शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

१३औँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला सुरु, ११ देशका लोकसंस्कृति प्रदर्शन हुने

शुक्रबार, ०६ चैत २०८२, २० : ४१
शुक्रबार, ०६ चैत २०८२

काठमाडौँ । १३औँ ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२’ काठमाडौँमा सुरु भएको छ । शुक्रबार महेन्द्र पुलिस क्लबमा आयोजित एक भव्य समारोहमा नृत्य सम्राट भैरव बहादुर थापाले मेलाको उद्घाटन गरे ।

पूर्व मन्त्री रेखा शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरलगायत चलचित्र, गीतसंगीतर नृत्य क्षेत्रका उल्लेख्य व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रम एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको हो।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारा रहेको मेला १४ गतेसम्म चल्नेछ । यसअघि फागुन १५ गतेदेखि २४ गतेसम्मका लागि तय गरिएको मेला चुनावका कारण सरेर अहिले आयोजना भएको हो ।

यस पटकको महोत्सवमा ११ राष्ट्रका २००  बढी कलाकारहरूको सहभागिता रहनेछ । जसमा नेपालसहित बोट्सवाना, एस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान, टर्की, पोल्याण्ड र दक्षिण अफ्रिका लगायतका रहेका छन् । इजरायल–अमेरिका र इरानबिचको तनावका कारण मध्यपूर्वको हवाई उडान प्रभावित भएकाले यो पटक केही राष्ट्रको सहभागी कम भएको आयोजक संस्था एभेरष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।

मेला काठमाडौँ, पोखरा, ललितपुर, काभ्रेको पाँचखाल र बुढानीलकण्ठ जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूमा आयोजना गरिनेछ । विशेषगरी विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर र हनुमानढोका दरबार स्क्वायरमा गरिने सांस्कृतिक प्रस्तुतिले नेपालका ऐतिहासिक धरोहरको संरक्षण र संवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

महोत्सवका क्रममा विदेशी कलाकारहरूले आ–आफ्नो देशको मौलिक संस्कृति झल्कने भेषभूषा, लोक गीत र नृत्य प्रस्तुत गर्नेछन् । काठमाडौँ आसपासका विद्यालयहरूमा पुगेर विदेशी कलाकारहरूले आफ्नो प्रस्तुति दिने र विद्यार्थीहरूसँग सांस्कृतिक आदान–प्रदान गर्ने कार्यक्रम समेत तय महोत्सवमा गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप