बालेन प्रधानमन्त्री बन्नु भनेको मधेसको एजेण्डा पूरा हुनु हो : राजेन्द्र महतो
सारांश
- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही-२ बाट पराजित भए, जसमा बालेनको पक्षमा ठूलो लहर आएको थियो।
- महतोका अनुसार, मधेसवादी दलहरूको एकता नहुनु र बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दा मधेसको मनोविज्ञान परिवर्तन हुनु पराजयका कारण हुन्।
- महतोले बालेन सरकारले राम्रो काम गरेमा पार्टी बन्द भए पनि फरक नपर्ने बताए, किनभने मधेसका समस्या समाधान भए पुग्छ।
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ बाट पराजित भए । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो निर्वाचित भए ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले बालेनको पक्षमा ठुलो लहर आएको भन्दै आफूमात्र नभएर मधेसवादी सबै दल सोही लहरका कारण पराजित हुनु परेको बताए । रास्वपाबाट बालेनलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारिएपछि मधेसको छोरा पहिलो पटक देशको प्रधानमन्त्री बन्दैछ भनेर मधेसवासीले भोट दिएको महतोको तर्क छ । अर्कोतिर मधेसवादी दलहरूबिच एकता नहुनु पनि पराजयको अर्को कारण रहेको महतोले खुलाए ।
प्रस्तुत छ, मधेसमा मधेसवादी दल किन कमजोर भए, अब कसरी अगाडि बढ्ने योजना बन्दैछ र बालेन सरकारसँग कस्तो सम्बन्ध रहन्छ लगायतका विषयमा रातोपाटीले अध्यक्ष राजेन्द्र महतोसँग गरेको कुराकानीको सम्पादित अंशः
- प्रतिनिधि सभा निर्वाचनमा पराजित भएर काठमाडौँ फर्किनु भएको छ, कस्तो महसुस गरिरहनु भएको छ ?
हामीले आफ्नो तर्फबाट त निर्वाचन परिणाम पक्षमै आओस् भनेर प्रयास गरेको हो । मैले आफ्नो निर्वाचन क्षेत्रमा विगतको भन्दा अलिकति बढी नै समय दिएको थिएँ । परिणाम पक्षमै आउला भन्ने आशा थियो । जनताले पनि सोही हिसाबको आश्वासन दिएका थिए, तर परिणाम त्यस्तो आएन ।
- किन पराजित भइयो भन्ने लाग्छ तपाईंलाई ?
अब त्यसमा बाह्य रूपमा हेर्दा एउटा मुख्य कारण त यो चुनावमा बालेनको नाउँमा आँधी–तुफान ल्याउने प्रयास भएको थियो र मधेसलाई बालेनमय जस्तो बनाइएको थियो । त्यो बन्नुको मुख्य कारण हामी नै हो । यो देशमा मधेसीका सन्तान कहिल्यै पनि प्रधानमन्त्री नबन्ने ! यो देश हाम्रो हो कि होइन ? मधेसी प्रधानमन्त्री किन बन्नु हुँदैन भनेर हामीले हजारौँ पटक ३५ वर्षदेखि कुरा उठाउँदै आएको हो । योपालि एउटा मधेसी (बालेन शाह)लाई प्रधानमन्त्रीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई अघि सार्यो र त्यसको असर पूरै मधेसमा सकारात्मक असर पर्यो ।
मधेसको साइकोलोजीलाई नै परिवर्तन गरिदियो । मधेसी जनता पनि विगतका मूल्य–मान्यता, योगदान, पहिचान, परिचय, यी सबै कुरालाई थाँती राखेर बालेनलाई प्रधानमन्त्री बनाउनुपर्नेतिर लागे । बालेनलाई जसरी पनि प्रधानमन्त्री बनाउनु पर्छ भन्ने मानसिकता मैले जनतामा देखेँ ।
- तर ३०–३५ वर्षको अवधिमा तपाईंहरूले किन बालेनजस्तो क्याडर आफ्नो पार्टीबाट उत्पादन गर्न सक्नुभएन, जसलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सकिन्थ्यो ?
बालेन मेयर बन्नुभन्दा पहिले उहाँको नाउँ म आफैँले सुनेको थिइनँ । जबकि उहाँको बुबासँग मेरो राम्रो सम्बन्ध थियो । स्वास्थ्यमन्त्री हुँदा उहाँको बुबालाई आयुर्वेद विभागको डाइरेक्टरको जिम्मेवारी दिएँ । त्यो एउटा पारिवारिक सम्बन्ध थियो, तर बालेनलाई त्यो रूपमा मैले जानेकै थिएन । मेयर बनेपछि मात्र बालेन रामनारायण शाहको छोरो हो भनेर थाहा पाएको थिएँ मैले । बोलेन कसरी मेयर भयो, कसरी प्रोजेक्टेड गरियो भन्ने सबैलाई थाहा भएकै कुरा हो । मिडिया, सोसल मिडिया र उहाँको र्याप भनौँ, एकसाथ सबै कुरा आयो । यो निर्वाचनभन्दा पहिले पनि र पछि पनि सोशल मिडियाको निकै भूमिका रह्यो बालेनको हकमा । यो कुरा सबैले स्वीकार गरेकै हो ।
योपालि एउटा मधेसी (बालेन शाह)लाई प्रधानमन्त्रीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई अघि सार्यो र त्यसको असर पूरै मधेसमा सकारात्मक असर पर्यो ।
अर्को कुरा, ३५ वर्षको राजनीतिमा किन हामीले मधेसीलाई प्रधानमन्त्री बनाउन सकेनौंँ ? वा प्रस्ताव पनि किन गर्न सकेनौँ ? कुनै पनि मधेसी पर्सनालिटीलाई राष्ट्रिय पर्सनालिटीको रूपमा हामीले प्रस्तुत गर्न किन सकेनौँ ? हामीले मधेसवादी नेतालाई पर्सनालिटीको रूपमा प्रस्तुत नगरेको होइन, तर बालेनको नाम कसरी प्रस्तुत गरियो ? उनलाई कसरी राष्ट्रिय पर्सनालिटीको रूपमा प्रस्तुत गरियो ? मधेसी, आदिवासी जनजाति, बाहुन–क्षेत्री, मधेसी–पहाडी सबैलाई स्वीकार्य हुने व्यक्तित्वको रूपमा प्रस्तुत गरियो, प्रोजेक्टेड गरियो । त्यसमा सोशल मिडियाको ठुलो हात छ ।
राष्ट्रियस्तरमा प्रोजेक्टेड व्यक्तित्वचाहिँ प्रधानमन्त्री हुन सक्छ, यो सबैले विश्वास गर्ने कुरा हो । मधेसीले पनि भरोसा तथा विश्वास गरे । आँखा चिम्लेर सबै मधेसीले बालेनलाई भोट दिए । को उम्मेदवार हुन् भन्ने कुरासँग कसैलाई मतलब थिएन । आफूले मत हालेको उम्मेदवारलाई मतदाताले चिनेका थिएनन् । बालेनको नाममा सबैले घण्टीमा मत हाले । बालेन र घण्टीमात्र मतदातालाई थाहा थियो । मधेसको जनताले मधेसीको सन्तान बालेनलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने कुरामात्र सम्झेर मतदान गरे । सुनामी नै आयो । त्यसको असरको सिकार म पनि भएँ । यस प्रकारको आँधी–तुफान आएपछि त्यसमा को–कहाँ पुग्छ भन्ने ठेगान हुँदैन ।
- त्यसमा बालेन फ्याक्टरले मात्रै काम गर्यो कि राजनीतिक फ्याक्टरले पनि काम गरेजस्तो लाग्छ ?
एउटा फ्याक्टर बालेन पनि थियो, तर त्यो फ्याक्टरलाई मधेसले रोक्न सक्थ्यो । मधेसको राजनीतिलाई व्यवस्थित ढङ्गले अगाडि बढाएको भए रोक्न सकिन्थ्यो । मधेसमा हाम्रो ३५ वर्षदेखिको लगानी थियो, त्यसले रोक्न सक्थ्यो, तर त्यसको लागि मधेस केन्द्रित दलहरू गोलबन्द हुन जरुरी थियो । मिलेर एउटै चुनाव चिह्नमा चुनाव लड्न जरुरी थियो । पार्टी एक हुन नसके पनि एकल चुनाव चिह्नचाहिँ सबै मिलेर प्रयोग गरेको भए मधेसवादी हावाले त्यहाँ काम गर्न सक्थ्यो । जसले गर्दा यो प्रकारको परिणाम आउने थिएन । त्यो कमी मधेसवादी पार्टीहरूमा रह्यो ।
मैले यसमा प्रयास पनि गरेकै हो । एउटै चुनाव चिह्नबाट चुनावमा जानुपर्छ भनेर प्रस्ताव गरेँ, तर कोही त्यसका लािग तयार भएन । हाम्रो प्रस्ताव थियो– सबै मिलेर पार्टी एकता गर्ने, एउटा पार्टी बनाउन नसके पनि एउटै चिह्न प्रयोग गरौँ । एउटा चिह्न प्रयोग गर्दा एउटा निर्वाचन क्षेत्रमा साझा उम्मेदवार हुन्थ्यो । पहिचानवादी उम्मेदवार हुन्थ्यो र यो प्रकारको रिजल्ट परिणामचाहिँ यस्तो आउने थिएन ।
- मधेसवादी दलहरू एक ठाउँमा किन आउन सकेनन् त ?
अब त्यसलाई अहंकार भन्ने कि आत्मविश्वास ! अहंकार भयो या म एक्लै पनि गर्न सक्छु भन्ने भयो कि ! या म जितिहाल्छु, बाँकी सबै सकिउन् भन्ने भयो कि ! यस्ता विभिन्न कुराले काम गरेको हुनुपर्छै । तर जे भयो, त्यो दुर्भाग्यपूर्ण भयो । मिलेर चुनावमा नजानुको परिणाम दुःखद् भयो । एउटा चुनावले सबैलाई पाठ सिकाइदियो ।
- तर तपाईंहरू पनि तीन दलको एकल चुनाव चिह्न लिएर निर्वाचनमा जानुभयो, नतिजा त देखाउन सक्नु भएन नि, होइन ?
होइन, त्यो त कसरी देखाउँछ ? तीन वटा सानो पार्टीको औकात कति थियो ? के देखाउँछ त ? सबै मिलेको भए त एउटा औकात बन्थ्यो नि । उपेन्द्र यादवलाई भन्दाखेरि त्यसको आवश्यकता नै छैन भनिदिनुभयो । सीके राउतलाई भन्दाखेरि उहाँले पनि यसको कुनै आवश्यकता छैन भनिदिनुभयो । बाँकी हामी तीन दल मिल्यौँ । त्यो सङ्केतात्मक थियो । सबैले त्यसलाई पालना गरेको भए परिणाम अर्कै हुन्थ्यो । एक पनि हुन नसक्ने, मिलेर पनि जान नसक्ने, गठबन्धन पनि बनाउन नसक्ने भएपछि त परिणाम झेल्नु पर्यो । यही परिणाम हो । यही हुनु थियो ।
- चुनाव सकेर आएपछि तपाईंहरूले लोकतान्त्रिक मोर्चाको एउटा बैठक राख्नुभयो । त्यो बैठकबाट तपाईंहरूले सन्देश दिनुभयो कि बालेनलाई प्रधानमन्त्री बनाउन हाम्रो पनि योगदान छ । यसलाई कसरी तपाईंहरू पुष्टि गर्नुहुन्छ ?
मधेसीलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर हामीले ३५ वर्षदेखि आवाज उठाउँदै आएका हौँ । हामीले त्यत्रो दिनदेखि उठाउँदै आएको कुरा मधेसी जनताको दिमागमा बसेको थियो । रास्वपाले मधेसी छोरालाई प्रधानमन्त्रीको रूपमा अगाडि बढायो । मधेसी जनतालाई लाग्यो– यही हो मौका, मौकाको फाइदा उठाइहालौँ ।
मधेसमात्र होइन, पूरै देशले बालेनलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गरेर मतदान गरे । हामीले सुरुदेखि उठाउँदै आएको एजेण्डा अनुसार बालेन प्रधानमन्त्री बन्ने भएपछि हामीले शुभकामना र बधाई दिएका हौँ । जनताले गरेको निर्णयलाई स्वाभाविक रूपमा मान्नु पर्छ । त्यो अस्वाभाविक होइन । हामीले राखेको एजेन्डामा जनताले काम गरेको छ । वास्तवमा बालेन प्रधानमन्त्री हुनुमा मधेसवादी दलको पनि देन छ ।
- तर तपाईंहरूले त कुलमानलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर सहमति नै गरिसक्नु भएको थियो, अनि फेरि बालेनतिर कसरी सर्नुभयो त ?
बालेनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभन्दा पहिले नै हामीले कुलमान घिसिङलाई प्रधानमन्त्रीको रूपमा अघि सारेका थियौँ । एक प्रकारको सहमति नै भइसकेको थियो । एक जना जनजातिको छोरालाइ्र्र अघि सारौँ भनेर हामीले कुलमानलाई अघि सार्यौँ, तर पछि कुलमान नै बालेनको पार्टीसँग मिल्नुभयो । त्यसपछि कुरा बिग्रियो । हामीमा मधेसीलाई मात्र होइन, मधेसी जनजाति, दलित, मुस्लिम, थारु जो भए पनि यो देशको प्रधानमन्त्री बन्नुपर्छ भन्ने चाहना थियो । बाहुन–क्षेत्री त बन्दै आएको हो । उसको एकलौटी हो नि ! कुलमान नभए पनि हाम्रो लागि सुखद् के हो भने वर्षौंदेखि उठाएको एजेन्डामा अहिले देश अगाडि बढ्यो । मधेसीका सन्तान प्रधानमन्त्री हुने जुन अवस्था बनेको छ, त्योचाहिँ मधेसी उत्पीडनमा परेको समुदायका लागि एउटा सुखद् विषय हो ।

- तर जस्तोसुकै हावाहुरी, सुनामी आए पनि बिउ त जोगाउन सक्नुपर्ने, मधेसवादी दलको नाम–निशान समाप्त भयो नि, किन यस्तो भयो ?
यसको दुई वटा पक्ष होला । एउटा साँच्चैको सुनामी आएर त्यस्तो परिणाम आएको हो कि या मधेसीका छोरा बालेनलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर आएको सुनामीका कारण एउटा भाष्य निर्माण भएको हो ! अर्को कुरा, यो परिणाम आउनुमा सुनामी बाहेक अरु पनि केही भएको हो कि भनेजस्तो कुरा पनि आएको छ । कतिपयले आफैँले खसालेको मत आफ्नै बाकसमा नपाएको भन्ने कुरा बाहिर आयो । हाम्रो पनि कहीँ न कहीँ निश्चित मत थियो, त्यो मत कहाँ गयो ? गम्भीर प्रश्न हो । यो घरबाट निश्चित रूपमा मत आउँछ भनेको ठाउँमा त्यहाँबाट पनि मत आएन । आखिर गयो कहाँ ? यसको हालसम्म कुनै प्रमाण छैन । कहीँ कतै धाँधली भएको हो कि भनेर पनि मान्छेले भन्न थालेका छन्, तर प्रमाण कसैले दिएको छैन । प्रमाण छैन अहिलेसम्म ।
बालेन प्रधानमन्त्री भएपछि मधेसी जनताको एउटा आकांक्षा पूरा हुन्छ– मधेसी सपूत प्रधानमन्त्री बन्नुभयो । उहाँले राम्रो काम गर्नुभयो भने त्यसका लागि धन्यवाद पाउनुहुन्छ । तर बेइमानी वा धोकाधडी गरेमा जसरी कांग्रेस, कम्युनिस्टले विगतमा मधेसी मतको दुरुपयोग मात्रै गरेझैँ रास्वपाले पनि मधेसीको अनुहार दुरुपयोग गरेमा कांग्रेस, कम्युनिस्टजस्तो हालत रास्वपाको पनि हुन्छ ।
- तपाईंले जे–जस्तो भने पनि तपाईंहरूमाथि जेनजी आन्दोलनका बाबजुद नसुुध्रिएको आरोप छ । तपाईंहरूले आफूलाई सुधार्नुभएन, पुरानै सोच, पुरानै ढर्राले अगाडि बढ्नुभएका कारण यस्तो भयो भन्ने पनि छ । यसमा के भन्नुहुन्छ ?
एकदम सही कुरा हो । जहाँबाट यो कुरा आए पनि एकदम सही हो । सुिध्रएको भए त कहाँ यस्तो परिणाम आउँथ्यो ? सुध्रिएको भए त्यही हिसाबले चुनावमा जान्थ्यो नि । मिलेर जान्थ्यो । आफ्नो गोरुको बाह्रै टका भनेर चुनावमा गइन्थ्यो र ? त्यसैले जैसी करनी, वैसी भरनी । एक ढंगले ठिक भयो । अहंकार चकनाचुर भयो । एकदम ठिक भयो । अब यसबाट हामी सबैमा सद्बुद्धि आओस् ।
- तपाईं एउटा पार्टीको अध्यक्ष हुनुहुन्छ, तपाईं नै यस्तो भन्दै हुनुहुन्छ, किन ?
म पार्टीको अध्यक्ष भएरै त सबै कुरा हेरिहेको छु, बुझिरहेको छु । अध्यक्ष नभएको भए यी कुराहरू कसरी थाहा हुन्थ्यो ? अहिले पनि सुध्रिऔँ भनिरहेको छु । अहिले पनि बसौँ, सल्लाह गरौँ, एकजुट भएर अगाडि बढौँ भनिरहेको छु, तर पनि सुध्रिएला जस्तो देखिएको छैन । अब पनि मधेस केन्द्रित दलहरू गम्भीर भएनन् भने योभन्दा हालत खराब हुन्छ ।
- त्यसो भए अब तपाईंहरू रिभाइभ कसरी गर्नुहुन्छ ?
अघिसम्म मधेसको र मधेसवादी दलको कुरा भयो । अहिलेको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी कसरी उदायो ? बालेन कसरी उदायो ? कुन पार्टीसँग एकता गरेर र कहाँ के गरेर उदायो ? त्यो कुरा मधेसवादी दलले आकलन गर्न सकेनन् । आफ्नै अहंकार गरिरहे । अब मधेसी जनताले बालेन प्रधानमन्त्री हुने र आफ्नो जीवनस्तरमा सुधार हुने अपेक्षा गरेका छन् । मधेसी जनताले खाली एउटा मधेसीलाई प्रधानमन्त्रीमात्रै बनाएको होइन । मधेसी जनताले हाम्रो मुद्दाहरू बालेनले सम्बोधन गरिदिन्छन् भन्ने आशा राखेका छन् । चुनावी क्याम्पियन सुरु गर्दा जनकपुरमा गएर बालेनले भाषण गर्दाखेरि ‘अब मधेसी जनता अधिकारको लागि काठमाडौँ जानु पर्दैन, घुम्न जाने हो । अब पशुपति दर्शनका लागि जाने हो’ भन्नुभएको थियो । अधिकार सम्पन्न बलियो प्रदेश बन्छ भन्नुभएको थियो । त्यो कुरा जनताको दिमागमा बसेको छ । अब बन्ने प्रधानमन्त्रीले त्यो पूरा गर्नु पर्छ । अब मधेसी जनता अधिकारका लागि काठमाडौँ जाँदैनन्, घुम्न जान्छन् । सबै अधिकार आफ्नै प्रदेशमा प्राप्त गर्छन् भन्ने मधेसी जनताको अपेक्षा हो ।
- तपाईं यी अपेक्षा पूरा हुनेमा कति विश्वास गर्नुहुन्छ ?
झन्डै दुई तिहाइ बहुमतको सरकार बन्दैछ । यस अर्थमा हिजो उहाँले बोलेका कुरा पूरा हुन्छ भनेर पत्याउनै पर्छ । आशा र विश्वास गर्नुपर्छ । उहाँले भनेका कुरा पूरा हुन सकोस् भन्ने कामना गर्नुपर्छ । तर देशको जुन चरित्र हो, शासनको जुन चरित्र हो र उहाँको पार्टीको जुन चरित्र हो, त्यसलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । बालेन आफैँमा एक्लै त केही होइन नि । उहाँको पार्टी (रास्वपा)को पनि त भूमिका हुन्छ । रास्वपामा पनि एकल नश्लीय चिन्तन, सोचबाट हाबी भएको पार्टी हो । अनि त्यो पार्टीले यो अधिकार, पहिचानको सवालहरूलाई सम्बोधन गर्न कति सहयोग गर्छ, त्यो हेर्न बाँकी नै छ । अहिलेसम्म कांग्रेस, कम्युनिस्ट जस्ता पार्टीहरूले गरेनन् । त्यस्तै चिन्तन, सोच बोकेको पार्टी रास्वपा पनि हो । त्यो पार्टीले गरिदेला भन्ने आशा गर्नुपर्छ, तर भरोसा गर्न अप्ठ्यारो छ ।
अहिले सरकार नै बनिसकेको छैन । अब सरकार बन्छ । बालेन प्रधानमन्त्री भएपछि मधेसी जनताको एउटा आकांक्षा पूरा हुन्छ– मधेसी सपूत प्रधानमन्त्री बन्नुभयो । उहाँले राम्रो काम गर्नुभयो भने त्यसका लागि धन्यवाद पाउनुहुन्छ । तर बेइमानी वा धोकाधडी गरेमा जसरी कांग्रेस, कम्युनिस्टले विगतमा मधेसी मतको दुरुपयोग मात्रै गरेझैँ रास्वपाले पनि मधेसीको अनुहार दुरुपयोग गरेमा कांग्रेस, कम्युनिस्टजस्तो हालत रास्वपाको पनि हुन्छ । हामी पनि ‘वेट एण्ड सी’ अवस्थामा छौँ ।
- बालेन सरकारले राम्रो काम गरेमा तपाईंहरूको पार्टी त सधैँका लागि बन्द हुन्छ नि ?
राम्रो काम गरेमा किन चाहियो अरु पार्टी र संगठन ? बन्द भए केही फरक पर्दैन । मधेसको समस्या या उत्पीडनमा परेको जनताका समस्या समाधान बालेनले मात्र होइन, जुनसूकै पार्टी वा नेताले गरिदिएमा त्यही प्रयोजनका लागि अरुले दोकान थाप्न जरुरी छैन । किन चाहियो पार्टी ? के को लागि पार्टी चाहियो ? जब त्यो समस्याको हल कसैले गरिरहेका छन् भने त्यसैको लागि अर्को पार्टी किन चाहियो ? स्वतः समस्याको समाधान भयो भने भइहाल्यो नि !
- बालेन प्रधानमन्त्री बन्न लाग्दा तपाईं अलि बढी नै उत्साहित देखिनुभएको छ, त्यसको कारण के हो ?
म किन उत्साहित देखिएँ भने ३५ वर्षदेखि यसका लागि लड्दै आएको व्यक्ति हुँ । मधेसी राजनीतिमा म अरुजस्तो कांग्रेस, कम्युनिस्टबाट आएको होइन । मैले मधेसकै राजनीति सुरु गरेँ, र अहिलेसम्म त्यसैमा छु । यो देशको नेतृत्व मधेसीले गर्नुपर्छ भनेर कुरा उठाउँदै आएको हुँ । आज त्यो सपना पूरा हुँदैछ । त्यही भएर अलिकति म बढी उत्साहित छु । मधेसवादप्रति समर्पित भाव जहाँ हुन्छ, जेमा हुन्छ, त्यसमा म खुसी हुन्छु– चाहे जो होस्, जुनसुकै पार्टी होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण