सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
पश्चिम एसिया द्वन्द्वको असर

इन्धनसँगै दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने त्रास, खाने तेल अझै बढ्न सक्ने

कति छ सरकारी भण्डारमा खाद्यान्न ?
सोमबार, ०९ चैत २०८२, ०६ : ४३
सोमबार, ०९ चैत २०८२

सारांश

  • पश्चिम एसियाको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि बजारमा खाद्यान्नको मूल्य बढ्ने सम्भावना देखिएको छ।
  • उपभोक्ताहरूले खाद्यान्नको स्टक राख्न थालेका छन् भने व्यवसायीहरूले मूल्य बढ्ने डर व्यक्त गरेका छन्।
  • सरकारी खाद्य भण्डारमा ३३ हजार मेट्रिक टन खाद्यान्न मौज्दात रहेको र बजारमा अभाव हुन नदिने कम्पनीको दाबी छ।

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपाली बजारमा प्रत्यक्ष प्रभाव पर्न थालेको छ । द्वन्द्वले पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या र मूल्यमा देखिएको वृद्धिका कारण खाद्यान्नमा पनि संकट आउन सक्ने त्रासले उपभोक्ताहरूले अहिले अत्यधिक खाद्यान्न खरिद गरी स्टक राख्न थालेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सवारी साधनको भाडा र ढुवानी खर्च बढ्ने निश्चित भएकाले चामल, तेल, चिनी र दाल लगायत अत्यावश्यक वस्तुहरूको भाउ बढ्ने तथा अभाव हुन सक्ने डरले उपभोक्ताहरू अस्वाभाविक रूपमा खरिदमा जुटेको व्यवसायीले बताएका छन् ।

 यसैबिच, पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीहरूले सार्वजनिक यातायात तथा ढुवानीजन्य सवारीको भाडादर बढाउन लबिङ गर्न थालेका छन् भने सरकारले पनि भाडादर समायोजन गर्ने तयारी गरिरहेको छ । भाडादर बढ्नासाथ समग्र वस्तुको मूल्यवृद्धि हुने सरोकारवालाले बताएका छन् ।

  •  ‘खाद्यान्नमा डराउनुपर्ने अवस्था छैन, अझै बढ्दैछ तेल’

 नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार तत्कालका लागि अन्य खाद्यान्नमा ठुलो असर नदेखिए पनि सवारीको भाडादर वृद्धि भए ढुवानी खर्च बढ्ने र सबै आयातीत वस्तुको मूल्य बढ्ने बताए ।

 ‘अहिलेसम्म खाद्यान्नमा त्यस्तो ठुलो प्रभाव देखिएको छैन, तर खाने तेलको भाउ भने महँगिन थालेको छ,’ बज्राचार्यले भने, ‘पेट्रोलको भाउ बढेसँगै ट्रान्सपोर्टेसन खर्च बढ्छ र यसले हरेक उत्पादनको मूल्यमा अलिअलि असर पार्छ ।’

 उनका अनुसार नेपालमा धेरैजसो खाद्यान्न भारतबाट आयात हुने भएकाले अहिलेसम्म खाद्यान्नमा मूल्य वृद्धिको समस्या खासै देखिएको छैन । तर खाने तेलको कच्चा पदार्थ र केही तयारी तेल युरोपेली मुलुकहरूबाट आउने गर्छ । अन्तर्राष्ट्रिय बजारमा भएको उथलपुथल र भारतमा हुने सम्भावित अभावका कारण नेपाली व्यापारीहरूले पनि मूल्य बढाउने प्रवृत्ति रहेको उनले बताए ।

 अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थ ढुवानीमा बढ्दै गएको भाडादरका कारण थप मूल्यवृद्धि हुने संकेत देखिएको उनको तर्क छ । भर्खरै मात्र खाने तेलको मूल्यमा प्रतिलिटर ५० रुपैयाँसम्म वृद्धि भइसकेको छ ।

 अध्यक्ष बज्राचार्यले भने, ‘अहिले बजारमा खाने तेलको भाउ बढ्न थालिसकेको छ । यदि सरकारले बजार नियन्त्रण र मूल्य वृद्धिमा बेलैमा हस्तक्षेप गरेन भने उपभोक्ताले खाने तेलका लागि प्रतिलिटर साढे तीन सयसम्म तिर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

हालसम्मका लागि खाद्यान्नको मौज्दात र आपूर्तिमा भने समस्या नरहेको उनले प्रस्ट पारे । खाद्यान्न भारतबाट आउने भएकाले आपूर्तिमा समस्या छैन, तर ढुवानी खर्च बढ्ने बित्तिकै बजारका सबै उपभोग्य वस्तुको मूल्यमा चाप पर्ने बताए । साथै उनले सरोकारवाला निकायलाई सचेत रहन आग्रह गरेका छन् ।

  •  अहिले खाद्यान्नको मूल्य कस्तो छ ?

नेपालमा खाद्यान्नको मूल्य निर्धारण गर्ने कुनै व्यवस्था छैन । यसकारण एउटै वस्तुको मूल्य बजारमा फरक-फरक पाइने गरेको छ । यद्यपि खुद्रा व्यापार संघले एउटा मूल्यसूची प्रकाशित गर्छ । उक्त संघमा आवद्ध व्यापारीहरुले सोही मूल्यअनुसार खुद्रा सामाग्री बजारमा बिक्री गरेको पाइन्छ । साथै, संघले १५/१५ दिनमा मूल्य निर्धारण गरी मूल्यसूची सार्वजनिक गर्ने गर्छ ।

संघले पछिल्लो पटक सार्वजनिक गरेको (२०८२ चैत १ गते) मूल्यसूचीअनुसार त्रिशूलीको पोखरेली चामल प्रतिकिलो १२० रुपैयाँ तोकिएको छ भने स्टिम जिरा मसिनो चामलको मूल्य ९५ र ७५ रुपैयाँका दुई दरमा उपलब्ध हुनेछ । लङग्रेन बासमती चामल १८० रुपैयाँमा पाइने उल्लेख छ । स्टिम सोना चामलको मूल्य ७५ रुपैयाँ र चिनी १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

यस्तै दालतर्फ, मुंग खोस्टा २२० र १९० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ भने मुसुर दाल १९० र १४० रुपैयाँ प्रतिकिलोमा पाइनेछ । मुंग गेडा २००, मुग खोस्टा २२०, रहर २१५ र चना १५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

 भुटेको तोरीको तेलको मूल्य ४४० रुपैयाँ प्रतिलिटर छ । काँचो तोरीको तेलको मूल्य ३७५ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने सनफ्लावर तेल २९५ रुपैयाँ प्रतिलिटर रहेको छ । वनस्पति घिउ २५५ र नेपाली घिउको मूल्य १४००  रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

 कति छ सरकारी भण्डारमा खाद्यान्न ?

 सरकारी खाद्य भण्डारमा हाल ३३ हजार मेट्रिक टन खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले कम्पनीसँग रहेको ३३ हजार मेट्रिक टन खाद्यान्न मौज्दातले बजारमा हुन सक्ने कृत्रिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्ने बताएका छन् ।

 ‘हामीले सार्क खाद्य बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा ३३ हजार मेट्रिक टन खाद्यान्न मौज्दात राख्नुपर्ने हुन्छ, र अहिले हामीसँग लगभग त्यति नै परिमाणको स्टक छ,’ आचार्यले भने, ‘हामीले ५१ करोड रुपैयाँ बराबरको धान खरिद गरेर राखेका छौँ । त्यसलाई चामलमा परिणत गर्दा ६५ प्रतिशतको अनुपातले आउने चामलले हाम्रो बफर स्टकलाई अझ मजबुत बनाउँछ ।’

सीईओ आचार्यले उक्त परिमाणको खाद्यान्नले देशको कुल मागको करिब १.५ देखि २ प्रतिशत मात्रै हिस्सा ओगट्ने स्पष्ट पारे । उनले यो मौज्दात लामो समयको खाद्यान्न आवश्यकता पूर्ति गर्न नभई बजारमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ‘बफर स्टक’का रूपमा राखिएको जानकारी दिए ।

 ‘यो ३३ हजार मेट्रिक टन खाद्यान्न देशभरको कुल मागको तुलनामा हार्डली (मुस्किलले) १.५ देखि २ प्रतिशत मात्र हो,’ आचार्यले भने, ‘यसको मुख्य उद्देश्य बजारमा ’बफर’ गर्नु हो । यदि निजी क्षेत्रले अनावश्यक रूपमा मूल्य बढाउने, खाद्यान्न लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेमा हामी यो मौज्दात तुरुन्तै बजारमा निकाल्छौँ ।’

 उनका अनुसार सरकारी गोदाममा खाद्यान्न मौज्दात छ भन्ने ‘थ्रेट’ (डर) ले गर्दा निजी क्षेत्रले मूल्य र आपूर्तिलाई सन्तुलनमा राख्न बाध्य हुन्छ । यो मौज्दातले बजारलाई अनुशासित बनाउन र उपभोक्तालाई ठगिबाट जोगाउन रणनीतिक भूमिका खेल्ने उनको दाबी छ ।

 यस्तै खाद्यको विभिन्न शाखामा मुख्यगरी चामल दाल, चिनी, तेल, घिउ लगायत खाद्यान्न मौज्दात रहेको छ । जसमा कोशी प्रदेशमा ४१०.४३ मेट्रिक टन, मधेसमा ७५३.०४ मेट्रिक टन, बागमतीमा ४२२.७४ मेट्रिक टन, गण्डकीमा ११२.७८ मेट्रिक टन, लुम्बिनी ८४५.०२ मेट्रिक टन, कर्णालीमा ४१३.८४ मेट्रिक टन र सुदूर पश्चिममा ६४७.४९ मेट्रिक टन मौज्दात छ ।

 खाद्यान्नको वर्तमान अवस्था र मौज्दातका विषयमा कम्पनीले निरन्तर निगरानी गरिरहेको र भविष्यमा आइपर्न सक्ने चुनौतीलाई सम्बोधन गर्न तयारी अवस्थामा रहेको समेत कम्पनीले जनाएको छ ।

 पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण इन्धन र प्लास्टिकजन्य सामग्रीको मूल्य बढे पनि नेपालमा खाद्यान्नको अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका कार्यकारी अधिकृत रमेश आचार्यले सरकारी भण्डारमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले उपभोक्ताहरू आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

 कार्यकारी अधिकृत आचार्यका अनुसार अन्तर्राष्ट्रिय द्वन्द्वले मुख्यतया दुई क्षेत्र पेट्रोलियम पदार्थ र प्याकेजिङ सामग्रीमा असर पारेको छ । इन्धनको मूल्य वृद्धिले ढुवानी खर्च बढाएको र प्याकेजिङमा प्रयोग हुने प्लास्टिकको भाउ बढ्दा २–३ केजीका साना प्याकेटमा आउने खाद्यान्नको मूल्यमा केही वृद्धि भएको उनले स्वीकारे । यद्यपि, नेपालको मुख्य आपूर्ति स्रोत भारतबाट खाद्यान्नको आयात नियमित भइरहेकाले बजारमा खाद्यान्नको कुनै पनि किसिमको अभाव नदेखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप