२५.२० करोडको भारी मूल्य : के ग्रिनले दबाब थेग्न सक्लान्?
सारांश
- क्यामरन ग्रिन आईपीएल २०२६ को अक्सनमा सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन्, तर उनको लयमा निराशा देखिएको छ।
- ग्रिनलाई केकेआरका सहायक प्रशिक्षक शेन वाट्सनले उनको मूल्यको बारेमा कुरा गरे र उनलाई दबाब नपर्ने विश्वास व्यक्त गरे।
- ग्रिनले अभ्यासमा राम्रो प्रदर्शन गरे र उनको पहिलो खेल मुम्बईसँग हुँदैछ, जसले उनको क्षमताको परीक्षण गर्नेछ।
उनी आईपीएल २०२६ को अक्सनमा सबैभन्दा महँगा विदेशी खेलाडीको रूपमा भित्रिएका छन्, तर पछिल्लो समय उनको लय निराशाजनक छ।
क्यामरन ग्रिनलाई ‘क्यामरन ग्रिन’ हुनुको दबाब राम्ररी थाहा छ। अस्ट्रेलियन टोलीमा उनको भूमिकालाई लिएर धेरै कुरा लेखिएका छन्। तर आईपीएल २०२६ तर्फ अघि बढ्दै गर्दा, उनका लागि अझ कडा निगरानी र परीक्षण पर्खिरहेको छ।
ग्रिन २५.२० करोड भारुको मूल्यसहित भित्रिएका छन्, जुन आईपीएल इतिहासमै कुनै पनि विदेशी खेलाडीका लागि सबैभन्दा ठूलो रकम हो। त्यो पनि संक्रमणकालबाट गुज्रिरहेको कोलकाता नाइट राइडर्स (केकेआर) टोलीमा। चोटका कारण नराम्ररी प्रभावित भएको टोलीमा। र यी सबैको बिचमा, आन्द्रे रसेलको सन्न्यासपछि खाली भएको ठाउँ ग्रिनले भर्ने अपेक्षा गरिएको छ– यसैबाट अनुमान लगाउन सकिन्छ कि उनीमाथि कति धेरै आशा राखिएको छ।
अब एउटा स्वाभाविक प्रश्न उब्जिएको छ, के उनले आफ्नो मूल्यलाई न्याय गर्न सक्लान्? यो प्रश्न त्यस्तो बेला सोधिँदैछ, जतिबेला ग्रिन आफ्नो उत्कृष्ट लयमा छैनन्।
उनले निकै कठिन क्रिकेट सिजन बिताए– जसको अन्त्य सिड्नीमा एक पत्रकारसँगको कथित ठाडो भनाभनसँगै भयो– जहाँ उनलाई रन बनाउन निकै धौधौ परेको थियो।
एसेजका पाँच टेस्ट, पाकिस्तानमा सात टी-२० र विश्वकपमा उनले एउटा पनि अर्धशतक बनाउन सकेनन्। यद्यपि, आईपीएलअघि वेस्टर्न अस्ट्रेलियाका लागि शेफिल्ड सिल्डमा शतक प्रहार गर्दै उनले त्यो खडेरी भने तोडेका छन्।
_C4qlzIG4ep.webp)
अन्तर्राष्ट्रिय क्रिकेटको उतारचढावलाई पहिल्यै अनुभव गरिसकेका ग्रिनलाई आईपीएलजस्तो प्रतियोगिता खेल्दा कस्तो दबाब हुन्छ भन्ने राम्ररी थाहा छ। ग्रिनलाई राम्ररी चिन्ने केकेआरका सहायक प्रशिक्षक शेन वाट्सनले ग्रिनसँग प्रत्यक्ष रूपमै उनको मूल्यको विषयमा कुरा गर्न हिच्किचाएनन्।
वाट्सनले भने, ‘म कोलकातामा आउनुका पछाडि धेरै रोमाञ्चक कुराहरू छन्, र त्यसमध्ये एउटा कुरा अक्सनमा क्यामरन ग्रिनलाई अनुबन्ध गरेपछि उनीसँग नजिकबाट काम गर्ने मौका पाउनु पनि हो। मैले उनीसँग वर्षौँदेखि धेरैपटक कुराकानी गरेको छु, तर अब उनीसँग दिनरात सँगै काम गर्न पाउनु निकै राम्रो कुरा हो।’
‘उनले तय गर्न चाहेको गन्तव्यसम्म पुग्ने यात्रामा मद्दत गर्न पाउनु, यो मेरो लागि कोलकाताको हिस्सा हुनुको एउटा निकै उत्साहजनक पक्ष हो। पछिल्ला केही साता ग्रिनसँग भएका कुराकानीमध्ये एउटा प्रमुख कुरा उनको मूल्यकै वरिपरि थियो। साँचो बोल्नुपर्दा, मैले उनलाई सोधेको पहिलो प्रश्न नै त्यही थियो। किनकि मैले विगतमा भारी मूल्य पाएका खेलाडीहरू दबाबले टुटेको देखेको छु। कतिपय खेलाडी अक्सनमा सबैभन्दा महँगा बन्छन्, तर त्यही अपेक्षाको बोझले उनीहरूको उत्कृष्ट प्रदर्शन गर्ने क्षमतालाई निसासिदिन्छ।’
‘तर क्यामरन भने यसलाई त्यसरी हेर्दैनन्, र उनले त्यस्तो सोचेका पनि छैनन्। केही वर्षअघि निकै राम्रो रकममा मुम्बई इन्डियन्समा आबद्ध हुँदा पनि हामीले उनको प्रदर्शन देखेका थियौँ, उनले उत्कृष्ट सिजन बिताएका थिए। र आईपीएलको कुरा आउँदा उनको मानसिकता नै गुमाउनु केही छैन भन्ने हुन्छ।’
यो छलफलपछि वाट्सनलाई एउटा कुरा प्रष्ट भयो: ग्रिनलाई ठूलो मूल्यको बोझले थिच्ने छैन।
‘स्पष्ट छ, मानिसहरू उनलाई त्यति रकम तिर्न तयार भए, तर अन्ततः उनी त्यहाँ सकेसम्म स्वतन्त्र भएर आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आएका हुन्। पछिल्ला केही सिजनमा आईपीएलमा यसले उनको प्रदर्शनमा कसरी फाइदा पुर्याएको छ भन्ने हामीले देखेका छौँ। त्यसैले म यसपटक पनि फरक अपेक्षा गरिरहेको छैन।’
‘पछिल्ला केही साता उनले जसरी अभ्यास गरिरहेका छन्, त्यो पनि हामीले देखेका छौँ। मलाई लाग्दैन कि भारी मूल्यले उनको प्रदर्शनलाई कुनै पनि हिसाबले असर गर्नेछ, किनभने उनी मैदानमा स्वतन्त्र भएर खेल्न निकै उत्साहित छन्।’
यस्तो लाग्छ, ग्रिन चर्चाको केन्द्रबाट उम्किनै सक्दैनन्। आईपीएल २०२३ को अक्सनमा, त्यतिबेला २२ वर्षका ग्रिनलाई एमआईले १७.५ करोड भारुमा किनेको थियो, अक्सनअघि उनको टी-२० क्रेज निकै बढेको थियो।
_1pAsSeenlM.webp)
त्यो सिजन उनले तहल्कै मच्चाए, वानखेडेमा सनराइजर्स हैदरावादविरुद्ध ४७ बलमै शतक प्रहार गरे र १६०.२८ को स्ट्राइक रेटमा ४५२ रन बनाउनुका साथै ६ विकेट लिएर सिजनको अन्त्य गरे।
एक वर्षपछि उनलाई सोही मूल्यमा आरसीबीमा ट्रेड गरियो र त्यहाँ पनि उनले राम्रै सिजन बिताए, जहाँ उनले १४३.२५ को स्ट्राइक रेटमा २५५ रन र १० विकेट लिए। ढाडको चोटबाट निको हुँदै गरेका कारण उनले आईपीएल २०२५ अघिको मेगा अक्सनमा भने आफ्नो नाम दर्ता गराएका थिएनन्।
अब अझ ठुलो मूल्यसहित फर्किएका उनी, आफूमाथि सबैको नजर टिकेको छ भन्ने कुरामा जानकार छन्। आईपीएल २०२६ को पहिलो खेलभन्दा दुई दिनअघि केकेआरको अभ्यास सत्रमा, नेट्समा पुग्ने पहिलो खेलाडीमध्ये ग्रिन पनि एक थिए।
उनको बलिङ कार्यभारलाई लिएर प्रश्नहरू उठिरहेका छन्– उनले आफ्ना पछिल्ला आठ खेलमा जम्मा ७.१ ओभर मात्र बलिङ गरेका छन्– तर उनले हातमा बल लिएर टिम साइफर्टलाई पूर्ण गतिमा बलिङ गर्दै अभ्यास सुरु गरे। करिब ४० मिनेट बलिङ गरेपछि, प्याड र हेल्मेट लगाउनुअघि उनले छोटो विश्राम लिए।
ब्याटिङतर्फ, उनले पेस र भेरिएसनको सामना गरे, जसमा उमरान मलिकका स्पेलहरू पनि समावेश थिए, र धेरैजसो बललाई उनले ब्याटको बिच भागले नै प्रहार गरे। आक्रामक शैलीका भए पनि, उनले सुरुमा केही संयमता अपनाए जस्तो देखिन्थ्यो, तर पछि डिप मिडविकेटमाथि सानदार सट प्रहार गर्दा सपोर्ट स्टाफ र अन्य टिममेटहरूबाट ताली पाए।
उनी निकै सहज देखिन्थे, विशेषगरी जब उनी साइफर्टसँग पालो गर्दै ब्याटिङ गरिरहेका थिए, उनीहरू फिस्ट बम्प गर्दै थिए र बिच-बिचमा अनुभव साटासाट गरिरहेका देखिन्थे। कोलकाताको ओपनिङ जोडी अझै टुंगो नलागेको अवस्थामा, यसले एउटा प्रश्न जन्माएको छ: के उनीहरूले अचम्मित पार्ने निर्णय गर्दै ग्रिन र साइफर्टलाई ओपनिङ गराउलान् त?
संयोगवश, कोलकाताका लागि ग्रिनको पहिलो खेल मुम्बईविरुद्ध हुँदैछ, त्यही टोली जसले पहिलो पटक उनको सम्भावनामाथि ठुलो लगानी गरेको थियो।
के उनले फेरि एकपटक दबाबको सामना गर्दै आफूलाई प्रमाणित गर्न सक्लान्?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण