विजय मल्लको धारावाहिक जीवनी अब रातोपाटीमा
सारांश
- रातोपाटीले विजय मल्लको जीवनी शनिबारदेखि धारावाहिक रुपमा प्रकाशित गर्नेछ।
- नरेन्द्रराज प्रसाईले विजय मल्लको जीवनी लेखेका छन्, जसले उनको साहित्यिक योगदानलाई उजागर गर्छ।
- विभिन्न साहित्यकारहरूले नरेन्द्रराज प्रसाईको जीवनी लेखन शैलीको प्रशंसा गरेका छन्।
नरेन्द्रराज प्रसाईद्वारा लिखित सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको जीवनी धारावाहिक रुपमा रातोपाटीले आगामी शनिबारदेखि प्रत्येक साता प्रकाशित गर्नेछ । हामीले यो श्रृंखला पुस्तकको प्राक्कथनबाट शुरु गरेका छौँ ।
विजय मल्ल आधुनिक नेपाली साहित्यमा लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाकै महान् साहित्यिक परम्पराका उत्तरवर्ती बहुमुखी स्रष्टा हुन् । परवर्ती गोपालप्रसाद रिमाल र गोविन्द मल्ल गोठालेसमेतबाट उत्प्रेरित महान् स्रष्टा विजय मल्ल खास गरी नाटक र गद्यआख्यान क्षेत्रका विशिष्ट प्रतिभा हुन् । विशेष गरी नेपाली नाटकका क्षेत्रमा उनी महान् नाटककार बालकृष्ण समका सृजनात्मक उत्तराधिकारी भन्नुपर्ने अर्को महान् नाट्यचुली हुन् । यिनै महान् नेपाली साहित्यिक उच्च स्तम्भस्वरूप विजय मल्लको जीवनी लेखेर नरेन्द्रराज प्रसाईले स्तुत्य काम गरेका छन् ।
नरेन्द्रराज प्रसाई कुशल गीतकार, प्रबन्धकार, अन्तर्वार्ताकार र विशेषतः परवर्ती निबन्धकार एवं संस्मरणकार र मूलतः जीवनीपरक समीक्षकका रूपमा विख्यात छन् । उनी नेपाली भाषा र साहित्यिका मोतीराम भट्ट परम्पराका वर्तमानयुगीन महान् प्रवद्र्धक पनि हुन् । विशेषतः नेपाली जीवनीसाहित्यमा नरेन्द्रराज प्रसाईको आफ्नै सुललित र सुरम्य एवं सानदार शैली स्थापित छ र उनको कलमले सिद्धि प्राप्त गरेको छ । विशेष खोज, तथ्य, तर्क र ठोस प्रमाणमा आधारित उनको जीवनीकारिता इतिहास र तद्युगीन यथार्थको सुन्दरतम संयोजनका सेतुमा आधारित आस्वादनीय सृजनशीलतासमेत हुँदै हो । नेपाली साहित्यको जीवनी विधामा उत्कृष्ट कृतिपरिमाण र स्तरीय विशिष्ट कृतिगत योगदान दिन सफल उनी सर्वाधिक शक्तिशाली स्रष्टाका रूपमा जनप्रिय र ख्यातिप्राप्त पनि छन् ।
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी
निर्भीकता नरेन्द्रराज प्रसाईको दोस्रो साहित्यिक नाम । न्याय पाएका छन् नेपाली साहित्य तथा कलाक्षेत्रका कर्मीहरूले उहाँबाट । यस्ता कर्मठ, न्यायी, निर्भीक बाघ व्यक्ति आज हामीमाझ हुनुले हामीलाई बलियो अडेसो छ ।
प्रा.डा.इन्द्रबहादुर राई
आफूले गरेका काम मर्दैनन् भन्न त भन्छन् मानिसहरू तर ती कामहरूबारे लेखिदिने र भनिदिने नरेन्द्रराज प्रसाईजस्ता मोतीराम भट्टहरू भइदिएनन् भने जस्तैसुकै महान् भानुभक्तहरू पनि समाजमा अपरिचित भएर बिलाउन सक्छन् । मानिसको महत्वलाई चिनाउने मानिसको आवश्यकता पर्छ, नत्र जस्तोसुकै ठूलो महत्व पनि महत्वहीन भएर हराउन सक्छ कतै शून्यमा !
जनराष्ट्रकवि ईश्वरवल्लभ
नेपाली साहित्यमा जीवनीलेखनको अनिकाल परेको अवस्थामा नरेन्द्रराज प्रसाईले जीवनी साहित्यलाई मुख्य प्राथमिकता दिएका छन् । जीवनीलेखन शैलीलाई प्रसाईले आधुनिक ढाँचामा उभ्याएका छन् । उनको जीवनीलेखन सिद्धान्तले मान्छेको सोझो जीवनचित्र छर्लड्ग्याउनुका साथै वैज्ञानिक पद्धतिको गुरुत्तर दैलो पनि उघारेको पाइन्छ ।
अक्षरशिरोमणि मदनमणि दीक्षित
नरेन्द्रराज प्रसाई सधै नेपथ्यबाट बोल्छन्, कहीँ कतै आफ्नो डम्फु बजेको सुनिँदैन, कहीँ कतै मपाइँको स्वर घन्कँदैन । व्यक्ति वा वस्तुलाई अघि राखेर उनी एउटा चित्रकारले जस्तो चित्र कोर्दै जान्छन् । उनको भाषाशैलीले एउटा नयाँ भूमि टेक्न पुग्छ, विचारले एउटा नयाँ डाँडा उघार्न खोज्छ ।
प्रा.राजनारायण प्रधान
मेरा बुबा विजय मल्लको जीवनी पढ्दा म अझै पनि बुबाकै छेउमा बसिरहेकी छु भन्ने अनुभूति भयो । मेरा बुबाले नेपाली साहित्यमा गरेको योगदानलाई यस कृतिले संक्षिप्त तर सग्लो र प्रामाणिक रूपमा प्रस्तुत गरेको मैले पाएँ । नरेन्द्रराज प्रसाईको जीवनी लेखनले मेरा बुबाको व्यक्तित्व र कृतित्वका बहुमुखी आयामलाई जीवन्त रूपमा स्थापित गरेको छ ।
प्रा.डा.उमा श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण