सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिवेदन

आन्दोलनको समयमा सुदन गुरुङदेखि गृहमन्त्री, आईजीपी र काठमाडौँका सीडीओसम्मको बाक्लो संवाद

बिहीबार, १२ चैत २०८२, १२ : ५१
बिहीबार, १२ चैत २०८२

सारांश

  • भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको समयमा उच्च सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वबीच बाक्लो टेलिफोन संवाद भएको देखियो।
  • अनुसन्धानमा कल डिटेल रेकर्डले सुदन गुरुङदेखि आईजीपी, प्रधानमन्त्रीको सचिवालयसम्मको सम्पर्कलाई उजागर गरेको छ।
  • तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको सचिवालय समेत उच्च सुरक्षा संयन्त्रसँग निरन्तर सम्पर्कमा रहेको देखियो।

काठमाडौँ । भदौ २३ र २४ गते देशभर भएका हिंसात्मक घटनाको समयमा उच्च सुरक्षा अधिकारी, राजनीतिक नेतृत्व र सडकमा रहेका व्यक्तिहरूबिच बाक्लो टेलिफोन संवाद भएको देखिएको छ । घटनाको अनुसन्धानका क्रममा निकालिएको कल डिटेल रेकर्ड (सीडीआर) र बीटीएस डाटा विश्लेषणले त्यतिबेला पानी बाँड्न भनेर सडकमा खडिएका सुदन गुरुङदेखि तत्कालीन आईजीपी, प्रधानमन्त्रीको सचिवालय, गृहमन्त्री र काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको सम्पर्कलाई उजागर गरेको हो । 

भदौ २४ गते तोडफोड र आगजनीका घटना भइरहँदा सुदन गुरुङले सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसँग ६ पटक र तत्कालीन काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीसँग २ पटक फोन सम्पर्क गरेको कल डिटेलले देखाएको छ । देशमा गम्भीर सुरक्षा चुनौती खडा भएको समयमा सुरक्षा निकायका उच्च अधिकारीहरूसँग सुदन गुरुङको यो संवाद भएको हो । 

सुरक्षा अधिकारीहरूको आन्तरिक सञ्जालमा तत्कालीन आईजीपी चन्द्र कुवेर खापुङ निकै सक्रिय देखिएका छन् । उनले ती दुई दिनमा विश्व अधिकारीसँग ४२ पटक टेलिफोन संवाद गरेका थिए । यसैगरी, वर्तमान आईजीपी दानबहादुर कार्की र खापुङबीच ४ पटक कुराकानी भएको देखिएको छ भने विश्व अधिकारी र ओम राणाबीच ५३ पटक सम्पर्क भएको देखिन्छ । सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले पनि खापुङसँग २ पटक र वर्तमान आईजीपी दानबहादुर कार्कीसँग १ पटक सम्पर्क गरेका छन् । 

सेनाका प्रमुखहरूसमेत यो संवादमा जोडिएका छन् । यस सञ्जालको तार भने राजनीतिक नेतृत्वसम्म जोडिएको देखाउँछ। गृहमन्त्री रमेश लेखक र उनको सचिवालय यो अवधिमा उच्च सुरक्षा संयन्त्रसँग निरन्तर जोडिएको छ । सशस्त्रका आईजीपी राजु अर्यालले गृहमन्त्री लेखकको दुवै मोबाइल नम्बरमा गरी ११ पटक संवाद गरेका छन् भने पूर्व आईजीपी खापुङले ८ पटक सम्पर्क गरेका छन् । गृहमन्त्रीका पीए जनक भट्टले विश्व अधिकारीलाई ४ पटक र खापुङलाई ३ पटक फोन गरेका छन् ।

यसका साथै तत्कालीन प्रधानमन्त्री नेता केपी शर्मा ओलीको सचिवालय पनि यो बेला सक्रिय देखिएको छ । ओलीका पीए राजेश बज्रचार्यले गृहमन्त्री रमेश लेखक, खापुङ र विश्व अधिकारीलगायतसँग सम्पर्क गरेका छन् भने प्रधानमन्त्रीको सचिवालयका विष्णु रिमालले सशस्त्रका आईजीपी अर्याल र काठमाडौँका सिडिओसँग सम्पर्क गरेको डाटाले देखाएको छ । 

यी सबै घटनाक्रम र उच्चस्तरीय निर्देशनको केन्द्रबिन्दुमा भने काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल देखिएका छन् । सीडीआर रिपोर्टअनुसार सिडिओ रिजालले भदौ २३ र २४ गते तत्कालीन गृह सचिव गोकर्णमणि दवाडीसँग ९ पटक, तत्कालीन मुख्य सचिव एकनारायण अर्यालसँग ७ पटक र तत्कालीन सह-सचिव आनन्द काफ्लेसँग १० पटक कुराकानी गरेका छन् ।

यसका अतिरिक्त उनले रमेश लेखक, उनका पीए, सशस्त्रका आईजीपी राजु अर्याल र विश्व अधिकारी (४ पटक) तथा प्रहरी अधिकारी ओम राणा र प्रधानमन्त्रीको सचिवालयका विष्णु रिमालसँग समेत सम्पर्क गरेका छन् ।

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप