शिक्षालाई सीप र कमाइसँग जोड्दै जनप्रिय : विद्यार्थी खेती र पशुपालनमा व्यस्त
सारांश
- हेटौँडा-१६ को जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू 'पढ्दै कमाउँदै' कार्यक्रममार्फत कृषि कर्ममा व्यस्त छन्।
- विद्यार्थीहरू अध्ययनसँगै व्यावसायिक कृषि र पशुपालनमा लागेर आत्मनिर्भर बन्न थालेका छन्, जसले पढाई खर्च जुटाउन सहयोग गरेको छ।
- विद्यालयले आलु र कुखुरा बिक्रीबाट आम्दानी गरेको छ, र प्रदेश सरकारले च्याउको बीउ उत्पादन केन्द्रका लागि बजेट विनियोजन गरेको छ।
मकवानपुर । मकवानपुरको हेटौँडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू अहिले कृषि उत्पादनमा केन्द्रित छन्। ‘शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने’ उद्देश्यका साथ हेटौँडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ मार्फत विद्यार्थीहरू कृषि कर्ममा व्यस्त भएका हुन्।
विद्यालयले सञ्चालन गरेको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको र उक्त कार्यक्रममार्फत विद्यार्थीहरू अध्ययनसँगै व्यावसायिक कृषि र पशुपालनमा लागेर आत्मनिर्भर बन्न थालेका हुन्। विद्यालय परिसरमा अहिले विद्यार्थीहरूको चहलपहल कक्षाकोठामा मात्र सीमित नभई गोठ तथा खेतबारीमा पुगेको छ।
केही विद्यार्थीहरू गोठमा बाख्रालाई दानापानी दिँदैछन् भने कोही खेतमा बोडी, धनियाँ, करेला र भिन्डी जस्ता तरकारी गोडमेलमा व्यस्त देखिन्छन्। सर्लाहीबाट अध्ययनका लागि आएका कक्षा ११ का विद्यार्थी दीपेश कापरका अनुसार अध्ययन खर्च विद्यालयको उक्त कार्यक्रमबाट नै व्यवस्थापन भएको छ।
‘अहिले पढाइ खर्चका लागि घरबाट पैसा माग्नु पर्दैन। सीप सिक्दै आम्दानी गर्न पाउँदा भविष्यप्रति आशावादी बनेको छु,’ उनले भने, ‘विद्यालयको जग्गामा केही तरकारीहरू लगाएका छौँ। पढ्दै सिक्दै त्यहाँ काम गर्छौँ। पढेको कुरा प्रयोगमा ल्याउन पाएका छौँ। खेतबारी प्रयोगशाला जस्तै बनेका छन्।’
_kUTlml9rCd.jpg)
कक्षा १० की छात्रा साहारा गिरी पनि विद्यार्थी जीवनमै आत्मनिर्भर बन्न पाएको बताउँछिन्। घरमा हुँदा खेतबारीको काम नजानेका हामीले कृषि पेसा र उत्पादनबारे व्यावहारिक शिक्षा पाएको उनले बताइन्। शिक्षा र सीपसँगै आफ्नो खर्च विद्यालयको कार्यक्रममार्फत नै भइरहेको उनको भनाइ छ।
कृषितर्फको प्राविधिक शिक्षा अध्यापन गर्दै आएको सो विद्यालयको प्राविधिक धारतर्फ (कक्षा ९–१२) र सीटीईभीटीतर्फ अध्ययनरत करिब ३०० विद्यार्थी प्रत्यक्ष रूपमा यो अभियानमा सहभागी रहेको विद्यालयका सञ्चार विभाग प्रमुख सुनील गौतमले बताए। सो विद्यालयमा मधेश प्रदेशदेखि सुदूरपश्चिमको कालिकोटसम्मका ३१ जिल्लाका विद्यार्थीहरू अध्ययनरत छन्, जसका लागि विद्यालयले छुट्टाछुट्टै छात्रावासको समेत व्यवस्था गरेको उनले बताए। उनका अनुसार कृषि कार्यका लागि आवश्यक बीउ, पुँजी र पूर्वाधार विद्यालयले नै उपलब्ध गराउँछ। उत्पादन बिक्री भएपछि लगानी विद्यालयलाई फिर्ता गरिन्छ भने बाँकी सबै मुनाफा विद्यार्थीहरूले नै आपसमा बाँडेर राख्ने गरेका छन्।
विद्यालयले हालै १५ क्विन्टलभन्दा बढी आलु र एक हजारभन्दा बढी ब्रोइलर कुखुरा बिक्री गरिसकेको उनले बताए। उक्त कार्यक्रमबाट भएको आम्दानीले धेरै विद्यार्थीहरू आफ्नो विद्यालय शुल्क आफैँ तिर्न सक्षम भएका उनको भनाइ छ।
_Jya64TH92r.jpg)
विद्यालयको सो प्रयासलाई सरकारी निकायले पनि सहयोग गरेकाले कार्यान्वयनमा सहजता मिलेको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले बताए। उनका अनुसार बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा ‘च्याउको बीउ उत्पादन केन्द्र’ निर्माणका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि बाहिरबाट बीउ किन्नुपर्ने बाध्यता रहेकोमा अब विद्यालय आफैँले बीउ उत्पादन गर्ने तयारी थालेको उनले बताए। साथै आगामी दिनमा माछापालनका लागि पोखरी निर्माण गर्ने योजनासमेत रहेको प्रधानाध्यापक चौलागाईंले बताए।
विद्यालयले उत्पादन गरेका वस्तुहरू हाल स्थानीय बजार र शिक्षक–विद्यार्थीबीच नै खपत हुने गरेको उनले बताए। तर, उत्पादनको मात्रा बढ्दै गएकाले बजार व्यवस्थापनमा चुनौती देखिएको भन्दै विद्यालयले सरकारी स्तरबाट वैकल्पिक बजार व्यवस्थापन र ब्रान्डिङका लागि आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।
‘हामीले विद्यार्थीलाई किताबमा मात्र सीमित नराखी जीवनोपयोगी सीप सिकाउने प्रयास गरेका छौँ। जनप्रिय माविले नेपालको शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी बनाउने प्रयास गरेको छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण