सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
विजय मल्ल भाग– १

विजय मल्ल र नरेन्द्रराज प्रसाई को–कस्ता हुन् ?

शनिबार, १४ चैत २०८२, १६ : ००
शनिबार, १४ चैत २०८२

सारांश

  • लेखकले विजय मल्ल र उनको साहित्यिक योगदानबारे चर्चा गरेकी छिन्, उनको लेखन शैलीको प्रशंसा गर्दै।
  • लेखकले विजय मल्लको जीवन, उनले भोगेका कुरा र उनलाई प्राप्त सम्मानबारे पनि प्रकाश पारेकी छिन्।
  • लेखकले विजय मल्लको व्यक्तित्वको प्रशंसा गरेकी छिन् र नरेन्द्रराज प्रसाईंको जीवनी लेखन शैलीको पनि चर्चा गरेकी छिन्।

‘विजय मल्लसँग मेरो निकै हिमचिम र नजिकको सम्बन्ध थियो नि !’ मेरा गुरुदेव नरेन्द्रले मसँग पटकपटक भनेका हुन् । ‘म त विजय दाइको व्यक्तित्वभन्दा कृतित्वसँग नजिक छु ।’ मैले उनीसित जबाफ फर्काएकी हुन्थेँ । 

हुन पनि उति बेला विजय मल्लको कालजयी नाटक ‘कोही किन बरबाद होस्’ र ‘अनुराधा’ उपन्यासको पाठक भएपछि नै म पनि आख्यान लेखनमा प्रवेशी पुस्ता हुँ । 

त्यस बेला म मोफसलकी बासिन्दा थिएँ । म परदेशी भएर बिरानो काठमाडौँ आएका बेला विजय मल्लबारे साहित्यिक समूहसित मेरो विमर्श हुने गथ्र्यो । त्यसो त यो काठमाडौँ अहिले पनि मेरा लागि बिरानै छ, हुन त यो धर्ती नै कसको पो आफ्नो हुन्छ र ? 

अँ त्यस बेला केही पटक नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा विजय दाइसँग मैले भेट्ने अवसर पाएकी थिएँ । त्यति बेला चुलिएका स्रष्टा विजय दाइ अनि त्यो पनि भव्य प्रज्ञाप्रतिष्ठानका पदाधिकारीसँग भेट्दा मोफसलमा भरखरै साहित्यिक अस्तित्वका लागि चलमलाउँदै गरेकी म आफ्नो कद होचो भएको ठान्थेँ र शिर निहुरिएको र छाती गर्वले फुलेको महसुस गर्थें । नरम बोलीचाली र सरल, सौम्य प्रस्तुतिमा भेटिने विजय दाइको व्यक्तित्वसित म ०३७ सालदेखि भौतिक रूपले परिचित थिएँ । 

पछिल्लो भेटका बेला काठमाडौँमै बस्ने पूर्व सहपाठी अशेष मल्लकै साक्ष्यमा एक पटक राजकीय प्रज्ञाप्रतिष्ठानमा विजय दाइसँग मैले भेटेको पनि मेरा स्मृतिको पेटारीमा फेला पारेकी छु । 

‘कथा लेख्नुहन्छ ? सङ्ग्रह छापिएको छ ?’ प्रश्न गराइ सँग–सँगै उनको चाउरिएका रेखा आउँदै गरेको अनुहारमा केही मुस्कानको पुट पूर्ववत छँदै थियो । ‘अहँ, छैन ।’ मनमा अलि होचिएर अनि भावमा खिन्निएर विजय दाइउपर मैले जबाफ फर्काएकी थिएँ । उनले कुनै सल्लाह देलान्, अथवा ‘किन नछापेको भन्लान् ! भनेर मेरो मन सम्भावित प्रश्नहरूमध्ये प्रश्न केलाउन र त्यसैको उत्तर पनि तयार गर्न व्यस्त भइसकेको थियो । तर उनी आफ्ना अनुहारमा उही स्वाभाविक मुस्कान यथावत् राख्तै कुनै एक जना कर्मचारीले ल्याएको फाइल हेर्न लागिसकेका थिए । 

समयको चक्रले अर्थात् काँसाका भाँडा मनपरी गर्दा खिइएर पातला हुँदै प्वाल परेजस्तै भएर अहिले हिजोको प्रज्ञाको गौरव कता पुग्यो, कता ! त्यो पवित्र संस्था टुकुचामै बग्यो अथवा ढलीय बागमतीमै मिसिइसक्यो ! हिजोको गरिमाशाली त्यो राजकीय प्रज्ञाप्रतिष्ठानको हेक्का मात्र अब बाँकी छ । कुनै बेला बालकृष्ण सम, केदारमान व्यथित, सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, विजय मल्ल, ईश्वर बराल, वासुदेव त्रिपाठीजस्ता विराट् स्रष्टा विराजमान श्री ५ महेन्द्रद्वारा स्थापित कमलादीस्थित भव्य नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको भवनतिर अहिले त हामी लामो सास फाल्दै ट्वाल्ल हेर्न सक्छौँ, बेलाबखत मनको भँडास कागतमा फालेर विरेचित हुने प्रयत्न गर्छौं । बस्, बाँकी यत्ति त रह्यो नि अब ! 

लेखनसन्दर्भ विजय मल्ल थियो; तर बारम्बार यो कुण्ठित मन औचित्यहीन हुँदै विरेचित हुन खोज्छ । रोक्न पनि नसकिने गरी विद्रोह पोख्न मेरो मन उद्धत हुन्छ, के गरौँ ! किनभने मेरा आँखामा त्यही विशाल भवनमा विराजमान उनै विजय मल्ल मुस्कुराइरहेका छन् । त्यस्ता विशिष्ट कोटिका गैरराजनीतिक स्रष्टा बस्ने ठाउँ राजनीतिको रङले लेपिएको देख्ता कुन इमानी स्रष्टाको मनमा बैराग जाग्दैन होला र !

विजय दाइले राजकीय सम्मानका लागि कुण्ठित हुनुपरेन । एकेडेमी, सिनेमा, नाटक, पुस्तक प्रकाशनदेखि जीवनान्त्यपछि आर्यघाटसम्म पनि उनका लागि सग्लो आत्मसमान पूर्णको रबैया रह्यो र उनको जीवनको प्राप्ति पनि त्यही देखियो । यत्तिचाहिँ सत्य हो उनी पनि वर्गशत्रु पीडित नै भएका थिए । किनभने २०५२ सालमा नइकै पहलमा भूपाल प्रज्ञा पुरस्कारद्वारा सम्मानित हुनुअघि न पछि यस क्षेत्रका अरू नामी भनिने पुरस्कारबाट उनीजस्ता कालजयी स्रष्टा पनि वञ्चितै भएका थिए । त्यसपछि पनि ती पुरस्कार उनका छेउमा पुग्नै मानेनन् । तर कालान्तरको परिणति उनका कालजयी रचनाका अघिल्तिर ती सबै पुरस्कार कम्पनीहरू पुड्का भए । एउटा लेखकको महत्वपूर्ण प्राप्ति यही नै हो र यही नै हुनुपर्छ भन्ने मलाई लाग्दछ । 

‘विजय मल्लको पनि सिङ्गो जीवनी किताप त लेख्नुपर्ने !’ २०८२ सालको मध्यतिर शिशिरयाम सुरु हुनुअघिको एक मध्याह्न, मेरा गुरुदेवले टाउको कन्याउँदै आफ्नो डायरीमा टिपिएका स्रष्टाका नामनामेसी पढ्दै थिए । उनले सङ्कलन गरेका स्रष्टाहरूका व्यक्तिगत विवरणको चाङ सुमसुम्याउँदै त्यसमध्ये केही नामहरू उल्लेख गरेका थिए । त्यसै बेला विजय मल्लको जन्मशताब्दी त यही वर्ष भएको पनि हामीमाझ टुङ्गो लागेको थियो । 

‘अहो ! नेपाली साहित्यका विजय मल्लजस्ता विराट् र बहुमुखी स्रष्टाको शताब्दी वर्ष खेरै जाने बेला भएको रहेछ ।’ मेरा गुरुदेव एक्कै चोटि चिच्च्याएको शब्द मेरा कानमा घुसेको थियो । ‘अहो ! हो र ? अब यो शताब्दीलाई कसो गरी रोक्ने हँ ?’ मैले पनि त्यतिखेर मेरो भाका थपेकी थिएँ । 

त्यसपछि विजय मल्लबारे हामी दुईभित्रै थुप्रै योजना परियोजना बने । विजय मल्लको सग्लो जीवनीकृतिका लागि पनि नरेन्द्रीय लेखनी हठातै प्रारम्भ भयो । विजय दाइको शताब्दीका लागि हामीबीच उत्साह र उमङ्ग भरिँदै थियो, तर त्यसपछि घात प्रतिघातको तुसारोले शताब्दी वर्ष तुहिएला कि झैँ पनि भएकै हो । तर ‘हुनु छ भने भएरै छोड्छ’ भनेझैँ भएर खडेरीले सुक्नै लागेको विजय मल्ल शताब्दी वर्षमा सिँचाइयोग्य वर्षा भइदियो । अथवा ‘असल मनले चाहेको कुरो पूरा भएरै छोड्छ’ भन्ने उक्ति साकारै भयो । ब्रह्माण्डमा लात हान्ने जसरी छन्, रुँदै गरेको छातीमा हर्षका तक्मा टाँसिदिने पनि आउँदा रहेछन् । अनि त विजय मल्ल शताब्दी वर्षको खेतमा हामी नइले धमाधम बाली लगाउन थाल्यौँ । यसरी विजय मल्ल शताब्दी वर्षको खेतमा वर्षा गराउने डा. कुशनारायण श्रेष्ठ र प्रा.डा. उमा श्रेष्ठ हुन गए । उमा भन्नु विजय दाइकी शाश्वत अंश ! कुश र उमाको स्वर सुनेपछि मेरा गुरुदेवको निरासिएको लेखन फेरि जागृत भयो र उनका कलमले अन्ततः ‘विजय मल्ल’ लेखिछाड्यो ।

मेरा गुरुदेव नरेन्द्र वचनका पक्का, लगनका सच्चा र कर्मठ, अठोटका दृढ र स्वप्नद्रष्टा मात्र नभएर देखेको सपना जसरी पनि पूरा गरिछोड्ने अविरल साधक हुन् भन्ने कुरा बोलेर उनलाई फुक्र्याउनुको कुनै अर्थ पनि छैन । किनभने कसैले भन्नु र नभन्नुको अर्थै पनि के छ र ? शतक संख्या पार गरेका उनका कृतिहरूले नै त्यही कुराको साउती गरिरहेको मैले सुनेकी छु । चुलिएका विद्वान् समालोचकहरूले समालोचनाका ग्रन्थमा लेखेका अनि स्वयम् नरेन्द्रराज प्रसाईले लेखेका अक्षरको अर्थ हुन्छ भने, अक्षर क्षयीकृत नहुने हो भने नरेन्द्रका कृतिहरू कुनै भुइँचालो अथवा कुनै पहिरोले पनि छोप्न सक्तैन । 

अँ ! सिन्धुघाटीको सभ्यता वा मोहेन्जोदाडोको सभ्यता भएर अहिलेको सभ्यता नै पुरियो भने पनि शतकौँपछि फेरि स्थापित हुने प्राणी सभ्यताले उत्खनन गरेर ती कृति झिक्नेछन् र लिपि बुझ्ने प्रयत्न गर्नेछन् । त्यस बेला फेरि मेरा गुरुदेव नरेन्द्रको पुनर्जागरण अवश्य हुने कुरामा म विश्वास गर्छु, किनभने अक्षरको शाश्वततामाथि मलाई धूमधाम आस्था छ ।

ऋद्धिबहादुर मल्ल घराना अर्थात् नेपाली भाषासाहित्यको अमूल्य वृक्ष ‘शारदा’का अमृत फलरूपी सन्तान हुन पाएर पनि विजय मल्ल भाग्यमानी स्रष्टा हुन् । अप्राप्य साहित्यिक बिरासत भएर जन्मन पाउनु र गोविन्द मल्ल ‘गोठाले’जस्ता कालजयी स्रष्टाका अनुज हुन पाउनु अहो ! रक्तकणमा ‘साहित्यिक जिन’ नै लिएर जन्मने र पूर्ण साहित्यिक वातावरणमा हुर्कन पाउने विजय मल्ललाई त्यसैले म त सौभाग्यशाली स्रष्टा भन्छु ।

अर्को कुरा, राष्ट्रभाषा नेपालीलाई होच्याउँदा र लछार्दापछार्दा आनन्द मान्ने अहिलेको हाम्रो नेपाल राष्ट्रका विविध मातृभाषी जमातका अघि नेपाल भाषाजस्तो समृद्ध मातृभाषी भएर जन्मँदा पनि ऋद्धिबहादुर मल्ल परम्परामै राष्ट्रभाषा नेपालीलाई धूमधाम माया र सम्मान मात्र नगरिएर कलिलो नेपाली राष्ट्रभाषासाहित्यको जगेर्ना र प्रवर्धनका लागि मल्लपरिवारबाट गरिएको कार्य गौरवशाली छ, यो कृत्य राष्ट्रभक्त छ । त्यसो त मल्लपरिवारले आफ्नो मातृभाषामा पनि यथेष्ट कृति लेखेर सेवा गरेका छन् । जस्तो कि मल्लपरिवारले राष्ट्रलाई शिरमा राखेर आमालाई छातीमा टाँसेर आफ्नो मातृभाषा र राष्ट्रभाषा दुवैप्रतिको कर्तव्य पूरा गरेका छन् । यस्ता अप्राप्य साधक परिवारका सन्तति विजय मल्ल आफैँमा सम्पूज्य मात्र नभएर गरिमाशाली पनि भए । विजय मल्लको नाउँ लिँदा नै उत्साह र उमङ्गको ‘वेभ’ले मेरो मानसलाई घेर्ने गर्छ । यस्ता स्रष्टालाई कसरी र के शब्दले आराधना गरूँ ? यसबारे म त आत्मविस्मृतिमा डुबिरहेकी हुन्छु ।

मेरा गुरुदेव नरेन्द्रले यति थोरै समयमा ऋद्धिवहाद्र मल्ल वंशको गरिमालाई सङ्क्षिप्तमा विराट् भावपुञ्जले उजागार गरेको देख्ता मलाई गुरुदेवको लेखन गर्वले पनि चुल्याएको छ । यस पुस्तकका माध्यमले अहिलेका नेपाली भाषासाहित्यका पाठक लाभग्राही भएको र भावी पुस्ताका लागि पनि ऋद्धिबहादुर मल्ल वंश नरेन्द्रीय साधनाद्वारा थप अक्षय बनेको मैले अनुभूत गरेकी छु । 

विजय मल्ल विश्वविद्यालयका विषय हुँदाहुँदै पनि उनलाई आजसम्म कसैले पनि यसरी सग्लो रूपमा प्रस्तुत नगरेको अवस्थामा नरेन्द्रराज प्रसाईले यस पुस्तकमा आफ्नो जीवनीलेखन धर्म निर्वाह गरेका मात्र छैनन् उनले त नेपाली साहित्यका पाठकमाझ विजय मल्लको अद्वितीय व्यक्तित्व प्रस्तुत गरेर ठूलो गुन लाएको मैले महसुस गरेकी छु ।

प्रस्तुत नरेन्द्रीय कृतिमा लेखकले विजय मल्लका पूर्वजदेखि उनका बुबाको कथाका साथै पारिवारिक र साहित्यिक नालीबेली र उनको देहावसानसम्मका कुरालाई तथ्याङ्क र प्रमाणसहित प्रस्तुत गरेका छन् । मल्लको विराट् व्यक्तित्वलाई यति सारगर्भित शब्दका आडमा अनि यति थोरै समयमा नरेन्द्रराज प्रसाईले मात्र लेख्न सक्छन् भनेर म भन्छु तर आत्मश्लाघा भयो कि भनेर तर्सन्छु पनि । तर म किन सत्य नबोलौँ ? जुन ‘विजय मल्ल’भित्र मुस्कुराउँदै गरेका विजय मल्ल, देशभक्तिपूर्ण राजनीतिक विचारबारे चिन्तन गरिरहेका विजय मल्ल, विश्ववन्धुत्व र मानवतावादका लागि तडपिरहेका विजय मल्ल, दूषित राजनीतिक साँधरहित विश्वको परिकल्पनामा गमिरहेका विजय मल्लसमेत विजय मल्लका विविधायुक्त भावभङ्गिमा मैले यसै कृतिभित्रै पाएँ । 

प्रस्तुत ‘विजय मल्ल’ कृतिमा नरेन्द्रले जसरी विजय मल्ललाई सङ्क्षिप्तमा विराटताका साथ प्रस्तुत गरेका छन । अहो ! यति थोरै समयमा विजय मल्ललाई यसरी प्रस्तुत गर्न सक्ने नरेन्द्रीय लेखनसिद्धि नै हो भन्ने मैले थप अनुभूत गरेकी छु । 

अर्को एउटा कुरा, नरेन्द्रको किशोरकालदेखिकै जनसम्पर्क  अद्भुतै देखिन्छ । उनको राखनधरन नै पनि असाधारण छ । नरेन्द्रसँग सङ्गत गरेको यतिका वर्ष बितिसक्दा पनि मैले भने उनको सुव्यवस्थित जीवनशैली अपनाउन सकेकी छैन । उनी हरेक कुरामा सुव्यवस्थित, परिमार्जित र परिष्कृत छन् । व्यवस्थापनकी विद्यार्थी मचाहिँ उनका कामको अघि ठीक विपरीतै जस्ती छु । मेरो लथालिङ्गे बानी बेहोराबाट आजित नरेन्द्रले मलाई कहिल्यै तह लाउन सकेनन् । उनको सुव्यवस्थित जीवन र मेरो अव्यवस्थित जीवनका वीच अब मौन सम्झौता मात्र हुने अवस्था छ । नरेन्द्रीय व्यवस्थापनका कुरा के भने, कुनै दिन लेखाðला भनेरै नरेन्द्रले विजय दाइका सारा दस्ताबेज सुरक्षित राखेका रहेछन् । नरेन्द्रका सन्दुकमा बसेका तिनै पुराना खेस्रा र विजय दाइबारे छरिएर रहेका तथ्यहरूको सँगालो भएर ‘विजय मल्ल’ हामीमाझ उदाएको छ । 

जीवनी लेख्ने क्रममा चालिस वर्षअघिका फाइलहरूको धूलो टकटक्याउँदै आफैँले सङ्कलन गरेका कैयौँ वर्षअघि धर्तीमा विलीन भइसकेका महामानवहरूको हस्ताक्षरसहितको तथ्याङ्क मेरा गुरुदेवले मलाई देखाउँदा हरेक पटक विस्मित हुने पालो मेरो हुने गर्छ ।

मैले यति भूमिका किन बाँधेँ होला त ? मेरा गुरुदेवको व्यर्थै प्रशंसा त म पनि किन गर्थें र ? नरेन्द्रले चालिस, पचास वर्षअघि सङ्कलन गरेका तथ्याङ्क तथा फोटोहरू अहिले पनि फुत्तफुत्त निकाल्न सक्छन् । अनि परमात्माकै कृपा हुनुपर्छ उनी तीन वर्षका हुँदादेखिका घटनाहरू एकहत्तर, बहत्तर वर्षीय वयमा पनि उनको मस्तिष्कको हार्ड डिस्कमा म सुरक्षित देख्दछु । यस्ता नेपाल राष्ट्रका कर्मयोगी वाङ्मयिक स्रष्टालाई राज्यले गतिलो सहयोगी जुटाइदिए वाङ्मयिक महत्वका कति काम हुन्थे होलान् ! यो पर्यो मनको लड्डु ! किनभने जसरी भए पनि नेपाली सामाजिक मूल्यमान्यता, धर्मसंस्कार, परम्परा तथा राष्ट्रिय धरोहर र नेपाली राष्ट्रभाषालाई धराशायी पारेर नेपाल राष्ट्रकै अस्तित्वसमेत नामेट पार्ने प्रायोजित खेलका अघि अथक नेपाली वाङ्मयसेवी नरेन्द्रराज प्रसाई र उनले यस क्षेत्रमा पुर्‍याउन खोजेका विशेष कार्ययोजनासँग यहाँ कसलाई सरोकार होला र ? पुराणमा वर्णित अनाम देवताहरूले कुनै अनाम ऋषिका तपस्याले आफ्नो आसन डगमगिन लागेको बुझेर ती कलुषित देवताहरूद्वारा खेलिने तपस्वी ऋषिको तपस्या भङ्ग गर्ने कुत्सित खेलझैँ बरु नरेन्द्रका बिचरा वर्गशत्रुहरू नै नरेन्द्रको कार्य सिद्धि नगराउने प्रपञ्च रच्न पनि जोडदारका साथ लागेकै हुन्छन् ।

एउटा मान्छेलाई अर्को मान्छेले सम्पूर्ण चिन्न एउटा जीवनले मात्र पुग्छ जस्तो मलाई लाग्दैन । अनि मान्छे चिन्न फेरि अर्को जीवन पनि पाइँदैन । जान्नेहरू भन्छन्— जसरी ब्रह्माण्ड बुझिनसक्नु र अपार छ, मानिसको मस्तिष्क पनि त्यस्तै छ । हेर्दा देखिने टाउको मात्र त हो नि भनिने मान्छेको टाउकोभित्र समग्र ब्रह्माण्ड समाप्त गर्ने अथवा संरक्षण गर्ने शक्ति निहित हुन्छ रे ! भनेपछि त्यस्तो मान्छे चिन्न चानचुने सामथ्र्यको कुराले पुग्दैन । अनि म यस्तो दुरुह काम गर्न सक्तिनँ भन्दा मलाई सरम लाग्दैन । किनभने नसक्ने काम म गर्छु भन्नुले म स्वयम्का दृष्टिमा हीनताले निहुरिन पुग्छु । त्यसैले केही पटक मात्र भेटेका विजय मल्लको भौतिकीबारे मेरो जानकारी सूक्ष्म रहेको खुलासा पनि मैले गरि नै सकेकी छु ।

भन्नेहरूले भन्लान् अथवा हाम्रा साहित्यमै अकर्मण्य छिद्रान्वेषी छ्यापछ्याप्ती छन् । अनि ती दृष्टि मात्रले म ‘नरेन्द्रकी स्वास्नी भएर लोग्नेको बखान गरी भन्न पनि ठूलो कुरै भएन । सत्य हो, म नरेन्द्रकी स्वास्नी, अर्धाङ्गिनी, बूढी, पत्नी, जीवनसङ्गिनी, गृहलक्ष्मी, गृहस्वामिनी, हृदयसम्राज्ञी आदि इत्यादि जेसुकै पनि हुँ । तर यही बेहोरा नै मात्र सत्य होइन । योभन्दा ज्वलन्त सत्य, म पनि नेपाली भाषासाहित्यकी एक साधक हुँदै हुँ । अनि जसरी एउटा स्रष्टाले अर्को कुनै स्रष्टाका विषयमा निजी मत राख्न स्वतन्त्र हुन्छ त्यसरी नै मैले पनि आफूलाई स्रष्टाकै हैसियत राखेर अर्का स्रष्टा नरेन्द्रराज प्रसाईका बारेमा आफूले देखेको, बुझेको र महसुस गरेको साक्ष्यको भाष्य यहाँ प्रस्तुत गरेकी हुँ । 

फेरि नरेन्द्रको बयानै मात्र गरेको दोषचाहिँ मैले खप्न गाह«ो पनि हुन्छ । हामीले पुज्ने गरेका देवता त दोषरहित छैनन् भने नरेन्द्रभित्र पनि दोष मज्जाले छन् । जस्तो कि उनको मुख जसलाई शुद्ध नेपाली गाउँले भाषामा थुतुनो भन्दा हुन्छ, सबै काम बनाउने पनि त्यही थुतुनो छ र उनलाई बिगार्ने पनि त्यही थुतुनो नै छ । तर उनका नजिक पुगेर उनको मुटु छाम्दा अथवा उनीबारे गहिरिएर चिन्तन गर्दा उनको कसैसँग पनि गहिरो रिसइबी हुँदैन । विगतमा आफूलाई शत्रुवत् व्यवहार गरेका प्रति पनि अन्याय भएको वा ती पीडित भएको थाहा पाउँदा अथवा उनीहरूको उपकार गर्नुपर्दा नरेन्द्र नै अघि सरेको समेत जगजाहेरै छ । 

अर्को कुरा उनीसँग भएको त्यही वाणीरूपी हतियारको प्रयोग गरेर नरेन्द्रले जस्तोसुकै मानिससँगबाट पनि अप्ठ्यारा किसिमका काम लिन उनी सफल भएका अनेक दृष्टान्त छँदै छन् । उनका यस्ता गुण र दोष देखेर पनि म कसरी चुप लागेर बसौँ ? रिस उठ्यो भने उनी दुर्वासाझैँ श्रापित गरिदिन बेर लाउँदैनन् । उनीमा आशुतोषप्रवृत्ति पनि उत्तिकै छ । त्यसैले उनी प्रसन्न हुनासाथ भस्मासुरलाई झैँ जसतसलाई सर्वनाशी आशीर्वाद दिइहाल्ने उनको नैसर्गिक गुण पनि देखिन्छ ।

नरेन्द्रको अर्को मुख्य विशेषता के छ भने— सय लात्ती खाउन्जेल पनि उनी सहन्छन्, एक सय एक लात्ती खाएपछि मात्र लात्ती बजार्नेसँग उनी जाग्छन् र तिनको सर्वनाश गर्न लाग्छन् । तर त्यो लात्ती हान्ने पनि उनको शरण पर्न आएर उनका अघि तरक्क आँसु खसालिदियो भने उनको मन ‘अघि केही भएकै थिएन भएसरि’ तुरुन्तै सङ्लिहाल्छ । मैले यो तथ्य नरेन्द्रका नजिक पुगेर नै देखेकी छु, भेटेकी छु र छामेकी पनि छु  । 

फेरि पनि मैले नरेन्द्र सन्दर्भकै अर्को सत्य पनि उजागार गर्नै पर्छ । त्यो के हो भने— नरेन्द्रराज प्रसाईको जीवनीलेखन भनेको मौरीले मह बनाएजस्तै हो । बगैँचाबगैँचा चहार्दै पल्लवित सुन्दर फूलका परागहरू चुसेर अन्ततः मौरीले मीठो महको चाका निर्माण गरेझैँ नरेन्द्र पनि सङ्कलित तथ्याङ्क र कथनहरू आफ्ना सिर्जनामा मिहिन र कलात्मक तरिकाले ठ्याम्मै त्यसै गरी संयोजित गर्छन् । त्यसैले पाठक उनीकृत जीवनीको स्वादमा मोहितै हुन्छन् । उनको जादुमय भाषाशैलीमा पस्किएका शब्द र वाक्य अनि इँटाकटाइझैँ चिरिच्याट्ट परेका कलात्मक वाक्यको सज्जा परिकारले पाठक हृदय नै तृप्त हुन्छ । यस्तो लेखनका लागि दीर्घकालीन साधना र समर्पणको पनि ठूलो खाँचो पर्ने रहेछ । नरेन्द्रको जीवनशैलीलाई नजिकैबाट वर्षौंसम्म नियाल्दा मैले फेला पारेका सत्य यिनै हुन् ।

जीवनीलेखन भनेको अर्कालाई बचाउने कुरा हो । आफैँ मात्र बाँचौँ भन्ने समाजमा जीवनी साहित्यको खडेरी पर्नु अस्वाभाविक पनि होइन । त्यसैले हाम्रो नेपाली साहित्यमा जीवनी साहित्य खासै थिएन । मोतीराम भट्टले लेखेको भानुभक्त आचार्यको जीवनी नै लामो समयसम्म हाम्रो जीवनी साहित्यको खाँचो टार्ने किताप बनेको थियो । त्यसैले पनि जनराष्ट्रकवि ईश्वरवल्लभले लेखेका हुन्—‘आफूले गरेका काम मर्दैनन् भन्न त भन्छन् मानिसहरू तर ती कामहरूबारे लेखिदिने र भनिदिने नरेन्द्रराज प्रसाईजस्ता मोतीराम भट्टहरू भइदिएनन् भने जस्तैसुकै महान् भानुभक्तहरू पनि समाजमा अपरिचित भएर बिलाउन पनि सक्छन् । मानिसको महत्वलाई चिनाउने मानिसको आवश्यकता पर्छ, नत्र जस्तोसुकै ठूलो महत्त्व पनि महत्त्वहीन भएर हराउन सक्छ कतै शून्यमा !’

अचम्मकै कुरा आचार्यवंशीले आदिकवि भानुभक्त आचार्यलाई निजी खोपीको देवता बनाएर राखेका रहेछन् । युवाकवि मोतिराम भट्टले लेखेको आदिकविको अमूल्य जीवनीसमेत परित्याग गरेर उनीहरूले आफ्नै आचार्यवंशीले लेखेको आदिकविको जीवनीलाई नै प्रमाणित जीवनी भनेर अघि सारेका रहेछन् । झूटा र भ्रमपूर्णका तथ्याङ्कहरूले सजाइएको भानुजीवनीले सत्यमाथि कालो पर्दा लगाइएको रहेछ । काइते तरिकाले गरिएको प्रमाणीकरणका साथ सत्यतथ्य यही हो भन्दै उनीहरूले साहित्यिक परिसरलाई नै युगौँसम्म अलमल्याउने काम गरेका रहेछन् । आदिकवि भानुभक्त आचार्यको दुई शतवार्षिकीका अवसरमा लेखन तपस्वी नरेन्द्रराज प्रसाईको अनुसन्धानात्मक जीवनी ‘भानुभक्त आचार्यको जीवनवृत्त’ले तत्कालीन समयसम्म प्रचलित भएको भानुजीवनीमा गरिएका गल्तीहरू सच्याएर विश्व नेपाली साहित्यसंसारमा नै विशेष योगदान दिएका छन् । 

मलाई नरेन्द्रको एकोहोरो साहित्यसाधनामा समर्पणप्रति खुसी मात्रै होइन, बेलाबखत दुखेसो पनि हुने गर्छ— ‘यी नरेन्द्र भन्ने प्राणी कस्ता हुन ? जो मेरा प्रियतम हुन् भन्ने भ्रममा नै छु क्यारे सायद म । अरूकै मात्र काम गरेर उनी थाक्तैनन् । मेरा लागि पनि यिनीसँग समय बढो मुस्किलले जुर्नुपर्छ । अनि यिनीसँग समय होस् नै पनि कसरी र ? एउटा व्यक्ति नरेन्द्रले नेपालका विराट् राशिका पुरस्कार दिने संस्था सञ्चालन गर्छन् र अनवरत लेखन पनि छ उनको । यस्तो परिस्थितिमा रहेका साधकको व्यक्तिगत जीवन ओझेल पर्नु अस्वाभाविक पनि त होइन नि ! म साहित्यधर्मी प्रेमिका पत्नीले पनि उनलाई बुझ्न हम्मे छ, अरूले कसरी बुझून् ! यति हो विजय मल्लले उनलाई खुलस्त मनका लखपति भनेर चिन्थे । विजय दाइले तीस वर्षअघि नै भन्थे— ‘नरेन्द्रले कति भ्याउन सकेको हो !’ 

अझ अर्को र गम्भीर र मेरो नरेन्द्रप्रतिको ठूलै आपत्तिको कुरा पनि किन लेख्न छोडूँ, गरेको बेला गरिहालूँ । नरेन्द्रबिना मेरो जीवन पानीबिनाको माछोझð हुन्छ भने नेपाली भाषासाहित्यसंसारलाई त झन् नरेन्द्रजस्ता साहित्यका विशेष साधक र विशिष्ट अभियन्ता बिना धेरै कामहरू लथालिङ्गै हुने प्रस्ट भइसकेको छ । अर्कातिर अब तीनबीस पछि एक दशक नै पार गरिसकेका मेरा प्राणस्वरूप नरेन्द्रले मानवलाई परमात्मा प्रदत्त शताब्दी वय पुगेर नै सत्यमोहन जोशी र माधवप्रसाद घिमिरेले राष्ट्रबाट समेत साहित्यको सर्वोच्च सम्मान पाएको हेक्का राखेर जीवनमा साधकले पनि भौतिकीलाई समेत महत्व दिनुपर्छ भन्ने दृष्टान्त पनि बुझिदिए हुने भन्छु म । हुन त आयु भनेको आफ्ना हातमा हुने कुरा पनि होइन, तर जसरी साहित्यको संरक्षण र स्याहारमा उनी समर्पित छन्, त्यसरी नै आफ्नो संरक्षण र स्याहार पनि गरून् भन्ने मेरो आग्रहको पालना उनले गरेका छैनन् ।

‘तिमी आमाका गर्भमा हुँदा माटोको ढिस्कोले छोपेपछि काँटाले खनेर बाहिर झिकेको र दुई महिनासम्म बेहोसीकै अवस्थामा रहेकी भागीरथा प्रसाई आमाले तिमीलाई सकुशल जन्माउनु भनेको रिक्त रहेको नेपाली भाषासाहित्यको जीवनी विधालाई घनीभूत पार्नका लागि नै त्यस बेला परमात्माको कृपा भएको रहेछ है ।’ मैले मेरा गुरुदेव नरेन्द्रलाई भन्ने गरेको कुरा यिनै थिए । मेरा कुरा विजय मल्लको जीवनीलेखनमा पनि सिद्ध भइछाडेको खुसी यति बेला मैले पनि धारण गर्न पाएकी छु ।

नेपाली भाषासाहित्यका अनन्य साधक, बहुविधाका अति विशिष्ट सर्जक तथा कालजयी विराट् स्रष्टा विजय मल्लका विस्मयकारी आख्यानद्वारा प्रेरित मल्लकी अनन्य प्रशंसक र अनुयायी हुने प्रयत्नमा लागिरहेकी आख्यानकर्मी र नरेन्द्रकी जीवनसङ्गिनीसमेत हुनाले म यति बेला हर्ष र उन्मादको जलधाराले बेस्सरी नुहाइरहेकी छु ।   

(नेपाली साहित्यका मुर्धन्य साहित्यकार विजय मल्लमाथि नरेन्द्रराज प्रसाईद्वारा लिखित धारावाहिक जीवनी क्रमशः प्रस्तुत गरिनेछ । यो त्यसैको पहिलो भाग हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

इन्दिरा प्रसाई
इन्दिरा प्रसाई
लेखकबाट थप