कर्णाली खेलकुद परिषद्काे सदस्यसचिव बनेका चन्द को हुन् ?
सारांश
- कर्णाली प्रदेश सरकारले रवीन्द्र चन्द ठकुरीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा नियुक्त गरेको छ।
- ठकुरी फुटबल प्रशासन, बजारीकरण र खेलकुद व्यवस्थापनमा अनुभवी छन्, साथै उनले एन्फामा पनि काम गरेका छन्।
- उनी आरसी३२ फुटबल एकेडेमीका संस्थापक अध्यक्ष हुन् र उनले खेलाडी र प्रशिक्षकको रूपमा पनि काम गरेका छन्।
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा रवीन्द्र चन्द ठकुरी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ०८१ पुसदेखि रिक्त रहेको सदस्यसचिव पदमा वीरेन्द्रनगर नगरपालिका-७ का चन्दलाई नियुक्त गरेको हो ।
चन्द नेपाली खेलकुद व्यवस्थापन, फुटबल प्रशासन र बजारीकरण क्षेत्रका एक अनुभवी र बहुआयामिक व्यक्तित्व हुन्। कर्णाली प्रदेशको दैलेख, चौराठामा जन्मिएका ठकुरी हाल सुर्खेतको वीरेन्द्रनगर–७ का स्थायी बासिन्दा हुन्।
उनले त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पसबाट व्यवसाय प्रशासनमा स्नातक (BBA) र डन बास्को कलेजबाट मार्केटिङ तथा ब्रान्डिङ विषयमा स्नातकोत्तर (MBA) सम्पन्न गरेका छन्। खेलकुदको प्राविधिक पक्षमा पनि विशेष दख्खल राख्ने ठकुरीले Asian Football Confederation एएफसी ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स पूरा गर्नुका साथै खेलकुद व्यवस्थापन सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरूमा सक्रिय सहभागिता जनाएका छन्।
फुटबल प्रशासन र व्यावसायिक नेतृत्व:
हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति सदस्यका रूपमा कार्यरत ठकुरीले संघभित्र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। उनले एन्फाको 'कमर्सियल राइट्स, ब्रोडकास्टिङ तथा डिजिटल राइट्स समिति'को संयोजक र 'दीर्घकालीन रणनीतिक योजना तथा कार्यक्रम संशोधन समिति'को सदस्यका रूपमा आफ्नो व्यावसायिक कुशलता प्रदर्शन गरिसकेका छन्।
उनको अब्बल नेतृत्व क्षमता कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मा मार्केटिङ समितिको संयोजक र सन् २०२२ को साफ महिला च्याम्पियनसिपमा भेन्यु म्यानेजरको रूपमा सफल प्रमाणित भइसकेको छ। यसबाहेक, उनले महिला ओलम्पिक छनोट, साफ यू–२० च्याम्पियनसिप, एएफसी च्यालेन्ज लिग र फिफा विश्वकप छनोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्थानीय आयोजक समिति (LOC) को महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्।
आरसी३२ फुटबल एकेडेमी “रारा रेन्जर्स” र ऐतिहासिक उपलब्धि:
ठकुरी आरसी३२ फुटबल एकेडेमी (रारा रेन्जर्स) का संस्थापक अध्यक्ष हुन्। यो क्लब कर्णाली प्रदेश र समग्र पश्चिम नेपालकै पहिलो क्लब हो, जसले एन्फाको राष्ट्रिय फुटबल पिरामिड अन्तर्गत 'बी' डिभिजनको यात्रा तय गरेर ऐतिहासिक सफलता हासिल गरेको छ। सन् २०१५ देखि उनी विभिन्न खेलकुद इभेन्टहरूमा परामर्शदाता (Event Consultant) को रूपमा समेत सक्रिय रहँदै आएका छन्।
खेलाडी र प्रशिक्षक जीवन:
प्रशासकीय भूमिकामा आउनुअघि चन्द एक सफल खेलाडी थिए। उनले क्रिकेटमा यू–१५, यू–१९ र सिनियर टोलीबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका छन् भने छैटौं राष्ट्रिय खेलकुदमा फुटबल खेलाडीका रूपमा सहभागी थिए। प्रशिक्षकको रूपमा उनले शंकरदेव क्याम्पसको फुटबल र क्रिकेट टोलीलाई प्रशिक्षण दिई उत्कृष्ट नतिजा दिलाउन सफल भएका थिए।
नेपाली, अंग्रेजी र हिन्दी भाषामा विशेष पकड राख्ने ठकुरी आफ्नो कार्यकुशलता, स्पष्ट भिजन र समर्पणका कारण नेपाली खेलकुदलाई थप व्यावसायिक र उचाइमा पुर्याउन निरन्तर क्रियाशील छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण