बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

पक्राउ पुर्जी पढेपछि ओलीले भने, ‘म फेस गर्छु’

शनिबार, १४ चैत २०८२, ०८ : ३०
शनिबार, १४ चैत २०८२

सारांश

  • शनिबार बिहान प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
  • प्रहरीले ओलीलाई ज्यान सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको लागि पक्राउ गरेको र उनले पक्राउ पुर्जी पढेर स्वीकार गरेका थिए।
  • स्वास्थ्य परीक्षणका लागि ओलीलाई अस्पताल लगिएको छ, र उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो।

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु स्थित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा शनिवार बिहान प्रहरी पुग्दा करिब साढे ४ बजेको थियो । त्यसअघि गृहमन्त्री सुधन गुरुङ, आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राति अबेरसम्म छलफल गरेका थिए ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेसँगै केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ पर्नसक्ने आकलन गरिएको थियो । दुईजना एसएसपी नेतृत्वको टिम गुण्डुमा पुग्दा नेकपा (एमाले)का केही कार्यकर्ता गुण्डुमा भेला भैसकेका थिए ।

प्रहरीको नेतृत्व एसएसपीद्वय होबिन्द्र बोगटी र सन्तोष खड्काले गरेका थिए । भक्तपुरका एसपी सूर्यबहादुर खड्का पनि आफ्नो टिम लिएर साढे ४ बजेतिर गुण्डुमा पुगे । प्रहरी अधिकृतहरूका अनुसार नेपाल प्रहरीका २५० जना र सशस्त्रका सुरक्षाकर्मी पनि ठुलो सङ्ख्यामा परिचालन गरिएको थियो । दुवै संगठनको करिब ६ सय फौज ओलीलाई पक्राउ गर्न गुण्डुमा परिचालित थिए ।

सुरुमा ओली निवासको गेट खुलेन । गेट खोल्न खोज्दा प्रहरी र एमालेका कार्यकर्ताको बिचमा केहीबेर घम्साघम्सी भयो ।

एमालेका कार्यकर्ताले सुरुमा ढुंगा प्रहार गरेको पक्राउ गर्न गएका एकजना अधिकृतले रातोपाटीलाई बताए । जिल्ला प्रहरी परिसर ललितपुरबाट गुण्डु गएका एसएसपी बोगटीले एमालेका कार्यकर्तालाई त्यहाँबाट पछाडि हट्न आग्रह गरे ।  

त्यसपछि ओली निवासको मुलगेट तोडेर प्रहरीको टिम भित्र पुगेको थियो । अनुसन्धान अधिकृतहरूले ओलीलाई पक्राउ पुर्जी देखाए । ओलीले पक्राउ पुर्जी सरसर्त पढे । पुर्जीमा लेखिएको थियो, ‘तपाईँलाई ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’

राति २ बजेतिर सुतेका ओली प्रहरी पुग्दा उठेकै थिएनन् । हल्लाखल्लापछि ब्युँझिएका ओलीले पक्राउ पुर्जी पढेर भने, ‘म फेस गर्छु ।’

प्रहरी अधिकृतहरूसँगको कुराकानीमा ओलीले आफू बिरामी भएको बताएका छन् । दुईजना कानुन व्यवसायीलाई बोलाएर केहीबेर परामर्श गरेपछि ओली प्रहरीसँग जान तयार हुँदै भने, ‘ल हुन्छ ।’

पक्राउ गर्न गएका एकजना अधिकृतका अनुसार ओलीलाई कुन गाडीमा लैजाने भन्नेबारे पनि छलफल भयो । ओली आफ्नै गाडीमा जान खोजे । 

उनले चढ्दै आएको बा.१८ च ४८४५ नम्बरको टोयोटा जिप सरकारले नै उनलाई सुविधा स्वरूप दिएको खुलेपछि अनुसन्धान अधिकृतहरू उनलाई सो गाडीमा भद्रकाली ल्याउन राजी भए । 

त्यसपछि ६ बजेर १७ मिनेटमा पक्राउ गरि पूर्वप्रधानमन्त्री ओलीलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो। 

अहिले ओलीलाई स्वास्थ्य परीक्षणको लागि जिल्ला प्रहरी परिसर काठमाडौँबाट अस्पतालतर्फ लगिएको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप