साहुसँग ऋण मागेर पढ्दै अधिवक्ता बनेकी गीता चौधरी अब संसदमा
सारांश
- कञ्चनपुरकी गीता चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद निर्वाचित भएकी छिन्।
- उनले गरिब, दलित र सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गरेकी थिइन्।
- उनको प्राथमिकतामा सुदूरपश्चिमका भूमिहीन, सुकुम्बासी र आरक्ष पीडितको समस्या समाधान रहेको छ।
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीय गीता चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन् । पछिल्लो समय उनको परिचय फेरिएको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएसँगै अब विधायिकी भूमिकामा देखिने छिन् ।
प्रायः अदालतको बहस र सामाजिक न्यायका लागि सडकमा भेटिने उनी अब मुलुकको नीति निर्माण गर्ने थलो प्रतिनिधि सभामा पुगेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी गीताले थारु समुदायबाट अधिवक्ता बन्दै संसदसम्म पुग्न त्यति सहज नरहेको अनुभव सुनाइन् । यहाँसम्म पुग्न अभाव, सामाजिक विभेद प्रशस्त सहनु परेको उनको भनाइ छ ।
गीताको जन्म एक सामान्य थारु परिवारमा भएको हो । उनको बाल्यकाल अभावमै बित्यो । आर्थिक अभावले सधैँ परिवारलाई पिरोलिरहन्थ्यो । यस्तो पारिवारिक अवस्थामा पनि गीतालाई केही गर्ने र पढ्ने हुटहुटी भने थियो । उच्च शिक्षा हासिल गर्ने बेला उनले पैसा पाइनन् । उनले साहुसँग ऋण मागेर कलेजको पढिन् ।
आर्थिक अभावसँगै सामाजिक अवरोध छिचोल्दै उनले उच्च शिक्षा हासिल गरिन् । गाउँमा ‘छोरीलाई धेरै पढाउनु हुँदैन’, ‘छोरीले धेरै पढेर के नै गर्ने हो र ?’ भन्ने सोच कायमै थियो । यसका बाबजुद उनले कानुन विषय पढ्ने निर्णय गरिन् ।
गीताले कञ्चनपुर र आसपासका क्षेत्रका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जिकिर गरिन् । विशेषगरी घरजग्गा विवाद, घरेलु हिंसा र नागरिक अधिकारका क्षेत्रमा आफूले गरेको कामले समाजमा छुट्टै पहिचान दिलाएको उनले बताइन् ।
उनले कानुनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिन् । त्यसपछि उनले आफूलाई एक अधिवक्ताका रूपमा स्थापित गराइन् ।
अधिवक्ता बनेपछि गीताले आफ्नो पेसालाई कमाई खाने भाँडोको रूपमा मात्र नहेरेको बताइन् । न्यायको पहुँचबाट टाढा भएकालाई न्याय दिलाउने काम पनि आफूले गरेको उनको भनाइ छ ।
गीताले कञ्चनपुर र आसपासका क्षेत्रका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जिकिर गरिन् । विशेषगरी घरजग्गा विवाद, घरेलु हिंसा र नागरिक अधिकारका क्षेत्रमा आफूले गरेको कामले समाजमा छुट्टै पहिचान दिलाएको उनले बताइन् ।
न्याय खोज्दै आउने गरिबका लागि आफू भरोसाको केन्द्र पनि बनेको भन्दै गर्व गर्छिन् उनी । अदालती कागजात मिलाउनेदेखि बहसमा उत्रिँदासम्म कहिल्यै स्वार्थ नराखेको उनले बताइन् ।
गीताको राजनीतिक चेतना २०६२/०६३ को जनआन्दोलनबाट प्रष्फुटित भएको हो । लोकतन्त्र र नागरिक अधिकारका लागि उनी विद्यार्थी हुँदै सडकमा उत्रिइन् । उनी सुरुमा एमाले सम्वद्ध विद्यार्थी संगठनमा आबद्ध थिइन् ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गीता नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा उम्मेदवार बनेकी थिइन् । कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भए पनि उनले पाएको मत र जनताको मायाले राजनीतिमा स्थापित गराएको उनको भनाइ छ ।
पछि गीता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिइन् । पार्टीले उनको योग्यता, अनुभव र सामाजिक योगदानको कदर गर्दै समानुपातिक सूचीमार्फत संसदसम्म पुर्याएको उनले प्रस्ट पारिन् ।
सरकारी विद्यालयहरूमा डिजिटल ल्याब स्थापना गरी शिक्षालाई प्रविधिसँग जोड्ने र किसानका लागि समयमै मल तथा बिउको उपलब्धता सुनिश्चित गर्ने विषयमा पनि आफू सक्रिय हुने उनी बताउँछिन् ।
सुदूरपश्चिमका समस्याहरूलाई प्राथमिकतामा राखेर संसदमा भूमिका निर्वाह गर्ने गीताको अठोट छ । सुदूरपश्चिममा दशकौँदेखि रहेको भूमिहीन, सुकुमबासी र आरक्ष पीडितको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको उनले बताइन् ।
‘लगत अद्यावधिक गरेर वास्तविक हकदारलाई लालपुर्जा दिलाउन म संसद् र सरकारसँग निरन्तर पैरवी गर्नेछु,’ गीताले भनिन् ।
यस्तै थारु समुदायको परम्परागत न्याय प्रणाली ‘बडघर’ र ‘भलमन्सा’ लाई कानुनी मान्यता दिलाउन प्रयासरत रहेको उनको भनाइ छ ।
यसका साथै मुक्त कमैया र हलियाको पुनःस्थापनाका लागि सिपमूलक तालिम र आवास कार्यक्रमको वकालत उनको अर्को प्रमुख एजेन्डा हो ।
थारु समुदायमा वंशाणुगत रूपमा देखिने ‘सिकलसेल एनिमिया’ को समस्यालाई आफूले गम्भीरताका साथ उठाइरहेको र अब ससंदमा पनि उठाउने गीताले बताइन् ।
यो रोगको निःशुल्क परीक्षण र उपचारको व्यवस्था देशभर मिलाउनु पर्ने उनको माग छ ।
सरकारी विद्यालयहरूमा डिजिटल ल्याब स्थापना गरी शिक्षालाई प्रविधिसँग जोड्ने र किसानका लागि समयमै मल तथा बिउको उपलब्धता सुनिश्चित गर्ने विषयमा पनि आफू सक्रिय हुने उनी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण