बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सोमबार, १६ चैत २०८२, ०५ : ११
सोमबार, १६ चैत २०८२

सारांश

  • लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन्, जसले उनीहरूको दैनिक जीवनमा समस्या पारेको छ।
  • नगरपालिकाको खाता रोक्का हुनुको कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद र राजनीतिक पूर्वाग्रह रहेको बताइएको छ।
  • कर्मचारीहरूले नयाँ वर्ष र सिरुवा पर्वअघि तलब नपाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका सम्पूर्ण खाता रोक्का गरिदिएपछि यो समस्या भएको हो । एक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद साहले भने, “मङ्सिरदेखि तलब भत्ता मात्र होइन, पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा र विद्यालय व्यवस्थापन अनुदान रोकिएको छ । तलब नपाउँदा जीविका धान्न, बैंकको ऋणको ब्याज तिर्न समस्या भइरहेको छ ।”

नगरप्रमुख महेशप्रसाद चौधरीले खाता रोक्का हुनुको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद र राजनीतिक पूर्वाग्रह भएको बताए । उनले भने, “यहाँका खाता रोक्का राख्नुपर्ने कुनै कारण छैन तर राजनीतिक पूर्वाग्रह र दबाबले विवाद खडा गराइएको छ । मन्त्रालयले चुनावपछि खाता खोलिदिने आश्वासन दिए पनि हालसम्म सुनुवाइ भएको छैन ।” उनले मन्त्रालयले चाँडै यो समस्या समाधान गरी विकास निर्माणलगायतका काम अगाडि बढाउन आग्रह गरे ।

मन्त्रालयले साबिकका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई सरुवा गरी शिक्षातर्फको उपसचिव खिम भुजेललाई पठाउन खोजेको थियो । नगरपालिकाले भने प्रशासनतर्फको अनुभवी उपसचिव माग गरेको थियो । अर्कोतर्फ, अवकाश हुन छ महिना मात्र बाँकी रहेकाले सरुवा रोक्न माग गर्दै झाले प्रशासकीय अदालतमा मुद्दा दर्ता गरेका थिए । अदालतले गत फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि मन्त्रालयले हालसम्म नगरपालिकाको खाता फुकुवा गरेको छैन ।

कर्मचारीहरूले आइतबार इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै नयाँ वर्ष २०८३ र सिरुवा पर्वअघि नै तलब भुक्तानी नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप