१६ हजार करोडभन्दा बढीमा बिक्यो आरसीबी, बन्यो आईपीएल इतिहासकै सबैभन्दा महँगो टोली
सारांश
- आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) सबैभन्दा महँगो टोली बनेको छ, जसलाई १.७८ बिलियन डलरमा खरिद गरिएको छ।
- आरसीबीलाई आदित्य बिर्ला ग्रुप, टाइम्स अफ इन्डिया ग्रुप लगायतका समूहले किनेका हुन्, जसले राजस्थान रोयल्सको रेकर्ड तोडेको छ।
- आर्यमान बिर्लालाई आरसीबीको अध्यक्ष बनाइएको छ र टोलीले २०२६ सिजन नयाँ मालिक र उत्साहका साथ सुरु गर्नेछ।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएल इतिहासकै सबैभन्दा महँगो टोली बनेर नयाँ कीर्तिमान कायम गरेको छ। आरसीबीलाई १.७८ बिलियन डलर (१६ हजार ७०६ करोड भारु) मा खरिद गरिएको छ।
यो बिक्रीसँगै बेंगलुरुले भर्खरै मात्र राजस्थान रोयल्सले बनाएको महँगो टोलीको रेकर्डलाई समेत पछाडि पारेको छ। क्रिकबजको रिपोर्ट अनुसार आरसीबीको पुरुष र महिला दुवै टोलीलाई आदित्य बिर्ला ग्रुप, टाइम्स अफ इन्डिया ग्रुप, बोल्ट भेन्चर्स र ब्ल्याकस्टोन पर्पिचुअल प्राइभेट इक्विटीले संयुक्त रूपमा खरिद गरेका हुन्। यसअघि राजस्थान रोयल्सलाई भारतीय मूलका अमेरिकी व्यवसायी काल सोमानीको कन्सोर्टियमले १.६३ बिलियन डलरमा किनेर कीर्तिमान बनाएको थियो ।
नयाँ नेतृत्वमा पूर्व क्रिकेटर आर्यमान बिर्ला
आरसीबीको नयाँ स्वामित्व आएसँगै आदित्य बिर्ला ग्रुपका निर्देशक आर्यमान बिर्लालाई टोलीको अध्यक्ष बनाइएको छ। २८ वर्षीय आर्यमानको परिचय केवल एक व्यवसायीको रूपमा मात्र सीमित छैन, उनी स्वयं एक पूर्व प्रथम श्रेणी क्रिकेटर हुन्।
मध्य प्रदेशका लागि रणजी ट्रफी खेलिसकेका आर्यमानले सन् २०१८ को आईपीएल अक्सनमा राजस्थान रोयल्सबाट स्थान बनाएका थिए। क्रिकेटबाट सन्यास लिएपछि व्यवसायमा सक्रिय भएका उनले छोटो समयमै आदित्य बिर्ला ग्रुपको रणनीतिक निर्णय प्रक्रियामा आफ्नो बलियो पकड बनाएका छन्।
मूल्यमा १६ गुणाको छलाङ्ग
आरसीबीको व्यापारिक यात्रा निकै रोचक देखिन्छ। सन् २००८ मा विजय माल्याले यस टोलीलाई मात्र १११.६ मिलियन डलर (त्यसबेला करिब ४४६ करोड भारु) मा खरिद गरेका थिए। मार्च २०२६ को मूल्य सूचाङ्क र मुद्रा विनिमय दरलाई हेर्ने हो भने १९ वर्षको अवधिमा आरसीबीको ब्रान्ड भ्यालु करिब १६ गुणाले बढेको छ। सन् २०१६ मा युनाइटेड स्पिरिट्स लिमिटेडले यसको स्वामित्व लिएको थियो भने ठिक १० वर्षपछि फेरि नयाँ मालिकहरू भित्रिएका छन्।
च्याम्पियन टोलीको नयाँ चुनौती
आरसीबी हाल आईपीएल र डब्लुपीएल (महिला प्रिमियर लिग) दुवैको साविक विजेता हो। टोलीले नयाँ मालिक र नयाँ जोसका साथ सन् २०२६ को सिजनको सुरुवात गर्नेछ।
आईपीएल २०२६ को उद्घाटन खेलमै २८ मार्चमा बेंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्नेछ। त्यसपछि ५ अप्रिलमा चेन्नाई सुपर किंग्ससँग बेंगलुरुमै भिडन्त हुनेछ भने १० अप्रिलमा गुवाहाटीमा राजस्थान र १२ अप्रिलमा मुम्बईमा मुम्बई इन्डियन्ससँग खेल्ने तालिका सार्वजनिक भएको छ।
राजस्थान रोयल्सको मूल्यमा त झन् २४ गुणाको उछाल देखिएको छ। सन् २००८ मा मात्र ६७ मिलियन डलरमा बिक्री भएको राजस्थान अहिले १.६३ बिलियन डलर पुग्नुले आईपीएलको वैश्विक बजार कति शक्तिशाली छ भन्ने पुष्टि गर्छ। यो कारोबारका लागि अन्य नियामक निकायहरूको अन्तिम स्वीकृति आउन बाँकी रहे पनि आरसीबी र राजस्थानको यो खरिदले विश्व खेलकुद बजारलाई नै अचम्मित पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण