मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएकामध्ये एक जनाको १७ दिनपछि शव फेला, अन्य ५ जना अझै बेपत्ता

सोमबार, ०९ चैत २०८२, १९ : ०४
सोमबार, ०९ चैत २०८२

सारांश

  • बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका सुर्खेतका एक व्यक्तिको शव फेला परेको छ।
  • निकुञ्जमा अवैध शिकारका लागि गएका अन्य पाँच जना अझै बेपत्ता छन्।
  • बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, प्रहरी र निकुञ्जका रेन्जरको संयुक्त टोली परिचालन गरिएको छ।

सुर्खेत । फागुन २३ गते शिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज गएका सुर्खेतको बराहताल गाउँपालिका–२ का ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेला परेको छ ।

सोमबार निकुञ्ज क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका–२ स्थित झाँक्री खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

‘मृतकका भिनाजु आसे महतराले घटनास्थल पुगेर शवको सनाखत गरे,’ बुढ्थापाले भने ।

उनका अनुसार, निकुञ्जमा अवैध शिकारका लागि गएका पाँच जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

फागुन २३ गते शिकार खेल्न गएका उनीहरू बेपत्ता भएको खबर चैत्र १ गते मात्रै आसे महतराले प्रहरीकहाँ पुर्‍याएका थिए । उनले आफ्नो साला नाता पर्ने टोपबहादुरसहित ६ जना गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको भनेका थिए ।

सूचना प्राप्त भएपछि प्रहरी चौकी रानीघाट, इलाका प्रहरी कार्यालय बग्नाहा, बानियाभार र बाबियाचौरबाट प्रहरी निरीक्षकहरूको नेतृत्वमा टोलीहरू परिचालन गरिएको थियो । खोजीकै क्रममा चैत ३ गते बराहताल–१ सुगरखालस्थित एक ओडारमा लुकाइएको अवस्थामा एक थान भरुवा बन्दुक र ५ वटा छर्रा बरामद भएको प्रहरीले जनाएको छ ।

बेपत्ताहरूको खोजीका लागि नेपाली सेनाको जबरजंग गण रातामाटाबाट सहायक सेनानी दिनेश विकको नेतृत्वमा ३१ जना, प्रहरी निरीक्षक भुपेन्द्र थापा र विवेक भट्टराईको कमाण्डमा प्रहरी टोली तथा निकुञ्जका रेन्जरसहित ५० जनाको संयुक्त टोली खटिएको छ । ‘घटनाको थप अनुसन्धान र बाँकी मानिसहरूको खोजी कार्य जारी छ,’ प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप