पराजयबारे कांग्रेसका नेताहरुको तर्क : बीबीसीको भिडियोदेखि नेताका घरमा पैसा जलेको भिडियो र नेताहरूकै असहयोगसम्म
सारांश
- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टीको हारबारे विभिन्न कारण प्रस्तुत गरे।
- केन्द्रीय सदस्यहरूले बीबीसीको भिडियो, नेताहरूको घरमा जलेको पैसा र अन्तर्घातलाई हारको कारण माने।
- गठबन्धन, टिकट वितरणमा ढिलाइ, र क्रियाशील सदस्यहरूको असहयोगलाई पनि हारको कारणको रूपमा औंल्याए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोर्नु परेको पराजयबारे विभिन्न तर्क गरेका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले पराजयबारे विविध कारण देखाएका हुन् ।
बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य जगत जोशीले निर्वाचनको मुखैमा बीबीसीले सार्वजनिक गरेको भिडियोका कारण जनताको दिमागमा नकारात्मक प्रभाव पर्दा पराजय व्यहोर्नु परेको बताए । उनले केन्द्रीय समितिमा भने, ‘निर्वाचनको मुखैमा बिबिसीले जेनजी आन्दोलनबारे सार्वजनिक गरेको भिडियोले कांग्रेसलाई नकारात्मक असर पार्यो l जनताको दिमागमा पार्टीको विपक्षमा प्रभाव पार्दा हामीले पराजय व्यहोर्नु पर्यो ।’
अर्की केन्द्रीय सदस्य विनीता खड्काले जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा पैसा जलेका भिडियो बाहिरिएका कारण पार्टीले पराजय व्यहोर्नु परेको बताइन् । ‘हामी निर्वाचन प्रचारप्रसारका क्रममा जनताका घरघरमा जाँदा पार्टीका नेताहरूको घरमा जलेको पैसाको विषय उनीहरुले उठाए । त्यसको नकारात्मक प्रभाव पार्टीको छविमा पर्यो र मत आउन सकेन,’ खड्काले केन्द्रीय समिति बैठकमा भनिन् ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घरमा र तात्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा मन्त्री रहेका दीपक खड्काको घरमा पनि पैसा जलेको भिडियोहरू सार्वजनिक भएका थिए ।
केन्द्रीय सदस्य शम्भु बुढाथोकीले पार्टीका तर्फबाट सांसद जितेर पटक–पटक मन्त्री भएका नेताहरूले नै निर्वाचनमा असहयोग गरेकाले पराजय व्यहोर्नु परेको बताए । ‘पार्टीका तर्फबाट पटक–पटक फाइदा लिएका पूर्वसांसदहरु, पूर्वमन्त्रीहरु र पाँच पाँच पटक प्रधानमन्त्री बनेका नेताहरु चुनावमा 'साइलेन्ट' बस्नुभयो, जसका कारण पार्टीले पराजय व्यहोर्नुपर्यो,’ बुढाथोकीले बैठकमा भने, ‘पार्टीविरुद्ध गलत काम गरिरहनेलाई कारबाही गर्नुपर्छ । कारबाही नगर्ने भए सम्मान गर्नुपर्छ ।’
केन्द्रीय सदस्य प्रेमबहादुर खड्काले सभापति गगन थापाको राजीनामा विधान बमोजिम ठिक भए पनि, त्यसलाई कार्यसमितिले अस्वीकृत गर्नुपर्ने बताए । निर्वाचनमा पराजयको कारण नकारात्मक प्रचार, विगतमा गरिएका गठबन्धन र क्रियाशील सदस्यता विवाद आदि रहेको उनको भनाइ थियो ।
अर्का केन्द्रीय सदस्य विजय स्वारले सभापति थापाले पनि राजीनामा नैतिक रूपमा दिएको भए पनि, त्यसलाई कार्यसमितिले अस्वीकृत गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य प्रकाश पन्थले पार्टीका क्रियाशील सदस्यले नै पार्टीका उम्मेदवारलाई मत नदिएको बताए । उनले भने, ‘पार्टीका क्रियाशील सदस्यले नै पार्टी उम्मेदवारलाई मत दिएनन् । सार्वजनिक रूपमा नै मत परिवर्तन गर्ने बताए ।’ बिगतमा भएका गठबन्धनको संस्कृतिले पार्टीलाई समस्यामा पारेको पन्थको भनाइ थियो ।
केन्द्रीय सदस्य वसन्त भट्टराईले पाँच दिनमा टिकट वितरण गर्दा तयारी नपुगेको, यसले चुनावमा असर गरेको बताए । उनले गठबन्धन सरकारका बेला भएको भ्रष्टाचार र कुशासनले जनता आजित हुँदा पार्टीले चुनाव हार्नुपरेको पनि बताए ।
गण्डकी प्रदेश सभापछि शुक्रराज शर्माले आन्दोलनको नेतृत्व गर्नेले नै चुनाव जित्ने विगतको उदाहरण प्रस्तुत गर्दै, आफूहरू लोकतान्त्रिक भएको र चुनाव कहिल्यै नहार्ने बताए ।
केन्द्रीय सदस्य बजरङ्ग नेपालीले चुनावमा वातावरण पार्टीको पक्षमा भए पनि, पार्टीका क्रियाशील सदस्यले भोट नदिएकाले पराजय व्यहोर्नु परेको बताए ।
महामन्त्री प्रदीप पौडेलले आइतबार ४५ जनाले धारणा राखिसकेको रातोपाटीलाई जानकारी दिए । शुक्रबारको बैठकमा २४ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
केन्द्रीय समिति बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति थापाको राजीनामाबारे छलफलका एजेण्डा तय भएका छन् । उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा भइरहेको बैठकमा शर्माले चुनावको प्रारम्भिक समीक्षाबारे १४ पेजको प्रतिवेदन पेस गरेका छन् । त्यही प्रतिवेदनमा केन्द्रित रहेका सदस्यहरूले धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण