम्कीः चोरी र डाँकाको बिचको मुख्य भिन्नता नै बल प्रयोग वा धम्की हो । बल वा धम्की बिना गरिएको चोरी, संख्या ३ जनाभन्दा बढी भए पनि ‘डाँका’ हुन नसक्ने फैसलामा उल्लेख छ । दोस्रो यदि तीन वा सोभन्दा बढी व्यक्तिले चोरी गर्दा वारदातस्थलमा रहेका मानिसलाई डराउने, धम्काउने वा बल प्रयोग गर्ने (जसलाई अदालतले ‘जमातको चरित्र’ भनेको छ) कार्य गरेमा मात्र डाँका हुन्छ भनेको छ । 

‘डाँकाको कसुर गम्भीर कसुर भएकोले खण्ड (घ) बमोजिमको डाँकाको कसुर हुनका लागि तीन वा तीनभन्दा बढी व्यक्तिको वारदातमा संलग्नता मात्र पर्याप्त हुँदैन,’ फैसलाको पूर्णपाठमा भनेको छ, ‘यस खण्डबमोजिम डाँकाको कसुर हुनका लागि सो संख्याको अतिरिक्त त्यस्तो संख्याको जमातबाट न्यूनतम रूपमा भए पनि वारदातका अवस्थामा शक्ति प्रयोग गरिएको वा त्यसको डर त्रास धम्की दिएको वा हुल हुज्जत गरी जबरजस्ती चोरी गरिएको वा सम्पत्तिको हरण गरिएको अवस्थाको विद्यमानता हुनु आवश्यक हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप