सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इजिप्टमा ऊर्जा सङ्कट : पसल र रेस्टुरेन्ट छिट्टै बन्द गर्न निर्देशन

आइतबार, १५ चैत २०८२, १४ : २३
आइतबार, १५ चैत २०८२

सारांश

  • पश्चिम एसियाको युद्ध र हर्मुजको अवरोधले गर्दा इजिप्टमा ऊर्जा अभाव र मूल्य वृद्धि भएको छ।
  • इजिप्ट सरकारले पसल, रेस्टुरेन्ट र क्याफेहरूलाई राति ९ बजे बन्द गर्न आदेश दिएको छ, जुन एक महिनाका लागि लागू हुनेछ।
  • इजिप्टले इन्धन आयातमा निर्भरता र आपूर्ति संकटको सामना गरिरहेको छ, जसले गर्दा पेट्रोलको मूल्य बढेको छ।

कायरो । पश्चिम एसियामा जारी युद्ध र स्ट्रेट अफ हर्मुज ठप्प प्रायः भएसँगै विश्वभर ऊर्जाको अभाव र मूल्य वृद्धि देखिएको छ । त्यससँगै इजिप्ट सरकारले पसल, रेस्टुरेन्ट र क्याफेहरूलाई राति ९ बजेभित्र बन्द गर्न आदेश दिएको छ । यो कदम शनिबारदेखि आगामी एक महिनाका लागि लागू हुनेछ ।

सरकारले लागू गरेको विशेष उपाय अन्तर्गत सडक बत्ती र विज्ञापन बत्ती कम गर्ने र अप्रिलमा हप्तामा एक दिन घरबाट काम गर्ने व्यवस्था पनि समावेश गरिएको छ । पर्यटनले इजिप्टको अर्थतन्त्रको झन्डै १० प्रतिशत हिस्सा ओगट्ने भएकोले होटल र पर्यटक स्थलहरू यसमा राखिएका छैनन् ।

प्रधानमन्त्री मुस्तफा माडबोउलीका अनुसार जनवरीदेखि मार्चसम्म पेट्रोल खर्च मात्रै २ अर्ब ५० करोड डलरमा पुगेको छ । यो दोब्बर भन्दा धेरै हो । विदेशबाट इन्धन आयातमा निर्भर इजिप्ट आपूर्ति सङ्कटका लागि संवेदनशील बनेको छ । यसैबिच, कायरोका म्यारियट होटल र कस्मोपोलिटन होटललगायत केही होटलहरूले पनि जेनेरेटर राखेका छन् र आफ्ना रेस्टुरेन्टहरू पाहुनाका लागि खुल्लै राख्ने योजना बनाएका छन् ।

यसैबिच, इजिप्टमा सामान्य कर्मचारीहरूलाई हप्तामा एक दिन घरबाट काम गर्न भनिएको छ । तर अस्पताल, स्कुल र कारखानामा काम गर्ने आवश्यक कर्मचारीहरू यो योजनामा समावेश छैनन् ।

इरानले स्ट्रेट अफ हर्मुजमा ढुवानी भइरहेका जहाजमाथि आक्रमणको धम्की दिएपछि अन्तर्राष्ट्रिय ढुवानी प्रायः रोकिएको छ । साधारणतया विश्वको करिब २० प्रतिशत तेल र ग्यासको आपूर्ति यहीँ मार्गबाट हुन्छ ।

थाइल्यान्डले पनि इरानसँग सम्झौता गर्दै आफ्ना तेल ट्यांकरलाई सुरक्षित मार्ग सुनिश्चित गरेको जनाएको छ । सरकारले यस सङ्कटको असर घटाउन पेट्रोलको मूल्य वृद्धि गरेको छ भने सार्वजनिक यातायातको भाडा पनि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप