मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

स्पेसएक्सको स्टारलिंक भू-उपग्रहमा खराबी, सञ्चार सम्पर्क विच्छेद

मङ्गलबार, १७ चैत २०८२, १३ : ०५
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • स्पेसएक्सको स्टारलिंक भू-उपग्रहमा प्राविधिक खराबी आएपछि अन्तरिक्षमा टुक्राहरू फैलिएका छन्।
  • मार्च २९ मा स्टारलिंक-३४३४३ मा समस्या आएपछि त्यससँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो।
  • स्पेसएक्स र लियोल्याब्सका अनुसार यसबाट तत्काल कुनै ठूलो जोखिम नरहेको र टुक्राहरू केही हप्ताभित्रै नष्ट हुने अनुमान छ।

वासिङ्टन डिसी । तीन महिनाको अन्तरालमा दोस्रो पटक स्पेसएक्सको स्टारलिंक भू-उपग्रहमा प्राविधिक खराबी आएपछि अन्तरिक्षमा टुक्राहरू फैलिएका छन्। मार्च २९ मा 'स्टारलिंक-३४३४३' नामको भू-उपग्रहमा समस्या आएपछि त्यससँगको सञ्चार सम्पर्क विच्छेद भएको स्पेसएक्सले मार्च ३० मा पुष्टि गरेको हो। 

मे २०२५ मा प्रक्षेपण गरिएको यो भू-उपग्रह पृथ्वीबाट ५६० किलोमिटरको उचाइमा रहेको थियो। अन्तरिक्षका वस्तुहरू ट्रयाक गर्ने कम्पनी लियोल्याब्सका अनुसार उक्त घटनापछि भू-उपग्रहको वरपर धेरै संख्यामा साना टुक्राहरू देखिएका छन्। 

यद्यपि, स्पेसएक्स र लियोल्याब्स दुवैले यसबाट तत्काल कुनै ठूलो जोखिम नरहेको बताएका छन्। स्पेसएक्सले यी टुक्राहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) वा आगामी आर्टेमिस २ प्रक्षेपणलाई कुनै असर नगर्ने स्पष्ट पारेको छ। 

कम उचाइमा घटेको घटना भएकाले यी टुक्राहरू केही हप्ताभित्रै वायुमण्डलमा खसेर नष्ट हुने अनुमान गरिएको छ। यसअघि डिसेम्बर १७ मा पनि अर्को स्टारलिंक भू-उपग्रहमा यस्तै प्रकारको समस्या देखिएको थियो। 

प्रारम्भिक अध्ययनका अनुसार बाह्य टक्कर नभई इन्धन ट्याङ्की वा ब्याट्री जस्ता आन्तरिक स्रोतका कारण यस्ता समस्या आएको हुनसक्ने देखिएको छ। अघिल्लो पटकको घटनापछि स्पेसएक्सले केही समयका लागि प्रक्षेपण रोकेको भए पनि यस पटक भने कम्पनीले आफ्नो नियमित उडान जारी राखेको छ। 

स्पेसएक्सको टोलीले अहिले यस खराबीको मुख्य कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप